रसुवा भन्सारबाट सामानको जाँचपास सुरु

140
Shares

रसुवा । अधिकतम खुद्रा मूल्य (एमआरपी) स्टिकर नलागेका कारण रोकिएको भन्सार जाँचपास रसुवा भन्सारबाट पुनःसञ्चालन भएको छ ।

अनिवार्य रूपमा एमआरपी हास्नुपर्ने नीति तत्काल कार्यान्वयन हुन नसकेपछि पैठारीकर्ताले आफ्नो गोदाम पुर्‍याएपछि स्टिकर टाँसेर मात्र बिक्री गर्ने प्रतिबद्धता जनाएसँगै भन्सार जाँचपास हुन थालेको हो ।

गत असार २४ गते गोसाइँकुण्ड गाउँपालिका-२ टिमुरेस्थित ल्हेन्देखोलामा आएको बाढीपछि लामो समयसम्म प्रभावित बनेको रसुवा भन्सार कार्यालय मितेरी पुल निर्माण पश्चात् गत पुस १७ गतेदेखि पुनःसक्रिय रूपमा सञ्चालन हुँदै आएको थियो ।

करिब पाँच महिनापछि मालसामान आयात गर्दा अनिवार्य एमआरपी टाँस्नुपर्ने नियम कार्यान्वयनमा आएसँगै जाँचपास रोकिएको थियो ।

हाल पैठारीकर्ताले आयात गरिएका सामान गोदाममा पुर्‍याएपछि एमआरपी स्टिकर टाँस गर्ने सहमति पश्चात् भन्सार प्रक्रिया नियमित रूपमा सुरु भएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले जानकारी दिए ।

उनका अनुसार जाँचपास पुनः सञ्चालन भएसँगै राजस्व सङ्कलन वृद्वि हुन थालेको छ ।

भन्सार कार्यालयका अनुसार दैनिक उपभोग्य सामग्रीको जाँचपास सुरु भएको पहिलो दिन बिहीबार करिब चार करोड ५० लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ भने शुक्रबार थप दुई करोड राजस्व सङ्कलन भएको हो ।

दुई दिनमा करिब छ करोड ५० लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको प्रमुख भन्सार अधिकृत भट्टराईले जानकारी दिए ।

उपभोक्ताको हित संरक्षणका लागि आयातित वस्तुमा अनिवार्य रूपमा एमआरपी (अधिकतम खुद्रा मूल्य) को स्टिकर टाँस्नुपर्ने व्यवस्था यही वैशाख १५ गतेदेखि भन्सार कार्यालयले कार्यान्वयनमा ल्याएको उनले बताए ।

उक्त व्यवस्था तत्काल कार्यान्वयनमा समस्या देखिएपछि सरकारले सहजता ल्याउनका लागि सरोकार भएका निकायलाई निर्देशन दिएको थियो ।

सोही निर्देशनपछि आयातकर्ताले आयात गरिएका सामान गोदाममा पुर्‍याएपछि एमआरपी स्टिकर टाँसेर मात्र बिक्री गर्ने सर्तमा भन्सार जाँचपास पुनः सुरु गरिएको प्रमुख भन्सार अधिकृत भट्टराईले बताए ।

सुरक्षा निकायका अनुसार पहिलो दिन ३२ वटा र दोस्रो दिन ४१ वटा गरी ७३ मालवाहक कन्टेनर जाँच पास भई गन्तव्यतर्फ पठाइएको छ । तीमध्ये ३७ वटा कन्टेनरले नेपाली बजारका लागि चिनियाँ स्याउ आयात गरेका छन् ।

ती कन्टेनरलाई राजधानी काठमाडौँ पठाइ सकिएको भन्सार कार्यालयका सूचना अधिकारी ठाकुर गौतमले जानकारी दिए । उनका अनुसार हाल १५० भन्दा बढी कन्टेनर भन्सार हाताभित्र छन् । आयातकर्ताले परिमाण घोषणा गरेपछि जाँचपास प्रक्रिया तीव्रताका साथ अघि बढाइएको उनले बताए ।

गत वर्ष असार २४ गते ल्हेन्देखोलामा आएको बाढीले रसुवागढी–टिमुरे क्षेत्रको भन्सार यार्ड (वैदेशिक व्यापारका क्रममा आयात वा निर्यात गरिने मालसामान भन्सार जाँचपास नहुन्जेलसम्म सुरक्षित रूपमा राखिने क्षेत्र), सुक्खा बन्दरगाह र भौतिक संरचनामा क्षति पुर्‍याएको थियो ।

बाढीले बनाएको बगर र अवरोध पूर्णरूपमा हट्न नसक्दा भन्सार जाँचमा कठिनाइ कायम रहेको भन्सार अधिकारीले बताएका छन् ।

भन्सार यार्डभित्र रहेका साना प्रिफ्याब (इँट्टा र बालुवाको परम्परागत प्रयोग नगरी कारखानामा पहिले तयार पारिएका प्यानल, ट्रस्ट र पार्टपूर्जा जोडेर बनाइने) भवनको भुइँ सतह नमिलेकाले आयातित सामग्री बगरमा झारेर मूल्याङ्कन गर्नुपर्ने बाध्यता रहेको भन्सार जाँचका खटिने कर्मचारीको भनाइ छ ।

उनीहरूले मर्मत तथा पुनःसंरचना कार्य पुनरावलोकन गर्न सरोकार भएका निकायलाई आग्रह गरेका छन् ।

टिमुरे सुक्खा बन्दरगाहको सफाइ आंशिक भए पनि पूर्ण रूपमा सञ्चालन योग्य बन्न सकेको छैन ।

बन्दरगाह सञ्चालन तथा मर्मतको जिम्मेवारी पाएको नेपाल इन्टरमोडल प्रालिले पर्याप्त सफाइ गर्न नसक्दा केरूङबाट आएका कन्टेनर व्यवस्थापनमा समस्या भइरहेको भन्सार कार्यालयका सूचना अधिकारी गौतमले जानकारी दिए ।

नेपाल इन्टरमोडलका इञ्जिनियर शोभाकान्त राउतका अनुसार बाढीले पु¥याएको क्षति पूर्णरूपमा हटाउन नसकिए पनि केही सहजता ल्याउने काम गरिएको छ ।

बाढीबाट क्षति नभएर बाँकी रहेका संरचना यथावत् राख्न निर्माण कम्पनी चिनियाँ तिब्बत फुल्लीले सहमति दिनुपर्ने भएकाले प्रिफ्याब संरचनामा परिवर्तन गर्न नसकिएको उनले बताए ।

राउतका अनुसार बन्दरगाह प्रवेश तथा प्रस्थान मार्ग सुधार, बगर हटाउनेलगायत काममा करिब २० लाख खर्च गरी अस्थायी व्यवस्थापन गरिएको छ ।

‘रसुवामा हिमाली भेगबाट आउने आकस्मिक बाढी नयाँ विषय भने होइन । अघिल्ला वर्षहरूमा पनि भोटेकोशी तथा सहायक खोलामा आएका बाढीले नाका र व्यापारिक संरचना प्रभावित बनाउँदै आएको इतिहास छ । तर गत असारमा ल्हेन्देखोलाबाट आएको बाढी पछिल्ला वर्षकै सबैभन्दा विनाशकारी मानिएको छ’, भन्सार कार्यालयका सूचना अधिकारी गौतमले भने ।

जिल्ला विपद् व्यवस्थापन समितिसँग भएको तथ्याङ्कअनुसार उक्त बाढीले भन्सार यार्डमा मात्रै ९१ करोड २० लाख ९४ हजार २५९ रुपैयाँबराबरको क्षति पु¥याएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए ।

यसैबीच, भन्सार जाँच पास सुस भएसँगै नेपाल-चीन व्यापार पुनः चलायमान हुने, स्थानीय बजारमा उपभोग्य वस्तुको आपूर्ति सहज बन्ने तथा सरकारी राजस्व वृद्धि हुने अपेक्षा गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए ।

यहाँस्थित यार्डलाई सहज र व्यवस्थित बनाउन पहल भइरहेको उनले उल्लेख गरे ।

गत असार २४ गतेको बाढीले अवरोध गरेको भन्सार यार्डको दीर्घकालीन समाधानका लागि पूर्वाधारको पुनःनिर्माण आवश्यक रहेको सरोकार भएका निकायका प्रतिनिधिले बताउँदै आएका छन् ।