
काठमाडौं । संविधान संशोधनका लागि गठित कार्यदलले आज (मंगलबार) मुलुकका उद्योगी तथा व्यवसायीहरुसँग सुझाव लिने भएको छ । प्रधानमन्त्रीको कार्यालयमा अपराह्न साढे ३ बजे हुने बैठकमा संविधान संशोधनका विषयमा निजी क्षेत्रको धारणा बुझ्न व्यवसायीहरुलाई बोलाइएको हो ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्वको कार्यदलले व्यवसायीहरुसँग प्रतिनिधिमूलक छलफल गर्न लागेको प्रधानमन्त्री तथा मन्त्रिपरिषको कार्यालय स्रोतले जनाएको छ । ‘संविधानलाई आर्थिक विकास र समृद्धिमैत्री बनाउन निजी क्षेत्रको सुझाव महत्त्वपूर्ण हुने भन्दै कार्यदलले करिब ४० व्यवसायीलाई बोलाएको छ,’ स्रोतले क्लिकमान्डुसँग भन्यो।
प्रधानमन्त्री कार्यलयले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठसहित पूर्वअध्यक्ष भवानी राणा लगायत पूर्वअध्यक्षहरू तथा पदाधिकारीहरू, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघका वर्तमान तथा पूर्व पदाधिकारीहरू, नाम चलेका उद्योगी तथा व्यवसायीहरूलाई व्यक्तिगत निम्तो गरेको छ ।





प्रतिक्रिया