स्पेनको कर कार्यालयले गायिका शाकिरालाई ६ करोड ४० लाख डलर फिर्ता गर्नुपर्ने


एजेन्सी । स्पेनको एक अदालतले त्यहाँको कर प्राधिकरणलाई कोलम्बियाली सुपरस्टार शाकिरालाई ६ करोड ४० लाख डलरभन्दा बढी रकम फिर्ता गर्न आदेश दिएको छ ।

प्राधिकरणले उनलाई नतिरेको करका लागि गलत तरिकाले पछ्याएको फैसला अदालतले सुनाएको हो ।

सोमबार प्रकाशित ओडिएन्सिया नासिओनल उच्च अदालतको बयान अनुसार, सन् २०११ मा शाकिराले स्पेनमा १८३ दिनभन्दा बढी समय बिताएको र त्यसकारण उनले व्यक्तिगत आयकर तिर्नुपर्ने निष्कर्ष निकाल्दै कर अधिकारीहरूले सन् २०२१ मा उनलाई ठूलो जरिवाना लगाएका थिए ।

शाकिरा स्पेनमा १६३ दिन मात्र रहेकी थिइन् जसको अर्थ कर प्रयोजनका लागि उनी त्यस देशको बासिन्दा थिइनन् भनी अदालतले थप स्पष्ट पारेको छ ।

शाकिरा र उनका प्रतिनिधिहरूले सोमबार विज्ञप्ति जारी गर्दै यसलाई निर्णायक र ऐतिहासिक फैसला भनी स्वागत गरेका छन् ।

‘आठ वर्षभन्दा बढी समयसम्म क्रूर सार्वजनिक निशाना, मेरो प्रतिष्ठा नष्ट गर्न रचिएका अभियानहरू र मेरो स्वास्थ्य तथा मेरो परिवारको भलाइमा असर पार्ने अनिँदो रातहरू भोगेपछि राष्ट्रिय उच्च अदालतले अन्ततः सत्य स्थापित गरेको छ,’ गायिकाले भनिन् ।

‘प्रक्रियाको हरेक चरणलाई चुहावट गरियो, बंग्याइयो र बढाइचढाइ गरियो । मेरो नाम र सार्वजनिक छविको प्रयोग गरेर अन्य करदाताहरूलाई धम्कीपूर्ण सन्देश दिन खोजियो । आज त्यो भाष्य ढलेको छ र यो अदालतको पूर्ण फैसलाको शक्तिका साथ भएको छ,’ उनले थपिन् ।

ओडिएन्सिया नासिओनलले यो फैसला सन् २०११ को बाँकी करसँग मात्र सम्बन्धित रहेको कुरामा जोड दिएको छ ।

सन् २०२३ मा शाकिराले सन् २०१२–२०१४ को अवधिसँग सम्बन्धित छुट्टै करछली मुद्दा सुल्झाएकी थिइन् ।

त्यस समयमा बार्सिलोना अभियोजकको कार्यालयले जारी गरेको बयान अनुसार, ग्रामी विजेता गायिकाले आफूमाथि लागेका आरोपहरू स्वीकार गरिन् र बाँकी रकम पूर्ण रूपमा भुक्तानी गर्न तथा थप जरिवाना तिर्न सहमत भइन् ।

विज्ञप्तिमा भनिए अनुसार, उनले २ करोड डलर भुक्तानी गरिन् जसमा तिर्नुपर्ने कर र ब्याजका साथै ८५ लाख डलर जरिवाना समावेश थियो ।

शाकिरा करछलीका सबै ६ वटा अभियोगमा दोषी ठहर भएको भए अभियोजकहरूले आठ वर्षभन्दा बढी जेल सजायको माग गरेका थिए । तर, मिलापत्रमा जेल सजायको सट्टा उनले तीन वर्षको सजायका लागि प्रतिदिन लगभग ४३७ डलर वा जम्मा ४ लाख ७० हजार डलरभन्दा बढी अतिरिक्त जरिवाना तिर्ने उल्लेख गरिएको थियो ।