सञ्चालनको तयारी गर्दागर्दै ऋणको बोझले गुण एयरलाइन्स संकटमा

ऋण नतिरे दुई जहाजसहितको सम्पत्ति लिलामी हुने

798
Shares

काठमाडौं । आन्तरिक व्यवस्थापन मिलाउन नसकेर आर्थिक संकट फसेको गुण एयरलाइन्सलाई ऋणको बोझले थप तनावमा पारेको छ । प्रभु बैंकको ३५ दिनभित्र ऋण नतिरे दुई जहाजसहितको सम्पत्ति लिलामी गर्ने चेतावनी दिएको छ ।

पुन: सञ्चालनको तयारी गर्दागर्दै गुणले जहाज खरिद गर्दा लिएको ऋण नतिरेको भन्दै ऋणदाता प्रभु बैंकले ३५ दिने कर्जा चुक्ता गर्न आउने सूचना जारी गरेको छ ।

व्यवसायी राजेन्द्र शाक्यले सञ्चालन गरेका विभिन्न चारवटा व्यवसायका लागि लिएको सवा अर्ब रुपैयाँ ऋण नतिरेपछि प्रभु बैंकले ३५ दिनभित्र चुक्ता गर्न सार्वजनिक सूचना जारी गरेको छ ।

बैंकले शाक्यद्वारा सञ्चालित ताज होटल, दरबारमार्गको बिजनेस कम्प्लेक्स, गुण एयरका दुईवटा जहाज र अन्नपूर्ण ब्रोडकास्ट मिडियाको सम्पत्तिको ऋण चुक्ता गर्न सूचना जारी गरेको हो । तोकिएको समयभित्र ऋण चुक्ता नगरे बैंकले उक्त सम्पत्ति लिलामी गरेर कर्जा असुल गर्ने व्यहोरासमेत सूचनामा उल्लेख छ ।

प्रभु बैंकले मङ्गलबार सार्वजनिक गरेको सूचना अनुसार गुण एयरलाइन्सले सिम्रिक एयरलाइन्सबाट लिएको बीचक्राफ्ट १९०० सी मोडलका दुईवटा जहाजका लागि लिएको ऋण चुक्ता नगरेको पाइएको छ । यी जहाजका लागि लिएको ऋणको धितो प्रभु बैंककै नाममा रहेको छ ।

शाक्यले सञ्चालन गरेको अन्नपूर्ण ब्रोडकास्ट मिडिया प्रालिका लागि लिएको ऋणसमेत तिरेका छैनन् । यो मिडियाले एपीवान टेलिभिजन सञ्चालन गर्छ । अन्नपूर्ण ब्रोडकास्ट मिडियाको नाममा ललितपुरमा रहेका चार स्थानका जग्गा, त्यसमा बनेको घर र मिडियाको नाममा रहेको चालू सम्पत्तिउपरको हाइपोथिकेसन सुरक्षणसमेत धितोमा रहेकाे उल्लेख गरेको छ ।

शाक्यले ऋण तिर्न नसकेका कारण बैंकले सौगात इन्भेष्टमेन्ट प्रालिको नाममा रहेको दरबारमार्गस्थित दरबार मलका पसल कबलहरूको लागि पनि सूचना जारी गरेको छ । मलको भुइँतलादेखि पाँचौं तल्लासम्म रहेका १२० वटा पसल कबल र जग्गासमेतको ऋण तिर्न बैंकले ताकेता गरेको छ । उक्त ऋण नतिरे बैंकले ती सम्पत्तिको लिलामी गरेर कर्जा असुल गर्ने तयारी गरेको छ ।

Skip This