तयारी पोशाक उद्योग संघले भन्यो- नीति तथा कार्यक्रम स्वागतयोग्य

77
Shares

काठमाडौँ । नेपाल सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमलाई नेपाल तयारी पोशाक उद्योग संघले सकारात्मक र आशावादी कदमका रूपमा स्वागत गरेको छ।

संघले आइतबार एक विज्ञप्ति जारी गर्दै आर्थिक सुधार, औद्योगिक प्रवर्द्धन र निर्यात अभिवृद्धिका लागि आएका कार्यक्रमहरूले निजी क्षेत्रमा नयाँ उत्साह थपेको जनाएको हो।

संघले विशेष गरी ‘ग्रीन गार्मेन्ट भिलेज’ सहित विशेष औद्योगिक क्षेत्र र औद्योगिक ग्राम विस्तार गर्ने सरकारी घोषणालाई ‘ऐतिहासिक’ निर्णयका रूपमा लिएको छ।

विगत चार दशकदेखि तयारी पोशाक उद्योगीहरूले उठाउँदै आएको यो माग सम्बोधन हुनुले छरिएर रहेका साना तथा मझौला उद्योगहरूलाई एउटै व्यवस्थित संरचनाभित्र ल्याउन सहयोग पुग्ने संघको भनाइ छ। यसबाट विदेशी खरिदकर्ताहरूलाई उद्योगसम्मको पहुँच सहज हुने र औद्योगिक पर्यटनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

व्यवसाय दर्तादेखि निर्माण अनुमति र उद्योग सञ्चालनसम्मका प्रक्रियालाई निश्चित समयसीमाभित्र सम्पन्न गर्ने ‘लगानी एक्सप्रेस नीति’ को संघले प्रसंशा गरेको छ। लामो समयदेखि भोग्दै आएको प्रशासनिक ढिलासुस्ती र प्रक्रियागत जटिलता अन्त्य गर्न यो नीति कोशेढुङ्गा सावित हुने संघको विश्वास छ।

सूचना प्रविधि क्षेत्रलाई ‘राष्ट्रिय रणनीतिक उद्योग’ घोषणा गर्नु र अन्तर्राष्ट्रिय पेमेन्ट गेटवेलाई कानुनी मान्यता दिनुलाई संघले आधुनिक अर्थतन्त्रतर्फको महत्वपूर्ण पाइला भनेको छ। यसबाट निर्यात व्यापार, फ्रीलान्सिङ र डिजिटल कारोबारमार्फत विदेशी मुद्रा आर्जन गर्न थप सहज र पारदर्शी हुने विज्ञप्तिमा उल्लेख छ।

स्टार्टअप र लघु, साना तथा मझौला उद्योगका लागि ‘राष्ट्रिय उद्यम प्रवर्द्धन सुविधा’ स्थापना गर्ने निर्णयले नयाँ पुस्तालाई उद्यमशीलतामा आकर्षित गर्ने संघको धारणा छ। साथै, स्वदेशी उत्पादनको ब्रान्डिङ र प्रमाणीकरण गर्ने नीतिले नेपाली उत्पादनलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन मद्दत पुग्ने देखिएको छ।

नेपाललाई आगामी दशकभित्र मध्यम आय भएको मुलुकमा स्तरोन्नति गर्ने लक्ष्य, ७ प्रतिशतको आर्थिक वृद्धि र ‘रोजगार प्रवर्द्धन दशक’ जस्ता कार्यक्रमले समग्र उद्योग व्यवसायमा सकारात्मक ऊर्जा थप्ने संघले जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘यी नीति तथा कार्यक्रमहरू कागजमा मात्र सीमित नभई व्यवहारिक रूपमा शीघ्र कार्यान्वयन हुनुपर्छ। नीतिगत घोषणाहरू कार्यान्वयनमा आएमा लगानी, उत्पादन र निर्यातमा उल्लेखनीय नतिजा प्राप्त हुनेछ।’

संघले नेपाली तयारी पोशाकको विकास र निर्यात अभिवृद्धिमा सरकारसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।