
एजेन्सी । यो सफलता पाउन साढे ८ वर्ष लाग्यो तर बुधबार राष्ट्रपति डोनल्ड ट्रम्प अन्ततः आफ्नो राष्ट्रपतीय कार्यकालमा स्वीकार गरेको थोरै गल्तीहरूमध्ये एकलाई उल्ट्याउन सफल भए ।
नोभेम्बर २०१७ मा ट्रम्पले पूर्व फेड गभर्नर केभिन वार्सको सट्टा आफूले भनेको मान्ने ठानेर जेरोम पावेललाई फेडरल रिजर्भको अध्यक्षमा नियुक्त गरेका थिए । त्यसयता ट्रम्पले सधैं सो निर्णयप्रति पछुतो मान्दै आएका थिए ।
सिनेटमा बुधबारको अनुमोदन प्रक्रिया अघि बढ्दै गर्दा बजारमा एउटै प्रश्न व्याप्त थियोः के ट्रम्पले यो निर्णयमा पनि पछुताउनुपर्ने त होइन ? ट्रम्पले जनवरीमा भनेका थिए, ‘फेड अध्यक्षहरू पद सम्हालेपछि बदलिन्छन् ।’
वार्सले ट्रम्पको समर्थन गुमाए भने नयाँ फेड अध्यक्षसँग कंग्रेसको त्यो बलियो साथ नहुन सक्छ जसले पावेललाई ट्रम्पको दबाब प्रतिरोध गर्न मद्दत गरेको थियो ।
वार्सले फेडका लागि प्रतिज्ञा गरेको ‘कार्यशैली परिवर्तन’ को मिशनमा उनी सफल हुन्छन् कि हुँदैनन् भन्ने कुरा यो अत्यन्तै चुनौतीपूर्ण राजनीतिक परिदृश्यलाई उनले कसरी व्यवस्थापन गर्छन् भन्नेमा भर पर्नेछ ।
पावेलको तुलनामा उनी निकै ठूलो राजनीतिक प्रतिकूलताका साथ आफ्नो कार्यकाल सुरु गर्दैछन् तर वार्सको इतिहास र ट्रम्पसँगको उनको सम्बन्धले के संकेत गर्छ भने नयाँ अध्यक्ष उनका आलोचकहरूले सोचेभन्दा बढी स्वतन्त्र मार्गमा हिँड्ने सम्भावना छ । र उनले यो काम यस्तो सहयोगात्मक तरिकाले गर्न सक्छन् जसले तत्कालै तनावको अपेक्षा गरिरहेकाहरूलाई अचम्ममा पार्न सक्छ ।
५६ वर्षीय वार्स बुधबार ५४ मतका साथ अनुमोदित भए जसमा पेन्सिलभेनियाका सिनेटर जोन फेटरम्यान मात्र पक्षमा रहेका एक्लो डेमोक्रेट सिनेटर थिए । सन् १९७७ मा यो पद सिनेटबाट अनुमोदन हुनुपर्ने व्यवस्था लागू भएदेखि कुनै पनि फेड अध्यक्षले पाएको यो सबैभन्दा कमजोर समर्थन हो ।
यसअघिको सबैभन्दा कम मतको रेकर्ड डेमोक्रेटद्वारा मनोनित जेनेट येलेनको नाममा थियो जसले सन् २०१४ मा ११ रिपब्लिकन सहित ५६ मत प्राप्त गरेकी थिइन् ।
यसपटक वार्सको विपक्षमा मतदान गर्नेहरूमध्ये अल्पमतका नेता सिनेटर चक सुमर (डेमोक्रेट, न्युयोर्क) पनि थिए । यो सन् २००६ को तुलनामा पूर्ण विपरीत स्थिति हो जतिबेला सुमरले वार्सलाई फेड गभर्नरका लागि समर्थन गर्दै वार्सलाई फेड स्वतन्त्र, गैर–वैचारिक र निष्पक्ष हुनुपर्छ भन्ने कुरा स्पष्ट रूपमा थाहा छ भनेका थिए । त्यस वर्ष वार्स सर्वसम्मतिले अनुमोदित भएका थिए ।
ट्रम्पको आक्रमणका बीच पावेलले सिनेटमा एक महत्त्वपूर्ण सहयोगी भेटाएका थिए । सिनेटर थम टिलिस (रिपब्लिकन, नर्थ क्यारोलाइना) ले न्याय मन्त्रालयले फेडमाथिको आपराधिक अनुसन्धान फिर्ता नलिएसम्म वार्सको अनुमोदनमा ढिलाइ गर्ने धम्की दिएका थिए । कोलम्बिया जिल्लाकी अमेरिकी महान्यायाधिवक्ता जिनिन पिरोले अप्रिलमा सो अनुसन्धान हटाएपछि वार्सका लागि बाटो खुलेको थियो ।
अप्रिलमा प्रकाशित युनिभर्सिटी अफ मेरील्यान्डका अनुसन्धानकर्ताहरूको अध्ययनले भन्छ, ‘पावलले आफ्ना पूर्ववर्तीहरू भन्दा दुई गुणा बढी अमेरिकी सिनेटरहरूसँग भेटघाट गरेका थिए ।’
धेरै पुराना फेड पर्यवेक्षकहरूले वार्सलाई पहिले नै असफल मानिसकेका छन् । उनीहरूका अनुसार, वार्स या त फेडको जड कर्मचारीतन्त्रलाई बदल्न सक्छु भन्ने भ्रममा छन् वा उनी ट्रम्पका लागि केवल एक कठपुतली हुन् जस्तो कि उनकी प्रमुख प्रगतिशील आलोचक सिनेटर एलिजाबेथ वारेनले भन्ने गर्छिन् ।
तर, वार्स संयोगले मात्र अर्थतन्त्रको यो सबैभन्दा प्रभावशाली भूमिकामा पुगेका होइनन् । उनलाई यो काम दिने कि नदिने भन्नेमा ट्रम्पले सार्वजनिक रूपमै निकै कसरत गरेका थिए । ट्रम्पले सन् २०२४ को चुनाव जित्नुअघि नै यो पद स्कट बेसेन्ट (अहिलेका अर्थमन्त्री) लाई प्रस्ताव गरेका थिए ।
गत वर्ष वार्सले नै ट्रम्पलाई पावेललाई बर्खास्त नगर्न सल्लाह दिएका थिए । त्यस निर्णयले फेडको विश्वसनीयता गुम्ने जोखिम हुन्थ्यो तर वार्सलाई व्यक्तिगत रूपमा फाइदा हुन सक्थ्यो ।
मुद्रास्फीतिप्रतिको उनको चिन्ता र भन्सार शुल्कबारेको उनको धारणा ट्रम्पसँग नमिल्ने हल्लाका बीच पनि अन्ततः उनले जनवरीमा ट्रम्पको मनोनयन जित्न सफल भए ।
वार्स कुनै पनि अर्थमा उदारवादी होइनन् । स्ट्यानफोर्ड युनिभर्सिटीको विद्यार्थी सिनेटको अध्यक्षमा निर्वाचित भएदेखि नै उनी सार्वजनिक रूपमा रूढिवादी रहँदै आएका छन् ।
उनले आफ्ना आदर्श व्यक्तित्व कट्टर रूढिवादी अर्थशास्त्री मिल्टन फ्रिडम्यानको अनुसन्धान सहायकका रूपमा काम गरेका थिए । तर उनको विचारधारा भन्दा पनि आफ्नो विश्वासलाई अरूका विचार र महत्त्वाकांक्षाहरूसँग जोड्न सक्ने वार्सको क्षमताले उनलाई राजनीतिक रूपमा शक्तिशाली बनाउने स्ट्यानफोर्डका अर्थशास्त्री जोन कोगनले बताए ।
कोगनले भने, ‘मैले उनलाई अरूको दृष्टिकोण बुझ्न सक्ने र साझा सहमति खोज्न इच्छुक व्यक्तिको रूपमा चिनेको छु ।’
वार्सले फेडभित्र र बाहिर दुवै ठाउँमा तुरुन्तै आफ्नो राजनीतिक सीप प्रयोग गर्नुपर्नेछ ।
फेडभित्र उनले ब्याजदर निर्धारण गर्ने ती मतदाताहरूको समितिलाई मनाउनुपर्नेछ जो पुनः बढ्न सक्ने मुद्रास्फीतिको जोखिमबाट चिन्तित छन् । यसै हप्ता सार्वजनिक गरिएको सरकारी तथ्यांक अनुसार इरान युद्धका कारण ऊर्जाको मूल्यमा आएको उछालले अप्रिलमा उपभोक्ता मूल्य सूचकांक ३.८ प्रतिशत पुगेको छ ।
अस्थिर ऊर्जा मूल्यहरू हटाएर हेर्दा पनि कोर इन्फ्लेसन लगातार तीन महिनादेखि बढिरहेको छ जसका कारण फेडका केही सदस्यहरू पश्चिम एसियामा जेसुकै भए पनि मूल्यवृद्धि रोक्न ब्याजदर पर्याप्त मात्रामा नबढाइएको हुन सक्नेमा चिन्तित छन् ।
ट्रम्पले माग गरेजस्तो तुरुन्तै ब्याजदर कटौती गर्न फेडमा खासै उत्साह देखिँदैन । वार्सले ब्याजदर घटाउन सकेनन् भने आफू निराश हुने राष्ट्रपतिले हालै भनेका थिए ।
वार्सले आफ्नो अनुमोदन सुनुवाइका क्रममा सिनेटरहरूलाई आफूले ट्रम्पसँग त्यस्तो कुनै प्रतिज्ञा नगरेको बताएका थिए । उनले फेड अध्यक्षको रूपमा आफ्नो मिशनलाई यसरी प्रस्तुत गरेका छन् कि केन्द्रीय बैंकले बजारमा आफ्नो विश्वसनीयता पुनः स्थापित गर्नुको सट्टा अल्पकालीन आर्थिक तथ्यांकको मसिना कुराहरूमा मात्र धेरै ध्यान दिइरहेको छ ।
वार्सको विचारमा त्यो गुमेको विश्वसनीयताको प्रमाण मुद्रास्फीति अपेक्षामा देखिन्छः न त बजारका सहभागीहरू न त उपभोक्ताहरू नै आगामी पाँच वर्षभित्र मुद्रास्फीति फेडको २ प्रतिशतको लक्ष्यमा फर्कने विश्वास गर्छन् ।
वार्सले ब्याजदर कहाँ पुग्छ भनेर पहिले नै प्रतिज्ञा गर्ने परिपाटी अन्त्य गरेर संस्थाको आवाजलाई एक बनाउन सञ्चारमाध्यममा सुधार गरेर, नयाँ तथ्यांक स्रोतहरू प्रयोग गरेर र अर्थतन्त्र व्यवस्थापनका लागि ट्रेजरी विभागसँग नयाँ सम्झौता गरेर यी अपेक्षाहरूलाई सच्याउने प्रयास गर्नेछन् ।
के वार्सले यी सबै काम गरेर ट्रम्पले अपेक्षा गरेको ब्याजदर कटौती गर्न सक्लान् ? सीएमई फेडवाचका अनुसार, उनले यस वर्ष ब्याजदर घटाउने सम्भावना १ प्रतिशत मात्र रहेको बजारले देखेको छ ।
वार्सले जुन महिनामा ब्याजदर कटौती गर्न असफल भए भने ट्रम्प क्रुद्ध हुन सक्ने प्रबल सम्भावना छ । तर, यस सोचले वार्सलाई निष्क्रिय ठान्छ । अर्को विकल्प यो हो कि विगत एक दशकदेखि यस क्षणको लागि तयारी गरिरहेका यी फेड अध्यक्षले ट्रम्पलाई यो विश्वास दिलाउन जारी राख्नेछन् कि उनले नै ट्रम्पले चाहेको स्वर्ण युग ल्याउन सक्छन् । ट्रम्पले आफूले विश्वास गरेको व्यक्तिबाट आउँदा राजनीतिक रूपमा फाइदाजनक विचारतर्फ अचानक मोडिने कुरा यो पहिलोपटक हुनेछैन ।
वार्सले पाएको विभाजित समर्थनले उनको राजनीति भन्दा पनि देश कसरी बदलिएको छ भन्ने कुरा बढी झल्काउँछ । उनको तर्क के छ भने बढ्दो राजनीतिक गिरावटको बावजुद अमेरिकीहरूको जीविकोपार्जनका लागि फेडलाई कसरी एक स्थिर शक्तिको रूपमा टिकाइराख्ने भन्ने कुरा उनले अरू कसैले भन्दा राम्रोसँग बुझेका छन् ।
अब उनीसँग आफूलाई प्रमाणित गर्ने मौका छ । उनी असफल भए भने उनीसँगै अमेरिकी आर्थिक शक्तिको एक बलियो खम्बा पनि ढल्नेछ ।









प्रतिक्रिया