
काठमाडौं । पञ्चकन्या ग्रुपको व्यापार १४ प्रतिशतले बढेको छ । ग्रुपको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा १४.२६ प्रतिशतले बढेको हो ।
ग्रुपले समग्र रुपमा गत आर्थिक वर्षमा ४ वटा कम्पनीमार्फत् ६ अर्ब ६८ करोड १० लाख रुपैयाँको कारोबार गरेका छन् । ग्रुपका ती कम्पनीले सन् २०२४ मा ५ अर्ब ८४ करोड ७० लाख रुपैयाँ र सन् २०२३ मा ७ अर्ब ८६ करोड रुपैयाँको कारोबार गरेका थिए ।
सन् २०२४ मा घटेको ग्रुपको व्यापार गत आवमा रिबाउन्ड हुँदै गएको देखिन्छ । ग्रुपको पञ्चकन्या प्लास्ट प्रालि, पञ्चकन्या प्लास्टिक इन्डष्ट्रिज प्रालि, पञ्चकन्या रोटोमोल्ड प्रालि र पञ्चकन्या स्टिल प्रालि गरी चारवटा कम्पनीको व्यापारमा वृद्धि देखिएको हो ।
ग्रुपको पञ्चकन्या प्लास्टले गत आवमा ७९ करोड १० लाख रुपैयाँ, पञ्चकन्या प्लास्टिक इन्डष्ट्रिजले ९८ करोड ३० लाख रुपैयाँ र पञ्चकन्या रोटोमोल्डले ७९ करोड ९० लाख रुपैयाँको व्यापार गर्दा पञ्चकन्या स्टिलले सबैभन्दा धेरै ४ अर्ब ११ करोड ८० लाख रुपैयाँको व्यापार गरेका छ ।
पञ्चकन्या प्लास्टले सन् २०२४ मा ६४ करोड रुपैयाँ र सन् २०२३ मा ७३ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २००३ देखि पीपीआर र सीपीभीसी पाइप तथा फिटिङ्स उत्पादन गर्दै आएको कम्पनीसँग वार्षिक ५ हजार मेट्रिक टन उत्पादन क्षमता छ । पञ्चकन्या ब्रान्डमा सामग्री बिक्री गर्दै आएको कम्पनीको उद्योग भैरहवामा रहेको छ ।
त्यस्तै, पञ्चकन्या प्लास्टिक उद्योगले सन् २०२४ मा ८८ करोड २० लाख रुपैयाँको मात्रै व्यापार गरेको थियो । कम्पनीले सन् २०२३ मा १ अर्ब २३ करोड ३० लाख रुपैयाँ गरेको थियो । सन् २०२२ मा १ अर्ब ३६ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् १९८२ मा स्थापना भएको उद्योगले ९ हजार मेट्रिक टन एजडीई पाइप तथा फिटिङ्स सामग्री उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । सात जना बोर्ड सदस्य रहेको कम्पनीले ‘पञ्चकन्या’ ब्रान्डमा पाइप तथा फिटिङ्स बजारमा बिक्री वितरण गर्दै आएको छ ।
त्यसैगरी, पञ्चकन्या रोटोमोल्डले कम्पनीले सन् २०२४ मा ६६ करोड ७० लाख रुपैयाँ र सन् २०२३ मा ७८ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीसँग वार्षिक ६ हजार ५ सय मेट्रिक टन युपीभीसी पाइप र फिटिङ्स उत्पादन क्षमता छ । पञ्चकन्या ब्रान्डमै पाइप र फिटिङ्स सामग्री उत्पादन तथा बिक्री वितरण गर्दै आएको कम्पनीमा ७ जना बोर्ड सदस्य छन् । कम्पनीले उत्पादन गरेको उक्त सामग्री देशभर उपलब्ध रहेको छ ।
ग्रुपको सबैभन्दा बढी कारोबार गर्ने कम्पनी हो, पञ्चकन्या स्टिल । कम्पनीले सन् २०२४ मा ३ अर्ब ६५ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले सन् २०२३ मा ५ अर्ब ११ करोड रुपैयाँको व्यापार गरेको थियो भने सन् २०२२ मा ६ अर्ब ७४ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीले भारतबाट कच्चा पदार्थको रुपमा एमएस ब्लेड आयात गरी नेपालमा डण्डी उत्पादन गर्दै आएको छ । कम्पनीले पञ्चकन्या ब्रान्डमा डण्डी उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीको देशभर ९० वटा डिलर छन् ।
साथै, कम्पनीको ७ वटा डिपो छन् । कम्पनीको बल्खु, ललितपुर, भैरहवा, पोखरा, धनगढी, नेपालगञ्ज र विर्तामोडमा डिपो रहेको छ। पञ्चकन्या ग्रुपद्वारा सञ्चालित पञ्चकन्या स्टिलमा प्रेमबहादुर श्रेष्ठ अध्यक्ष र प्रबन्ध निर्देशक प्रदिपकुमारसहित ७ जना बोर्ड सदस्य छन् ।
सन् १९९५ देखि निरन्तर टीएमटी स्टिल बार उत्पादन गर्दै आएको उद्योगको वार्षिक १ लाख ५० हजार मेट्रिक टन क्षमता छ ।
ग्रुपको पञ्चकन्या प्लास्टले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब २४ करोड ५० लाख रुपैयाँ, पञ्चकन्या प्लास्टिक इन्डष्ट्रिजले १ अर्ब १७ करोड ३१ लाख रुपैयाँ र पञ्चकन्या रोटोमोल्डले १ अर्ब १० करोड १० लाख रुपैयाँको कर्जाका लागि रेटिङ गराएको छ ।





प्रतिक्रिया