४२ दिनको लागि ४० अर्ब तरलता प्रशोचन गर्दै राष्ट्र बैंक

49
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ। बुधबार निक्षेप संकलन उपकरण बोलकबोलमार्फत ४२ दिनका लागि ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो ।

राष्ट्र बैंकले प्रकाशित गरेको सूचनाअनुसार यस निक्षेप संकलन उपकरणको बोलकबोल बुधबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत हुनेछ । यसको निष्कासन आजै हुने र सावाँ तथा ब्याज भुक्तानी आगामी असार १० गते गरिने राष्ट्र बैंकले जनाएको छ ।

बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरू मात्र सहभागी हुन पाउनेछन् । इच्छुक संस्थाहरूले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।

निक्षेप संकलनको ब्याजदर बोलकबोलकै माध्यमबाट निर्धारण हुनेछ। राष्ट्र बैंकका अनुसार सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बोलवालालाई पहिलो प्राथमिकतामा राखी क्रमशः आह्वान रकमसम्म बाँडफाँड गरिनेछ । यदि समान ब्याजदर भएका बोल रकमहरू कुल निष्कासित रकमभन्दा बढी भएमा ‘प्रो–राटा बेसिस’ मा बाँडफाँड गरिने सूचनामा उल्लेख छ ।

यस उपकरणमा लगानी गरिएको रकमलाई बैंकहरूले अनिवार्य नगद मौज्दातमा गणना गर्न पाउने छैनन् । तर, यसलाई वैधानिक तरलता अनुपात र खुद तरल सम्पत्तिमा भने गणना गर्न पाइने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले यसअघि पनि पटक–पटक निक्षेप संकलनमार्फत बजारबाट रकम खिच्दै आएको छ । राष्ट्र बैंकको २०८३ वैशाख २९ गतेको तथ्यांकअनुसार बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि प्रशोचन गरेको रकम १० खर्ब १२ अर्ब १५ करोड रुपैयाँ पुगेको छ ।