
एजेन्सी । अमेरिकाको जस्टिस डिपार्टमेन्टले सोमबार राष्ट्रपति डोनल्ड ट्रम्पका सहयोगीहरूलाई क्षतिपूर्ति दिन १.७७६ अर्ब डलरको कोष स्थापना गर्ने घोषणा गरेको छ । ती सहयोगीले आफूहरूलाई अघिल्लो प्रशासनले अन्यायपूर्ण रूपमा निशाना बनाएको दाबी गर्ने गरेका छन् ।
यो एउटा अभूतपूर्व कदम हो जसले राष्ट्रपतिको प्रशासनलाई आफूले नियन्त्रण गर्ने सरकारी निकायमार्फत करदाताको पैसा प्रयोग गरेर आफ्ना समर्थकहरूलाई भुक्तानी गर्ने अनुमति दिन्छ ।
कोषमा कसले दाबी पेश गर्न पाउने भन्ने विषयमा धेरै कम बन्देजहरू देखिएका छन् । आफ्ना सहयोगीहरूलाई वर्षौं पुरानो रुसी मिलोमतोको अनुसन्धानदेखि लिएर ६ जनवरी २०२१ को अमेरिकी संसदमा भएको दंगाको सिलसिलामा आरोपित झण्डै १६ सय व्यक्तिहरूसम्मलाई न्याय प्रणालीद्वारा राजनीतिक रूपमा निशाना बनाइएको राष्ट्रपतिले भन्ने गरेका छन् ।
यस कोषको स्थापना ट्रम्पले आन्तरिक राजस्व सेवाविरुद्धको आफ्नो १० अर्ब डलरको मुद्दा फिर्ता लिएसँगै भएको हो । त्यसमा उनले आफ्नो ट्याक्स रिटर्न (कर विवरण) अनधिकृत रूपमा चुहावट हुनबाट जोगाउन आईआरएस असफल भएको आरोप लगाएका थिए ।
ट्रम्प आफैंले कुनै भुक्तानी पाउने छैनन् तर उनले औपचारिक माफी पाउनेछन् भनी न्याय विभागले बताएको छ ।
एन्टी–वेपनाइजेसन कोषको १७७६ को अंक प्रतीकात्मक छ । यसले अदालतमा डेमोक्रेटहरू र निगरानी संस्थाहरूबाट तत्काल चुनौतीहरूको सामना गर्नुपर्ने सम्भावना छ ।
आलोचकहरूका अनुसार, यो प्रयास भ्रष्टाचार सरह हो किनभने यसले राष्ट्रपतिलाई बाइडन प्रशासनद्वारा गरिएको भनिएको राजनीतिक अभियोजनको निराधार दाबीका आधारमा आफ्ना सहयोगीहरूलाई पोस्ने अनुमति दिन्छ ।
यस कोषबाट लाभान्वित हुनेहरूलाई क्रूर व्यवहार गरिएको ट्रम्पले सोमबार बताए ।
‘यो ती व्यक्तिहरूलाई शोधभर्ना दिने काम हो जसलाई नराम्रो व्यवहार गरिएको थियो,’ ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूलाई बताए, ‘उनीहरूले आफ्नो कानुनी शुल्क र अन्य सास्तीहरूका लागि शोधभर्ना पाउँदैछन् ।’
‘सरकारी संयन्त्रलाई कहिल्यै पनि कुनै अमेरिकी विरुद्ध हतियारको रूपमा प्रयोग गरिनु हुँदैन र पहिले गरिएका गल्तीहरूलाई सुधार्ने र यस्तो फेरि कहिल्यै नहुने सुनिश्चित गर्ने यस विभागको मनसाय छ,’ कार्यवाहक महान्यायाधिवक्ता टोड ब्लान्चले सोमबार एक विज्ञप्तिमार्फत भने । उनी पहिले ट्रम्पको व्यक्तिगत प्रतिरक्षा टोलीका सदस्य थिए ।
‘यस मिलापत्रको हिस्साको रूपमा हामी लफेयर (कानुनी युद्ध) र सरकारी संयन्त्रको दुरुपयोगका पीडितहरूका लागि कुरा सुनाउन र न्याय खोज्न एक कानुनी प्रक्रिया स्थापना गर्दैछौं ।’
विभागका अनुसार, पाँच सदस्यीय आयोगले यस कोषको सञ्चालन गर्नेछ । यसका सदस्यहरूको नाम अहिलेसम्म घोषणा गरिएको छैन । ट्रम्पसँग कुनै पनि सदस्यलाई बर्खास्त गर्ने अधिकार हुनेछ ।
न्याय विभागले दाबी पेश गर्नका लागि कुनै दलगत आवश्यकता नरहेको बताएको छ । यसले १५ डिसेम्बर २०२८ सम्मका दाबीहरू प्रक्रियामा लैजानेछ जुन ट्रम्पको राष्ट्रपतिको रूपमा दोस्रो कार्यकाल समाप्त हुनुभन्दा एक महिना अघिको समय हो ।
ट्रम्पका सहयोगी तथा माईपिलो नामक संस्थाका संस्थापक माइक लिन्डेलले यस कोषमार्फत क्षतिपूर्ति पाउने अपेक्षा गरेको बताएका छन् ।
‘माईपिलो इतिहासकै सबैभन्दा बढी आक्रमण गरिएको कम्पनी हो,’ लिन्डेलले भने, ‘कम्पनीका मालिक रहेका मेरा कर्मचारीहरू क्षतिपूर्ति पाउन योग्य छन् !’
सिनेटका अल्पसंख्यक नेता चक शुमरले यो कोष बनाउनु भ्रष्ट र अनैतिक भएको बताएका छन् ।
‘ट्रम्पले आफ्नो विद्रोही सेनालाई अर्बौं रकम उपलब्ध गराउन आफैंसँग हात मिलाइरहेका छन्,’ न्यूयोर्कका डेमोक्रेट शुमरले एक्समा पोस्ट गरे, ‘उनले गरेका सबै भ्रष्ट कामहरूमध्ये यो सबैभन्दा अनैतिकमध्ये एक हो ।’









प्रतिक्रिया