
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बुधबार अमेरिकाको सहयोगी देश ओमानलाई हर्मुज जलयोजक पुनः खोल्ने विषयमा इरानको पक्ष लिएमा आक्रमण गर्ने धम्की दिएका छन् ।
इरान र खाडी राष्ट्र (ओमान) लाई उक्त जलमार्ग नियन्त्रण गर्न अनुमति दिने अल्पकालीन सम्झौता स्वीकार गर्नुहुन्छ कि भनेर सोधिएको प्रश्नमा ट्रम्पले ओमान ‘मर्यादामा बस्नुपर्ने’ नत्र आफूले ‘उनीहरूलाई उडाइदिने’ बताए ।
‘होइन, यो जलयोजक सबैका लागि खुला रहनेछ,’ ह्वाइट हाउसमा मन्त्रिपरिषद्को बैठकका क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘यो अन्तर्राष्ट्रिय जलक्षेत्र हो र ओमानले अन्य सबैले जस्तै मर्यादित व्यवहार गर्नुपर्छ, नत्र हामीले उनीहरूलाई ध्वस्त पारिदिनुपर्ने हुन्छ । उनीहरूले यो कुरा बुझेका छन्, उनीहरू ठीक हुनेछन् ।’
ट्रम्पले बोल्दा गल्ती गरेका हुन् कि र उनले ओमानको सट्टा इरानलाई भन्न खोजेका हुन् कि भनेर एएफपीले सोधेको प्रश्नमा ह्वाइट हाउसले तुरुन्तै कुनै प्रतिक्रिया दिएन ।
ओमान अमेरिकाको एक प्रमुख सहयोगी राष्ट्र हो । उसले पश्चिम एसियाको युद्धमा मध्यस्थता गर्ने प्रयास गरेको छ र ऊ आफैं पनि इरानबाट आक्रमणको शिकार भएको छ ।
अमेरिकी विदेश मन्त्रालयले पछि ओमानका बारेमा ट्रम्पले गरेका टिप्पणीहरूको भिडियो र लिखित प्रतिलिपि कुनै पनि सुधार वा स्पष्टीकरण बिना नै पोस्ट गर्यो ।
७९ वर्षीय ट्रम्प यसअघि इरान र भेनेजुएला बीच अलमलिएको जस्तो देखिन्थे । उनले दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलाको ‘अब न त जलसेना छ, न त वायुसेना नै बाँकी छ’ भनेका थिए ।
ट्रम्पले इरानलाई संकेत गर्न पटक–पटक यस्तै वाक्यांशहरू प्रयोग गर्ने गरेका छन् । इरानमाथि फेब्रुअरी २८ मा अमेरिका र इजरायलले आक्रमण गरेका थिए ।
इरानले हर्मुज जलयोजकमा नयाँ नियम लागू गर्न खोजेको संकेत दिएको छ । त्यहाँबाट सामान्यतया विश्वको पाँच भागको एक भाग तेल ओसारपसार हुन्छ । इरानले त्यहाँबाट गुज्रिने जहाजहरूबाट कर उठाउने र सो राजस्व ओमानसँग बाँड्ने योजना बनाएको छ ।
आफूले सम्झौता नजिकै पुगेको बताएको केही दिनमै पश्चिम एसियाको युद्ध अन्त्य गर्ने र जलयोजक पुनः खोल्ने वार्ता फेरि रोकिएपछि ट्रम्प बढ्दो रूपमा आक्रोशित देखिएका छन् ।









प्रतिक्रिया