
एजेन्सी । इरान युद्धले स्वच्छ ऊर्जातर्फको संक्रमणलाई थप गति दिएको देखिन्छ । यसले वायु ऊर्जा क्षेत्रका ठूला कम्पनीहरूका लागि एक उत्प्रेरकको काम गरेको छ किनभने विभिन्न देशहरूले ऊर्जा सुरक्षा सुनिश्चित गर्न नवीकरणीय ऊर्जाको भूमिकालाई पुनः मूल्यांकन गरिरहेका छन् ।
डेनमार्कको विन्ड टर्बाइन निर्माता भेस्टासले बढ्दो राजनीतिक अनिश्चितताका बावजुद आफ्नो स्थलगत र तटभन्दा टाढा (अफशोर) व्यवसायहरूको सुधारिएको कार्यसम्पादनका कारण बुधबार पहिलो त्रैमासिकमा सोचेभन्दा ठूलो नाफा वृद्धि सार्वजनिक गरेको छ ।
डेनिस उपयोगिता (युटिलिटी) कम्पनी ओर्स्टेडले पनि वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा बढी नाफा आर्जन गरेको छ जबकि मुख्यतया तेल र ग्यास क्षेत्रको दिग्गज कम्पनी नर्वेको इक्विनोरले सीएनबीसीलाई पश्चिम एसिया संकटले आफ्नो स्वच्छ प्रविधि विभागको प्रतिफलमा बढोत्तरी ल्याउने बताएको छ ।
इक्विनोरका प्रमुख वित्तीय अधिकृत टोरग्रिम रेटानले इरान युद्धका बीच ऊर्जा संक्रमणका मुख्य चालकहरू स्पष्ट रूपमा परिवर्तन भएको बताएका छन् । उनका अनुसार, अबको ध्यान डिकार्बोनाइजेसन (कार्बन उत्सर्जन घटाउने) बाट सरेर ऊर्जा सुरक्षा, आत्मनिर्भरता र स्वतन्त्रता जस्ता मुद्दाहरूमा केन्द्रित भएको छ ।
‘युरोपमा हामीले यसको पछाडि स्पष्ट रूपमा ठूलो उत्साह देखेका छौं,’ रेटानले सीएनबीसीको युरोप अर्ली एडिसनलाई बताए ।
बुधबार तीन वर्षयताकै सबैभन्दा बलियो त्रैमासिक नाफा सार्वजनिक गरेको इक्विनोरका अमेरिका, पोल्यान्ड र बेलायतमा तीनवटा ठूला अफशोर वायु ऊर्जा आयोजनाहरू छन् । बेलायतको आयोजना उत्पादन सुरु भएपछि विश्वकै सबैभन्दा ठूलो अफशोर विन्ड फार्म बन्नेछ ।
फेब्रुअरी २८ मा इरानविरुद्ध अमेरिका र इजरायल नेतृत्वको युद्ध सुरु भएदेखि जीवाश्म इन्धनको मूल्य आकाशिँदा यो तेल र ग्यास दिग्गज कम्पनीले पनि आफ्ना प्रतिद्वन्द्वीहरू जस्तै पहिलो त्रैमासिकमा निकै राम्रो नतिजा ल्याएको छ ।
इरान युद्धको ऊर्जा झड्काका कारण देशहरूले स्वच्छ ऊर्जा स्रोतहरूमा अझ बढी लगानी गर्ने विश्लेषकहरूको अपेक्षा छ । यस प्रवृत्तिले हरित प्रविधिमा संलग्न कम्पनीहरूलाई फाइदा पुर्याउनेछ ।
‘हाल निर्माणाधीन आयोजनाहरू सम्पन्न गर्ने हाम्रो प्राथमिकता हो र त्यसभन्दा बाहिर हामीले लगानी गर्नका लागि त्यस व्यवसायबाट उल्लेख्य प्रतिफल देख्नुपर्ने हुन्छ । तर, हामीलाई विश्वास छ कि अहिले जे भइरहेको छ, त्यसले वास्तवमा संक्रमणकालीन उद्योगहरूको प्रतिफलमा सहयोग पुर्याउनेछ,’ इक्विनोरका रेटानले भने ।
डेनमार्कको ओर्स्टेडले पश्चिम एसियाका घटनाहरूले युरोपको ऊर्जा संक्रमणलाई तीव्रता दिनुपर्ने आवश्यकतालाई पुनः पुष्टि गरेको बताउँदै यस परिवर्तनमा विशेषगरी अफशोर वायु ऊर्जाको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरेको छ ।
‘विश्वमा जे भइरहेको छ त्यसलाई हेर्दा युरोपमा नवीकरणीय ऊर्जातर्फको संक्रमणको गति बढाउनुपर्ने पर्याप्त कारण छ । युरोपले हरेक हप्ता जीवाश्म इन्धन आयातमा अर्बौं खर्च गरिरहेको छ तर यो सधैं यस्तै हुनुपर्छ भन्ने छैन,’ ओर्स्टेडका सीईओ रास्मस एरबोले एक विज्ञप्तिमा भनेका छन् ।
उनले थपे, ‘अफशोर वायु ऊर्जा र अन्य नवीकरणीय स्रोतहरूले सुरक्षित र हरित ऊर्जा प्रदान गर्न सक्छन् र ठूलो स्तरमा लागू गर्दा घरधुरी र व्यवसायहरूका लागि कुल प्रणालीगत लागत उल्लेख्य रूपमा घटाउन सक्छन् ।’
पछिल्ला वर्षहरूमा बढ्दो लागत र आपूर्ति श्रृंखला अवरोधका कारण संघर्ष गरिरहेको ओर्स्टेडले ह्वाइट हाउसबाट अमेरिकी वायु ऊर्जाप्रति भएको विरोधका कारण आफ्ना युरोपेली व्यवसायहरूलाई अझ सशक्त बनाउन लागेको छ ।
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले वायु ऊर्जाको मजाक उडाउने पुरानो इतिहास छ । यसै वर्षको सुरुमा विश्व आर्थिक मञ्चमा उनले वायु टर्बाइनहरूले जमिन नष्ट गर्ने र घाटा पुर्याउने दाबी गर्दै युरोपेली संघको ऊर्जा नीतिको आलोचना गरेका थिए ।
युरोपेली संघका जलवायु आयुक्त वोपके होएकस्ट्राले त्यस समयमा ट्रम्पको आलोचनालाई केही नयाँ कुरा नभएको भन्दै खारेज गरिदिएका थिए र जीवाश्म इन्धनबाट टाढा जाने संक्रमणमा यस क्षेत्रको मौलिक रूपमै फरक दृष्टिकोण रहेको बताएका थिए ।
भेस्टासका सीईओ हेनरिक एन्डर्सनले बुधबार सन् २०१८ यताकै कम्पनीको उत्कृष्ट पहिलो त्रैमासिक आम्दानीको स्वागत गर्दै यो अपेक्षाभन्दा राम्रो नतिजाले वर्षको बाँकी समयका लागि राम्रो संकेत गरेको बताए ।
‘हामी केही महिना अघि सोचेको भन्दा धेरै राम्रो स्थितिमा छौं,’ एन्डर्सनले ग्रिडको विद्युतीकरणका फाइदाहरू माथि प्रकाश पार्नुअघि सीएनबीसीको स्कक बक्स युरोपलाई भने ।
एआईको विकासमा नवीकरणीय ऊर्जाले कसरी सहयोग पुर्याउन सक्छ भन्ने विषयमा छलफल गर्न कम्पनीले डेटा सेन्टर निर्माणकर्ताहरूसँग भेटिरहेको छ कि छैन भनेर सोधिएको प्रश्नमा, भेस्टासका सीईओले आफू सप्ताहान्तमा अमेरिका भ्रमणमा जान लागेको र स्वाभाविक रूपमा त्यो भ्रमणको एक हिस्सा यो पनि रहने बताए ।
ट्रम्पप्रति लक्षित गर्दै एन्डर्सनले भने, ‘संसारको कुनै एक व्यक्तिको वास्तविकताप्रति सायद गलत धारणा छ भन्दैमा त्यसले बाँकी समुदायलाई यस मार्गबाट विचलित गराउँदैन । त्यसैले, कामहरू सुचारु रूपमा अघि बढिरहनेछन् ।’
हालैका भूराजनीतिक तनावले नवीकरणीय ऊर्जाको लगानी चक्रलाई उल्लेख्य रूपमा तीव्रता दिन सक्छ भन्ने कुरामा सबैजना विश्वस्त छैनन् ।
‘समग्रमा ऊर्जा सुरक्षाका चिन्ताहरूले नवीकरणीय ऊर्जाको दीर्घकालीन पक्षलाई बलियो बनाउन सके पनि इरान द्वन्द्वले अल्पकालीन रूपमा नै आधारभूत परिवर्तन ल्याइरहेको छ भन्ने सीमित प्रमाण मात्र हामीले देखेका छौं,’ मर्निङस्टारका वरिष्ठ इक्विटी विश्लेषक टान्क्रेडे फुलपले सीएनबीसीलाई इमेलमार्फत भने ।
उनले थपे, ‘यी दुईमध्ये नवीकरणीय ऊर्जा विस्तारमा आउने कुनै पनि तीव्रताबाट लाभ उठाउन भेस्टास बढी राम्रो स्थितिमा देखिन्छ जबकि ओर्स्टेड भने आफ्ना हालका आयोजनाहरूको कार्यान्वयनमा बढी केन्द्रित छ ।’








प्रतिक्रिया