
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरुपयोग गर्दै राष्ट्रसेवक कर्मचारीलाई धम्की दिने कार्यमा संलग्न एक व्यक्तिमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको छ।
दैलेख जिल्लाको दुल्लु नगरपालिका वडा नम्बर १३ का वडा सचिव कमल भण्डारीलाई प्रकाश खड्का नाम गरेका व्यक्तिले फोन गरी प्रधानमन्त्री कार्यालयको नाम लिँदै अत्यन्तै अभद्र भाषामा धाकधम्की दिएको विषयमा कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
प्रधानमन्त्री कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालद्वारा जारी प्रेस विज्ञप्ति अनुसार कानुन र स्थापित प्रशासनिक प्रक्रिया अनुसार आफ्नो जिम्मेवारी पूरा गरिरहेका राष्ट्रसेवक कर्मचारीलाई पदीय मर्यादा विपरीत भय र त्रास सिर्जना गर्ने, अमर्यादित शब्द प्रहार गर्ने र धम्क्याउने यस्ता गतिविधि पूर्णतः निन्दनीय र अक्षम्य छन्।
उक्त घटना सार्वजनिक हुनासाथ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निज प्रकाश खड्कालाई तत्काल कानुनी दायरामा ल्याई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन सम्बन्धित सुरक्षा एवं अनुसन्धान निकायलाई कडा निर्देशन दिइसकेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्रीज्यू सुशासन, विधिको शासन तथा राष्ट्रसेवक कर्मचारीको व्यावसायिक सुरक्षा र उच्च मनोबलका पक्षमा दृढ हुनुहुन्छ। सुशासनको यो साझा महाअभियानमा कुनै पनि प्रकारको सम्झौता नहुने र विधिको शासनलाई चुनौती दिने जो–कोहीलाई कानुन बमोजिम कडा कारबाही गरिने प्रतिबद्धता कार्यालयले गर्दछ।’
यसैबीच, प्रधानमन्त्री कार्यालयले कुनै पनि व्यक्तिले आफ्नो निजी स्वार्थपूर्तिका लागि प्रधानमन्त्री, उनको सचिवालय वा कार्यालयको नाम लिएर फोन वा भेटमार्फत धम्की दिने, बार्गेनिङ गर्ने वा नाजायज दबाब सिर्जना गर्ने कार्य गरेमा त्यस्ता भ्रममा नपर्न समेत अपिल गरेको छ।
यस्ता घटनाको जानकारी तत्काल नजिकको सुरक्षा निकाय वा प्रधानमन्त्री कार्यालयमा गराउन समेत सर्वसाधारणमा अनुरोध गरिएको छ।
आगामी दिनमा हुनसक्ने यस्ता दुरुपयोगबाट बच्नका लागि प्रधानमन्त्री कार्यालय वा सचिवालयको नाम जोडेर आउने कुनै पनि शङ्कास्पद फोन, सन्देश वा संवादहरूलाई आधिकारिक माध्यमबाट अनिवार्य रूपमा प्रमाणीकरण (भेरिफिकेसन) गरेर मात्र काम कारबाही अघि बढाउन सम्पूर्ण सरकारी निकाय, स्थानीय तह र कर्मचारीहरूमा विशेष आग्रह गरिएको छ।






प्रतिक्रिया