
काठमाडौं । २०८२ जेठ १३ गते सर्वोच्च अदालतले ‘कर्तव्य ज्यान’ सम्बन्धी मुद्दामा नेपालगञ्जकी दानवती तिवारीलाई ६ वर्षको कैद सजायको फैसला सुनायो । कारण थियो गठजोड आत्महत्या ।
पैसा नै जीवन होइन, तर जीवन चलाउने साधन भने अवश्य हो। जब यही साधन अभावमा बदलिन्छ, तब यसैले कसैलाई मर्न र मार्न समेत बाध्य बनाउँछ ।
बाँकेका दानवती र सुनिलकुमार पनि यस्तै बाध्यात्मक अवस्थामा पुगे । कोठा भाडामा बस्दाको पीडा, भोलिको खाना कसरी जुटाउने भन्ने चिन्ता, परिवार टुट्ने डर र जिम्मेवारी पूरा गर्न नसकेको आत्मग्लानिले मानिसलाई गलत दिशातर्फ दोहोऱ्याउन थाल्छ ।
श्रीमान् कारागार चलान भएपछि घर छोडेर कोठा भाडामा लिएर बस्दै आएकी दानवतीले पनि गलत कदम चालिन् ।
२०८२ जेठ १३ गते सर्वोच्च अदालतले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १० का सुनिल कुमार तिवारी र उनकी श्रीमती दानवती तिवारीले श्रीमानसँग मिलेर ‘संयुक्त रूपमा आत्महत्याको प्रयास गरेको कसुर ठहऱ्याउँदै’ कसुरको गम्भीरता घटाउने आधार मुलुकी अपराध संहिता २०७४ को दफा ३९ बमोजिम अन्तर्गत प्रस्तुत गर्दै दानवतीलाई ६ वर्षको कैद सजाय दिने निर्णय गर्यो । लगत्तै दानवती तिवारी २०८२ जेठ ३१ गते कारागारबाट मुक्त भइन् । कैद सजायको फैसला गरिएको १८ दिनमै उनी कारागार मुक्त भइन् ।
घटना के थियो ?
२०७६ साल जेठ २८ गते जिल्ला कारागार कार्यालय बाँकेमा ७ वर्षको कैद सजाय भुक्तान गर्दै आएका बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका १० का सुनिल कुमार तिवारी पेट सम्बन्धी समस्याले बिरामी पर्छन् । उनलाई उपचारको लागि भेरी अस्पताल लगिन्छ । अस्पतालमा सुनिलकी श्रीमती दानवती तिवारी पनि आउँछिन् ।
त्यत्तिकैमा अस्पताल भर्ना भएका सुनिल ‘पेट दुख्यो ट्वाइलेट जान्छु’ भनी ट्वाइलेटतर्फ लाग्छन् । तर धेरैबेरसम्म पनि फर्किँदैनन् । उनी नफर्किएपछि उनको साथमा रहेका जिल्ला कारागार कार्यालय बाँकेमा कार्यालय सहयोगीका रूपमा कार्यरत कर्मचारी शालिकराम ठाकुर ट्वाइलेट जान्छन् ।
त्यहाँ सुनिल र सुनिलकी श्रीमती दानवती झुम्म परेको अवस्थामा बसिरहेका थिए । प्रहरीले तत्कालै उनीहरूलाई त्यहाँबाट उठाएर लग्यो । पछि पुनः प्रहरी अनुसन्धानका लागि घटनास्थल पुग्दा शौचालयमा सल्फासको बट्टा थियो ।
तत्कालै उनीहरूलाई अस्पताल भर्ना गरियो तर कैद भुक्तान गरिरहेका सुनिल कुमारको भने उपचारको क्रममा मृत्यु भयो । श्रीमती दानवती भने बाँचिन् । बाँचेकी दानवती उपचार पश्चात् पक्राउ परिन् ।
किन पक्राउ परिन् दानवती ?
मृतक सुनिल कुमारका दाई अनिल कुमार तिवारीले बुहारी दानवतीले भाइलाई सल्फास नामक विषादी दिई हत्या गरेको भनी कानुन बमोजिम कारबाही होस् भनी जाहेरी दिएका थिए । दाई अनिलले दिएको जाहेरीका आधारमा दानवतीलाई पक्राउ गरिएको हो ।
प्रतिवादी दानवती तिवारीलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १७७(१) बमोजिमको कसुरमा सोही ऐनको १७७(२) बमोजिम सजाय गरी दफा १८६ बमोजिम मृतकका हकवालालाई क्षतिपूर्ति समेत दिलाई पाऊँ भन्ने अभियोग मागदाबी गरिएको थियो ।
सो घटनाको अनुसन्धानका क्रममा पक्राउ परेकी दानवतीसँग बयान लिइयो । जब दानवतीले बयान दिइन् घटनाको सम्पूर्ण रहस्य खुल्यो । दानवतीले अनुसन्धान अधिकारीसँग दिएको बयान अनुसार, लागु औषध मुद्दामा श्रीमान् सुनिल कुमार ७ वर्षका लागि कारागार चलान भएपछि उनी घर छोडेर कोठा भाडामा लिएर बस्दै आएकी थिइन् ।
तर बाहिर बस्दा श्रीमान् बिना गाह्रो भएको उनले बयानमा भनेकी छन् । श्रीमान् सुनिल कुमार पनि भेट तथा फोनमा कुराकानी हुँदा सधैँ जिन्दगी देखि वाक्क भएर बाँच्न मन नभएको भन्दै आत्महत्याका लागि उत्प्रेरित गर्ने गरेको उनको बयान छ।
२०७६ साल जेठ २४ गते उनी श्रीमानलाई भेट्न जिल्ला कारागार बाँके पुगेकी थिइन् । भेटमा सुनिल र दानवती बिच दुवै जनाले विष पिएर मर्ने सल्लाह भयो । योजना अनुसार नै सुनिल बिरामी परेको बहानामा अस्पताल भर्ना हुन्छन् । दानवती पनि भारतको रुपैडिहा गई १०० रुपैयाँमा सल्फास नामको विष खरिद गरेर ल्याउँछिन् । र अस्पताल भर्ना भएका श्रीमानलाई भेट्न जान्छिन् ।
पूर्व योजना अनुसार नै उनीहरू अस्पतालको शौचालय जान्छन् र दानवतीले ल्याएको विष दुवैले सँगै खान्छन् । उक्त विष केही मात्रामा दानवतीले कोकमा मिसाई खान्छिन् भने केही मात्रा उनका श्रीमान् सुनिल कुमारले खान्छन् । तर दुवै जनाले विष सेवन गरेकोमा सुनिल कुमारको निधन हुन्छ भने दानवती बाँच्छिन् ।
भाइको मृत्यु भएपछि सुनिलका दाई अनिलले बुहारी दानवती विरुद्ध दायर गरेको मुद्दामा जिल्ला अदालत, बाँके र उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासले दानवतीलाई दोषी ठहर गर्दै १० वर्षको कैद सजाय तोकेका थिए ।
जिल्ला अदालत बाँकेमा २०७८ पुस ३० गते प्रल्हाद कुमार योगीको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४५ (१क) बमोजिम निजलाई कैद सजाय हुने ठहर गरेको थियो । उच्च अदालत तुलसीपुरले पनि सोही फैसलालाई सदर गर्यो ।
तर, दानवतीलाई जिल्ला र उच्चको फैसला चित्त नबुझेपछि उक्त फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेकी थिइन् । उनले ‘मलाई मागदाबी बमोजिम सजाय बढी भएको भन्दै’ सर्वोच्चमा पुनरावेदन दिएकी थिइन् ।
सो पुनरावेदन उपर सर्वोच्चमा न्यायाधीश हरिप्रसाद फुयाँल र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले प्रस्तुत मुद्दाको गहन अध्ययन र विश्लेषण गर्दै ६ वर्षको कैद सजाय दिने निर्णय गरेको हो ।
६ वर्षको कैद सजाय दिनु भन्दा अगाडि इजलासले बेलायतको उदाहरण हेर्यो । बेलायतको उदाहरण हेर्दा यदि कसैले संयुक्त रूपमा मिलेर गरिने आत्महत्या गरेर आफू पछि हट्दछ र अर्को व्यक्तिले आत्महत्या गर्दछ भने त्यसलाई आत्महत्याको दुरुत्साहनमा दोषी करार गरी सजाय गरेको पाइन्छ ।
यस्तोमा आत्महत्या नगरेको कसुरमा ४ वर्ष कैद सजाय भएको नजिर स्थापित छ । बेलायतमा यस्तो घटना घटेको थियो जहाँ नतासा गोर्डनको मुद्दामा आफ्नो केटा साथी म्याथ्यु बर्किन्शासँग इन्टरनेटबाट मिलेर संयुक्त रूपमा आत्महत्या गरेपछि आफूले आत्महत्या नगरेको कसुरमा नतासा गोर्डनलाई ४ वर्षको कैद सजाय दिइएको थियो ।
त्यस्तै भारतमा पनि यस्तो मुद्दामा, भारतीय दण्ड संहिता (आइपीसी) को धारा १०८ ले यदि कसैले आत्महत्या गर्ने प्रयास गर्छ र त्यस्तो अपराध गर्ने कुनै कार्य गर्छ भने, उसलाई एक वर्षसम्मको साधारण कैद वा जरिवाना वा दुवै सजाय हुनेछ भनी व्यवस्था गरेको देखिन्छ।
उल्लेखित यी सबै कानुनलाई हेर्दै सर्वोच्च अदालतले मृतकको शव परीक्षण प्रतिवेदन, भिसेरा परीक्षण प्रतिवेदन, जाहेरवालाको बयान, प्रतिवादीको बयान र घटनास्थल मुचुल्का लगायतका प्रमाण र मृतक कारागारमा कैद भुक्तान गरिरहेको र प्रतिवादी घरमा बसी बालबच्चाको लालनपालन गर्दा परेको कठिनाइ, आर्थिक विपन्नता, मृतक र प्रतिवादीको पारिवारिक पृष्ठभूमि समेतलाई मध्यनजर गर्दै दानवतीलाई ६ वर्ष कैदको सजाय दिएको थियो ।
यो फैसला सर्वोच्चमा २०८२ जेठ १३ गते भएको थियो र दानवती तिवारीलाई २०८२ जेठ ३१ गते कारागारबाट मुक्त गरिएको थियो । किनकि प्रतिवादी दानवती तिवारी २०७६ साल जेठ ३२ देखि थुनामा बसेकाले सोही मितिबाट नै कैद कट्टा हुने हुँदा सोही बमोजिम कैद अवधि गणना गर्दा २०८२ जेठ ३१ मा कैद समय पूरा हुने भएकाले थुनामुक्त समेत भइसकेको देखिँदा उनलाई केही नगरी कारागार मुक्त गरिएको हो ।





प्रतिक्रिया