साउदीमा १३० नेपाली श्रमिकको मृत्यु, ५४४ जना जेलमा


काठमाडौं । वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका नेपाली श्रमिकहरूको सुरक्षा, उद्धार र कानुनी सहजीकरणमा नेपाली दूतावासले आफ्नो सक्रियता तीव्र बनाएको छ।

पछिल्लो समय दूतावासले जेलमा रहेका नेपालीको रिहाइदेखि बिरामीको उपचार र अलपत्र श्रमिकको स्वदेश फिर्तीसम्मका कार्यलाई प्राथमिकता दिएको छ।

दूतावासले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत साउनदेखि हालसम्म विभिन्न कारणले १३० जना नेपाली श्रमिकको साउदीमा मृत्यु भएको छ।

मृत्यु हुनेहरूमा अधिकांशको हृदयघात, सडक दुर्घटना, कार्यस्थल दुर्घटना, आत्महत्या र दीर्घ रोगका कारण ज्यान गएको हो। दूतावासले मृतकको शव व्यवस्थापन र परिवारसँगको समन्वयमा सहजीकरण गरिरहेको जनाएको छ।

यस्तै, विभिन्न कानुनी झमेला, श्रम विवाद, कागजातको अभाव, आर्थिक लेनदेन र आपराधिक अभियोगमा ५४४ जना नेपाली साउदीका विभिन्न जेलमा रहेका छन्। उनीहरूलाई कानुनी परामर्श दिने र रिहाइका लागि स्थानीय प्रशासनसँग समन्वय भइरहेको दूतावास स्रोतले बताएको छ।

विभिन्न समस्यामा परेका १ हजार ५६४ जना श्रमिकको गुनासो सम्बोधन गरिएको दूतावासको दाबी छ। यसमा तलब नपाउने, पासपोर्ट रोक्का गरिने, करार उल्लंघन र कार्यस्थलमा हुने दुर्व्यवहार जस्ता समस्याहरू रहेका छन्।

यस्तै, गम्भीर स्वास्थ्य समस्या भएका २७ जना श्रमिकको उपचार व्यवस्थापन गरिएको छ भने करिब ५०० जनालाई ुएक्जिट भिसाु ९बहिर्गमन अनुमति० दिलाएर स्वदेश फर्काउन सहयोग गरिएको छ।

दूतावासले श्रमिकका गुनासा सुन्न आधुनिक सञ्चार माध्यम, विशेषगरी ह्वाट्सएप सेवालाई प्रभावकारी बनाएको छ। दैनिक ५० भन्दा बढी पुनः श्रम स्वीकृतिको काम अनलाइन प्रणालीमार्फत भइरहेको छ।

‘फोन उठ्दैन’ भन्ने आम गुनासोलाई सम्बोधन गर्दै दूतावासले सीमित जनशक्तिका बाबजुद ह्वाट्सएप र सामाजिक सञ्जालमार्फत तत्काल प्रतिक्रिया दिने संयन्त्र विकास गरेको जनाएको छ।

साउदीस्थित नेपाली दूतावासका श्रम कन्सुलर कबिराज उप्रेतीले दूतावासमाथि लाग्ने गरेका आरोपहरूको खण्डन गरेका छन्।

एनआरएन साउदीको एक कार्यक्रममा बोल्दै उनले भने, ‘हामी सीमित स्रोत र साधनका बीच लाखौं श्रमिकको सेवामा छौं। एउटै समयमा सयौं फोन आउँदा सबै उठाउन सम्भव नभए पनि कुनै पनि श्रमिकको समस्यालाई हामीले बेवास्ता गरेका छैनौं।’

उनले ‘अनलाइन श्रमिक सहायता कार्यक्रम’ मार्फत सेवालाई थप प्रविधिमैत्री बनाइएको र श्रमिकहरूले सिधै दूतावाससँग सम्पर्क गर्न सक्ने वातावरण निर्माण गरिएको जानकारी दिए।

साउदी अरबमा कार्यरत लाखौं नेपालीका तुलनामा दूतावासमा कर्मचारीको संख्या न्यून हुनु र श्रमिकहरूमा कानुनी सचेतनाको अभाव हुनु मुख्य चुनौतीको रूपमा देखिएको छ।

धेरै श्रमिकलाई दूतावासको सम्पर्क प्रक्रिया र स्थानीय नियमबारे जानकारी नहुँदा समस्या झन् जटिल बन्ने गरेको छ। वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सले मुलुकको अर्थतन्त्र धानिरहेको अवस्थामा श्रमिकको सुरक्षा र मर्यादा सुनिश्चित गर्नु राज्यको पहिलो प्राथमिकता हुनुपर्ने सरोकारवालाहरूको माग छ।