
काठमाडौं । आन्तरिक उडानमा दुईवटा वायुसेवाको उदय हुँदै छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट जहाज ल्याउन नो अब्जेक्सन लेटर (एनओसी) पाएसँगै दुई वटा वायुसेवाले जहाज ल्याउने तयारी बढाएका थिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट इजाजत पाएर नेपाल नागरिक उड्डयन प्राधिकरणसमक्ष उडान सञ्चालन अनुमति माग्न पुगेका दुई वायुसेवा कम्पनी सगरमाथा एयर र डाँफेले जहाजको बन्दोबस्ती गरेका छन् ।
सञ्चालनमा रहेको माउन्टेन हेलिकप्टरको एउटा एयरबस कम्पनीको एएस ३५० बीथ्री हेलिकप्टर खरिद गरेर सगरमाथा एयरलाइन्सले उडान सञ्चालन गर्दै छ ।
जनक थापा र ईश्वर लामिछानेको समूहले सगरमाथा एयरको स्थापना गरेर हेलिकप्टर सञ्चालन गर्दै छन् । यसका लागि यो हेलिकप्टर कम्पनीले माउन्टेनको हेलिकप्टरसमेत खरिद गरिसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतले क्लिकमान्डुलाई जानकारी दिएको छ ।
प्राधिकरणका अनुसार हेलिकप्टर खरिद गरेको जानकारी पाएपछि औपचारिक रूपमा प्राधिकरणसमक्ष जहाजको स्वामित्व परिवर्तन भएकोसहित उडान सञ्चालनको लागि थप प्रक्रिया पूरा गर्न आउन भने बाँकी छ ।
माउन्टेन एयरका महाप्रबन्धक डिबी ओलीले सगरमाथाले आफ्नो एउटा हेलिकप्टर खरिद गरेको पुष्टि गरे । उनका अनुसार हेलिकप्टर नामसारी गर्ने काम सम्पन्न भइसकेको छ । ‘अब हामीसँग ३ वटा हेलिकप्टर मात्रै छन् । माउन्टेनले एउटा बिक्री गरेको भए पनि थप हेलिकप्टर ल्याएर उडान सञ्चालन गर्ने योजनालाई अगाडि सारेको छ,’ उनले भने ।
आन्तरिक उडानमा नियमित सेवा दिने र प्रतिस्पर्धी बन्ने गरी आउन लागेको डाँफे एयरलाइन्सले पनि जहाज खरिद कार्य अगाडि बढाएको छ । डाँफेले आन्तरिक व्यवस्थापन मिलाउन नसकेर जहाज थन्काएर राखेको गुण एयरलाइन्सको तीनवटा जहाज खरिद गर्ने भएको छ ।
डाँफेले गुणसँग भएका पाँचमध्ये ३ वटा जेटस्ट्रिम जहाज खरिद गर्ने विषयमा करिब सहमति भइसकेको गुण एयरलाइन्सका एक उच्च अधिकारीले क्लिकमान्डुलाई जानकारी दिए ।
उनका अनुसार गुणले यति एयरलाइन्सबाट खरिद गरेर केही समय सञ्चालन गरेको जहाज बिक्री गर्न लागेको हो । डाँफेले बैंकिङ प्रक्रिया पूरा गरेर यो वायुसेवाले जहाज नामसारी गर्ने तयारी गरिरहेको छ ।
डाँफेले तीन वर्षभित्रमै ७ वटा एटीआर र थप तीनवटा जेटस्ट्रिम जहाज ल्याएर सेवा दिने रणनीति बनाएको छ । यसको पहिलो प्राथमिकता एटीआर नै ल्याउनेमा भएकोले त्यसको पनि तयारी भइरहेको डाँफेले जानकारी दिएको छ ।
डाँफे एयरका एक उच्च अधिकारीका अनुसार जेटस्ट्रिम जहाज लिने हो तर पहिलो प्राथमिकता एटीआर नै भएकोले सोही अनुसार आन्तरिक रणनीति बनेको छ । डाँफे व्यवस्थापनले खरिद गर्न लागेको जहाजको अवलोकनमा जाने तयारीमा रहेको पनि ती अधिकारीले जानकारी दिए ।
गुणसँग जहाज खरिद गर्ने विषयमा कुराकानी भएको भए तापनि आवश्यक प्रक्रियामा टुंगो लागिसकेको छैन । डाँफेले प्रादेशिक उडानको लागि जेटस्ट्रिम जहाज खरिद गर्ने भएको छ ।
डाँफे एयरलाइन्स गुणमै काम गरेका र हवाई उड्डयनमा लामो समय क्रियाशील भएकाहरूको समूहले सञ्चालन गर्दै छ । यो वायुसेवामा राजु श्रेष्ठ, अभिषेकमान श्रेष्ठ, प्रकाश कँडेल, क्याप्टेन कोषबहादुर थापासहितको समूहले सञ्चालन गर्दै छ ।





प्रतिक्रिया