प्रधानमन्त्रीको पोस्टले ल्याएको ‘चिज’ चर्चाः याक चिजको बजार दैनिक ३०%ले वृद्धि, ११ मध्ये ९ केन्द्र सञ्चालनमा

903
Shares

काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले उत्पादन गर्ने याक चिजको बजार ३० प्रतिशतले वृद्धि भएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहले गत शनिबार सामाजिक सञ्जालमार्फत ‘से चीज, डीडीसीको चीज’ स्टाटससहित डीडीसीले उत्पादन गर्ने याक चिजको बजार प्रवर्द्धन गरेयता पछिल्लो समयमा यसको बजार निकै चुलिएको छ ।

डीडीसीको बजार विभाग प्रमुख तथा पूर्व महाप्रबन्धक सञ्जीवकुमार झाका अनुसार बजारमा माग बढे पनि स्टक नै सकिएको छैन । झाका अनुसार आइतबारदेखि बजारमा यसको माग बढेसँगै दैनिक ३० प्रतिशतले बजार वृद्धि भएको छ ।

उनका अनुसार देशभरका प्रमुख सहरमा रहेका डीडीसीका बिक्री केन्द्रमा पछिल्लो समयमा याक चिजका बारेमा खोजी-खोजी गर्ने उपभोक्ता आउन थालेका छन्।

सामान्यतया दही वा अन्य दुग्धजन्य पदार्थ किन्न आउने उपभोक्ताहरूले समेत रुचिपूर्वक याक चिज खरिद गर्न थालेपछि यसको बजार विस्तार भएको हो ।

‘प्रधानमन्त्रीज्यूले सामाजिक सञ्जालमार्फत याक चिजको बजार प्रवर्द्धन हुने गरी गर्नुभएको प्रचार-प्रसारका कारण अहिले दैनिक रूपमा ५० देखि १०० जनाले यसका बारेमा सोधीखोजी गर्न थालेका छन्,’ बजार विभाग प्रमुख झाले भने, ‘दूध, दही वा मिठाई खरिद गर्न आउने उपभोक्ता पनि अहिले १०० ग्रामदेखि ५०० ग्रामसम्म खरिद गर्न आइरहनुभएको छ । तुलनात्मक रूपमा अहिले याक चिजको बजार ३० प्रतिशतले वृद्धि भएको छ ।’

उनका अनुसार डीडीसीले १००, २०० र ५०० ग्रामको भ्याकुम प्याकेजिङ भएको याक चिज बिक्री गरिरहेको छ । तर उपभोक्ताले अत्यधिक परिमाणमा २०० ग्रामको याक चिज खरिद गर्न आइरहेका छन् ।

उनका अनुसार डीडीसीसँग अहिले करिब ४,५०० केजी याक चिज मौज्दात (स्टक) रहेको छ । बजारमा यसको मूल्य प्रति केजी १,८८० रुपैयाँ कायम गरिएको छ ।

‘बजारमा हल्ला भएजस्तो स्टक नै सकिने गरी बिक्री सोल्ड आउट भएको छैन, यो निकै महँगो भएकाले पुराना उपभोक्ताको साटो नयाँ उपभोक्ताले चासो राखेर खरिद गर्न आइरहनुभएको छ,’ झाले भने, ‘पुराना उपभोक्ता नियमित रूपमा थोरबहुत परिमाणमा खरिद गरिरहेको अवस्थामा प्रधानमन्त्रीज्यूको बजार प्रवर्द्धनका कारण नयाँ उपभोक्ता खरिद गर्न काउन्टरमा धाउन थाल्नुभएको छ ।’

डीडीसीले वार्षिक १ लाख १७ हजार किलोसम्म याक चिज उत्पादन गर्दै आएको छ । याक चिज मुख्य गरी वैशाखदेखि कात्तिकसम्म उत्पादन हुने सिजन हो । यी सात महिनामा उत्पादन हुने चिज वर्षभरि बजारमा बिक्री हुने गर्छ ।

डीडीसीले उच्च पहाडी क्षेत्रमा पालिने याक र चौँरी गाईको दूधबाट उच्च गुणस्तरको याक चिज उत्पादन गर्छ ।

डीडीसीले प्रतिकिलो १ हजार ८ सय ८० रुपैयाँमा बिक्री गर्दै आएको छ । यस्तै भ्याकुम प्याकेज भएको प्रति ५०० ग्रामलाई ९ सय ६० र २०० ग्राम भ्याकुम प्याकेजलाई ३ सय ९५ रुपैयाँमा बिक्री गर्दै आएको छ ।

याक र चौँरी गाई पालन गर्ने किसानसँग डीडीसीले नगदमै कारोबार गरिरहेको दाबी गरेको छ ।

‘हामीले याक चौँरी पालक किसानसँग उधारोमा कारोबार गरेका छैनौँ, नगदमै कारोबार हुन्छ, सबै स्थानका उत्पादन केन्द्र गरी पछिल्लो सिजनमा ६ करोड रुपैयाँ भुक्तानी गरिसकेका छौँ,’ झाले भने, ‘वैशाखदेखि सुरु भएको नयाँ सिजनका लागि ५० प्रतिशतका दरले अग्रिम भुक्तानीसमेत किसानलाई भइसकेको छ ।’

किसानको आर्थिक सहजताका लागि दूध खरिद सम्झौता भएलगत्तै ५० प्रतिशत रकम पेस्की (एडभान्स) स्वरूप उपलब्ध गराइन्छ । यसका अतिरिक्त, दुर्गम क्षेत्रमा रहेका किसानहरूलाई आवश्यक पर्ने त्रिपाल, बाँस र नुनजस्ता सामग्रीहरू पनि डीडीसीले उपलब्ध गराउँदै आएको छ ।

डीडीसीअन्तर्गत विभिन्न स्थानमा उत्पादन हुने कुल चिजमध्ये ३० देखि ४० प्रतिशत स्थानीय स्तरमै बिक्री हुने गरेको छ ।

हिमाली क्षेत्रमा पदयात्रा (ट्रेकिङ) मा जाने विदेशी पर्यटकहरूले त्यहीँबाट चिज खरिद गर्ने गर्दछन् । बाँकी ६० प्रतिशत चिज काठमाडौँ ल्याएर भ्याकुम प्याक गरी देशका विभिन्न भागमा बिक्री वितरण हुने गरेको डीडीसीले जनाएको छ ।

डीडीसीले आफैँ निर्यात नगरे पनि नेपाली व्यापारीहरूमार्फत यो विश्व बजारमा पुग्ने गरेको छ । विशेष गरी हङकङ र सिङ्गापुरमा रहेका नेपाली व्यापारीहरूले व्यावसायिक रूपमा यहाँको चिज लैजाने गरेका छन् ।

साथै, नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरूले ‘सोभिनियर’ (उपहार) का रूपमा आफ्नो देशमा याक चिज लैजाने गरेकाले यसको अन्तर्राष्ट्रिय प्रचार समेत भइरहेको झाले जानकारी दिए ।

नेपाली याक चिजले आन्तरिक र बाह्य दुवै बजारमा आफ्नो छुट्टै पहिचान बनाउँदै लगेको र यसले ग्रामीण भेगका किसानको आर्थिक जीवनस्तर उकास्न महत्त्वपूर्ण भूमिका खेलेको पाइन्छ ।

डीडीसीका अनुसार याक चिज रसुवाका ५, दोलखाका २, रामेछापका ३ र सोलुखुम्बुको १ स्थानमा गरी ११ स्थानमा उत्पादन केन्द्र रहे पनि हाल रामेछापका दुई बन्द बाहेक ९ स्थानबाट याक चिज उत्पादन हुँदै आएको छ ।

रामेछाप जिल्लाको क्यामा ठाङ्गदिनमा ३ रोपनी र तेछुम गुम्देलमा २ रोपनीमा २०२८ सालमा स्थापना भएका उत्पादन केन्द्र बन्द अवस्थामा छन् ।

नौ वटा उत्पादन केन्द्रबाट डीडीसीले ३ हजार ४ सय ५० वटा याक र चौँरीबाट ६ लाख २३ हजार १ सय ८५ लिटर दूध संकलन गरी १ लाख १६ हजार ९ सय ६६ किलो याक चिज र २० हजार ६ सय ४० किलो मख्खन उत्पादन गर्दै आएको छ । नौ वटै उत्पादन केन्द्रबाट याक र चौँरी पालक किसानले एक सिजनमा ५ करोड ३१ लाख २६ हजार रुपैयाँ नगद आम्दानी गर्दै आएका छन् ।

प्रधानमन्त्री शाहको फेसबुक पोस्टले निम्त्याएको यो चर्चाले नेपाली उत्पादनको महत्त्वलाई पुनः उजागर गरेको छ । तर, डीडीसी याक चिजको यो ‘लिगेसी’ जोगाइराख्न उपभोक्ताको साथ मात्र पर्याप्त छैन; सरकारले हिमाली पूर्वाधार, पशु सेवा र किसान प्रोत्साहनका लागि विशेष प्याकेज ल्याउनु आवश्यक देखिएको छ ।

कहाँ कति हुन्छ याक चिज उत्पादन ?

नेपालमा सबैभन्दा पहिलो चिज उत्पादन केन्द्र रसुवाको लाङटाङमा २००९ सालमा स्विस सरकारको सहयोगमा स्थापना भएको थियो । स्विस सरकारले आफ्नो लगानीमा करिब ३ रोपनी जग्गामा भौतिक पूर्वाधार निर्माण गरिदिएको थियो ।

जहाँबाट १३ गोठमा आबद्ध रहेका ४ सय याक-चौँरीबाट २६ हजार २१४ लिटर दूध सङ्कलन गरी २५६२.६ किलो याक चिज उत्पादन हुन्छ । यो स्थानमा ५ स्थानमा गोठ सर्ने गरी दुई वटा घुम्ती उत्पादन शाखासमेत सञ्चालनमा ल्याइएको छ । एक सिजनमा यहाँका किसानले २५ लाख ३० हजार ९ सय ९५ रुपैयाँसम्म भुक्तानी पाउने गरेको डीडीसीले जनाएको छ ।

रसुवाकै गोसाइँकुण्डमा ५ रोपनी क्षेत्रफलमा छ दोस्रो याक चिज उत्पादन केन्द्र । २०२८ सालमा स्थापना भएको यो केन्द्रमार्फत ४ सय याक-चौँरीबाट ९४ हजार ६ सय ८१ लिटर दूध संकलन गरी ९६२२.१ किलो याक चिज उत्पादन हुँदै आएको छ ।

गोसाइँकुण्डका किसानले एक सिजनमा ८१ लाख ७८ हजार ७ सय रुपैयाँसम्म भुक्तानी पाउँछन् । यहाँ पनि ७ स्थानमा गोठ सर्ने गरी ३ वटा घुम्ती उत्पादन शाखा छन् ।

रसुवाकै गत्लाङमा २०३४ सालमा स्थापना भएको थियो, तेस्रो याक चिज उत्पादन केन्द्र । करिब ५ रोपनी जग्गामा फैलिएको यो केन्द्रमा ५४० वटा याक र चौँरी गाई आबद्ध छन् । यो केन्द्रमार्फत १ लाख ५ हजार ६ सय ४८ लिटर दूध सङ्कलन गरी एक सिजनमा १० हजार ६ सय ९७ किलो चिज उत्पादन हुन्छ ।

५ स्थानमा दुई वटा घुम्ती उत्पादन शाखा रहेको यो उत्पादन केन्द्रमार्फत किसानले ८९ लाख २१ हजार ७ सय ४५ रुपैयाँ भुक्तानी पाउने गरेका छन् ।

यस्तै रसुवाको धुन्चेमा २०७१ सालमा स्थापना भएको पाङ्लेखर्क याक चिज उत्पादन केन्द्रमा ७ सय याक र चौँरी गाई आबद्ध छन् । जसबाट १ लाख ११ हजार ८ सय ४५ लिटर दूध सङ्कलन गरी ११ हजार ४ सय किलो चिज उत्पादन हुन्छ । जसबाट किसानले ९८ लाख २६ हजार रुपैयाँसम्म भुक्तानी पाउँछन् । यहाँ पनि ४ स्थानमा सर्ने गोठसहित ३ वटा घुम्ती उत्पादन शाखा सञ्चालनमा छन् ।

यसैगरी २०७६ सालमा रसुवाकै तातोपानीमा स्थापना भएको उत्पादन केन्द्रमार्फत २ सय याक र चौँरीबाट ५९ हजार ९ सय ८५ लिटर दूध सङ्कलन गरी ६ हजार किलो चिज उत्पादन हुन्छ । भाडाको जग्गामा सञ्चालनमा रहेको यो केन्द्रमार्फत किसानले ५० लाख २९ हजार ३ सय ८४ रुपैयाँ भुक्तानी पाउने गर्छन् । यो केन्द्रमा ५ स्थानमा सर्ने गोठसहित २ वटा घुम्ती उत्पादन शाखा छन्।

दोलखाको चोर्दुङमा २०२८ सालमा ७ रोपनीमा स्थापना भएको याक चिज केन्द्रमार्फत २५० याक-चौँरीमार्फत ६३ हजार ५ सय २ लिटर दूध सङ्कलन गरी ६ हजार ४ सय २२ किलो चिज उत्पादन हुँदै आएको छ । यो केन्द्रमार्फत किसानले ५२ लाख ७७ हजार ६ सय ९० रुपैयाँ भुक्तानी पाउने गरेका छन् । यो केन्द्रसँग ४ स्थानमा गोठ सर्ने सहित २ वटा घुम्ती उत्पादन शाखा पनि छन् ।

दोलखाकै चंखुमा २०३९ सालमा ४ रोपनी जग्गामा स्थापना भएको उत्पादन केन्द्रमा आबद्ध रहेका २५० वटा याक चौँरीबाट ६५ हजार ३ सय २८ लिटर दूध सङ्कलन गरी ६ हजार ५ सय ८९ किलो चिज उत्पादन हुन्छ ।

६ स्थानमा गोठ सर्ने सुविधासहित २ वटा घुम्ती उत्पादन केन्द्र रहेको यो उत्पादन स्थलबाट किसानले ५४ लाख ७६ हजार ८ सय १५ रुपैयाँ भुक्तानी पाउँदै आएका छन् ।

सोलुखुम्बुको पिङ्केमा २०१९ सालमा २ रोपनी क्षेत्रफलमा स्थापना भएको उत्पादन केन्द्रमार्फत ३५० याक चौँरीबाट २५ हजार १ सय ६ लिटर दूध सङ्कलन गरी २ हजार ४ सय ९० किलो चिज उत्पादन हुँदै आएको छ । १ गोठ सर्ने सुविधासहित २ वटा घुम्ती उत्पादन शाखा रहेको यो केन्द्रबाट किसानले २० लाख ९६ हजार रुपैयाँ भुक्तानी पाउँछन् ।

यस्तै अन्तिम याक उत्पादन केन्द्र रामेछापको थोदुङमा छ । २०१४ सालमा स्विस सरकारको सहयोगमा ५२ रोपनी क्षेत्रफलमा रहेको यो उत्पादन केन्द्र भूकम्पका कारण जीर्ण बनेको छ ।

३६० वटा याक र चौँरीमार्फत सङ्कलन भएको ७० हजार ८ सय ७६ लिटर दूधबाट ७ हजार १ सय ७८ किलो चिज उत्पादन हुन्छ । यहाँका किसानले ५७ लाख ९३ हजार ६ सय ६० रुपैयाँ आम्दानी गर्छन् ।

पूर्णतः प्राङ्गारिक र औषधीय गुणले भरिपूर्ण

डीडीसीले उत्पादन गर्ने याक चिज दुग्धजन्य पदार्थ मात्र नभएर यो ‘प्रमाणित प्राङ्गारिक (सर्टिफाइड अर्गानिक) उत्पादन हो ।
डीडीसीका सूचना अधिकारी नीलकण्ठ गौतमका अनुसार उच्च हिमाली क्षेत्रमा पाइने याक र चौँरी गाईले नितान्त रूपमा स्थानीय घाँस र जडीबुटी सेवन गरेकाले उत्पादन भएको दूध औषधीय गुणले भरिपूर्ण छ ।

‘हिमाली क्षेत्रका याकहरूले कुनै पनि प्रकारको कृत्रिम दाना खाँदैनन्, उनीहरू उच्च हिमाली खर्कहरूमा प्राकृतिक रूपमा उम्रिएका घाँस र यार्सागुम्बा, पाँचऔँले जस्ता बहुमूल्य जडीबुटीहरू चरेर हुर्कन्छन्,’ गौतमले भने, ‘जसका कारण यो चिज स्वास्थ्यका लागि निकै हितकर र औषधीय गुणयुक्त मानिन्छ ।’

यसको निर्माण प्रक्रिया पनि मौलिक छ । विशेष ‘रेनेट’ को प्रयोग गरी तयार गरिने यो चिजलाई वास्तविक स्वाद र गुणस्तर प्रदान गर्न ४५ देखि १२० दिनसम्म भण्डारण गरिन्छ ।

चिजलाई सुरक्षित राख्न र स्वाद निखार्न नुन-पानीले धुने (वासिङ) विशिष्ट विधि अपनाइन्छ, यसले गर्दा यो १ वर्षभन्दा बढी समयसम्म सुरक्षित रहन्छ ।

किसानले कति पाउँछन् भुक्तानी ?

डीडीसीले याकपालक किसानहरूलाई दूधको फ्याटअनुसार प्रतिलिटर ९५ देखि ११० रुपैयाँसम्म भुक्तानी गर्छ, जुन सामान्य गाईभैँसीको दूधको तुलनामा झन्डै दोब्बर हो । उच्च गुणस्तरको १ किलो तयारी याक चिज बनाउन १० लिटर शुद्ध याकको दूध आवश्यक पर्दछ ।

विश्वकै सर्वोच्च स्थानमा उत्पादन केन्द्र

नेपालको याक चिज उत्पादन इतिहास र पूर्वाधार दुवै अर्थपूर्ण छन् । रसुवा, रामेछाप, दोलखा र सोलुखुम्बु गरी उच्च हिमाली भेगमा डीडीसीका ९ वटा उत्पादन एकाइहरू छन् ।

रसुवाको लाङटाङमा ३,८७० मिटरको उचाइमा रहेको ‘क्यान्जिन (किङ्जिन) चिज उत्पादन केन्द्र’ विश्वकै सबैभन्दा उचाइमा रहेको चिज केन्द्र हो । यो सन् १९५५ मा स्विस सरकारको सहयोगमा स्थापना भएको थियो ।

अन्तर्राष्ट्रिय स्तरमा पनि नेपाली याक चिजको माग चुलिँदो रूपमा छ । हालै खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले ‘माउन्टेन पार्टनरसिप’ अन्तर्गत सहकार्य सुरु गरेपछि यसले विश्वव्यापी बजार (ग्लोबल मार्केटिङ) सम्म पहुँच बनाउने बाटो खुलेको छ ।

चुनौती पनि त्यत्तिकै

यति धेरै सम्भावना र लोकप्रियताका बाबजुद यो क्षेत्र गम्भीर सङ्कटबाट पनि गुज्रिरहेको छ । संस्थानका अनुसार यो क्षेत्रमा पनि चुनौतीहरू देखा पर्न थालेका छन् ।

हिमाली क्षेत्रबाट तीव्र बसाइँसराइ र नयाँ पुस्तामा यो कठिन पेसाप्रति आकर्षण नहुँदा भविष्यमा याकपालक किसानको अभाव हुन थालेको छ ।

यस्तै अधिकांश उत्पादन केन्द्रहरूमा अझै विद्युत् पुगेको छैन । यसले गर्दा आधुनिक प्रविधि अपनाउन कठिन छ । दुर्गम क्षेत्रमा पशु चिकित्सा सेवाको कमी छ भने चरन क्षेत्रहरू पनि क्रमशः खुम्चिँदै गएका छन् ।

भौगोलिक विकटताका कारण चिज बनाउने दक्ष कर्मचारीहरू दुर्गममा बस्न नचाहँदा कर्मचारीको चरम अभाव देखिन थालेको छ ।