
काठमाडौं । इजराइलले दीर्घकालिन स्याहार केन्द्रको लागि नेपाली कामदार माग गरेको छ ।
नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौता अनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नका लागि २३०० जना नेपाली सहायक कामदार छनौट गर्न आवेदन आह्वान गरिएको छ ।
वैदेशिक रोजगार विभागले सूचना प्रकाशित गर्दै योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट अनलाइन आवेदन माग गरेको हो । स्याहार केन्द्रमा गम्भीर शारीरिक तथा मानसिक अपांगता भएका जुनसुकै उमेरका व्यक्तिहरुको स्याहारको लागि सहायक कामदारको रुपमा काम गर्न आवेदन माग गरिएको हो ।
सूचनाअनुसार कुल २३०० कामदारको माग गरिएकोमा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुषको अनुपात निर्धारण गरिएको छ ।
छनौट भएका नेपाली कामदारले मासिक तलब ५,८८३.८५ इजरायली मुद्रा (हालको विनिमय दर अनुसार करिब २ लाख नेपाली रुपैयाँभन्दा बढी) प्राप्त गर्नेछन् ।
यो काममा इजराइली सरकारको नियमानुसार ओभर टाइमकोसमेत व्यवस्था हुनेछ भने साताको ६ दिन काम गर्नुपर्नेछ । यो रोजगारीको लागि सुरुमा १ वर्ष र बढीमा ५ वर्षसम्मको करार अवधी हुने व्यवस्था गरिएको छ ।
अन्य सुविधातर्फ वार्षिक बिदा इजरायली कानुन अनुसार हुनेछ । खानाको व्यवस्था कामदार स्वयंले गर्नुपर्नेछ भने आवासको व्यवस्था रोजगारदाताले नियम अनुसार गरिदिनेछन् ।
आवश्यक न्यूनतम योग्यता
आवेदन दिनका लागि केही शर्तहरु तोकिएको छ । जसअनुसार नेपाली नागरिक हुनुपर्ने, २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको, शारीरिक मापदण्डतर्फ उचाइ कम्तीमा १.५ मिटर र तौल ४५ किलोग्राम भएको हुनुपर्ने शर्त तोकिएको छ ।
यस्तै कम्तीमा कक्षा १० उत्तीर्ण गरी अनमी वा सिएमएसम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा प्लस टु वा सो सरह उत्तीर्ण गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङसम्बन्धी कम्तीमा ३ महिनाको तालिम प्राप्त गरेको हुनुपर्नेछ ।
विगतमा इजराइल गई कार्य नगरेको र बुवा, आमा, पति, पत्नी, छोरा वा छोरी इजराइलमा बसोबास वा कार्यरत नरहेको, स्वास्थ्यतर्फ शारीरिक र मानसिक रूपमा स्वस्थ भएको, गरुङ्गो सामान उचाल्न सक्ने र क्षयरोग, हेपाटाइटिस, एचआईभी जस्ता दीर्घ रोग नलागेको हुनुपर्ने व्यवस्था गरिएको छ ।
आवेदन प्रक्रिया र समयसीमा
इच्छुक उम्मेदवारले विभागको वेब पोर्टलमार्फत अनलाइन आवेदन दिनुपर्नेछ । २०८३ जेठ १७ गते राति १२ बजेदेखि आगामी २०८३ असार ७ गते राति १२ बजेसम्म आवेदन दिने मिति तोकिएको छ ।
उम्मेदवारले ‘क्यामब्रीज उपस्कील अंग्रेजी टेस्ट’ उत्तीर्ण गर्नुपर्नेछ । यसका लागि न्यूनतम रिडिङ ए २, राइटिङ ए १, लिसनिङ ए २ र स्पिकिङ बी १ को स्तर अनिवार्य गरिएको छ ।
छनोट प्रक्रिया
आवेदन स्वीकृत भएका उम्मेदवारहरूको सूची तयार गरी इजरायलको जनसंख्या तथा अध्यागमन प्राधिकरण(पीआईबीए)लाई पठाइनेछ ।
पीआईबीएले ‘नाम चेक’ गरी सफल उम्मेदवारहरूको नामावली विभागको वेबसाइटमा प्रकाशन गर्नेछ । अन्तिम छनोट भने पीआईबीएद्वारा ‘लोट्री’ (गोलाप्रथा) मार्फत गरिने सूचनामा उल्लेख छ ।
छनोट भएका २३०० मध्ये पहिलो चरणमा १००० जनालाई र बाँकी १३०० जनालाई आवश्यकता अनुसार रोजगारी प्रक्रियामा सहभागी गराइनेछ ।
अन्य सर्त र खर्चहरू
छनोट भएका उम्मेदवारले इजरायल सरकारद्वारा सूचीकृत स्वास्थ्य संस्थामा मेडिकल चेकअप गराउनुपर्नेछ ।
विदेशी कामदारको हकमा मासिक पारिश्रमिकको १२.५ प्रतिशत रकम रोजगारदाताले कामदारको नाममा बैंक खातामा जम्मा गरिदिनेछन्, जुन रकम कामदारले करार अवधि सकेर इजरायल छाड्ने बेला मात्र प्राप्त गर्नेछन् । ६ महिनाभन्दा बढी गैरकानुनी रूपमा इजरायलमा बसेमा उक्त रकम जफत हुनेछ ।
स्वास्थ्य बिमा प्रिमियम, आवास र खाना खर्च, बिजुली, पानी र आयकर कामदारको मासिक पारिश्रमिकबाट कटौती हुनेछ ।








प्रतिक्रिया