एफएनसीसीआई निर्वाचन: वेटिङ अध्यक्षको टिमले ८०% जित्यो, सिटिङ अध्यक्षको टिम कमजोर



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६० औं वार्षिक साधारण सभाले आगामी ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ ।

विधानको व्यवस्था अनुसार बरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने व्यवस्थाअनुसार आगामी कार्यकालको लागि बरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले नयाँ कार्यसमितिको अध्यक्ष चयन भएका छन् । तर, वर्तमान कार्यसमितिको नेतृत्वमा भएको विधान संशोधन
अनुसार आगामी कार्यकालदेखि भने बरिष्ठ उपाध्यक्ष नै स्वत: अध्यक्ष हुने व्यवस्था खारेज भइसकेको छ । अब हुने महासंघको निर्वाचनले भने अध्यक्षसहितको सबै पदाधिकारी निर्वाचित गर्नेछ ।

विधानको संशोधित व्यवस्थाअनुसार बरिष्ठ उपाध्यक्षमा भने यही पटकदेखि निर्वाचित कार्यसमितिले चयन गर्ने व्यवस्था भएको छ। महासंघको मंगलबार सम्पन्न निर्वाचनको बुधबार सार्वजनिक भएको अन्तिम मतपरिणाम ले ४ उपाधयक्षसहित कार्यकारिणी सदस्यहरु चयन गरेको हो ।

महासंघको निवार्चनमा बहालवाला अध्यक्ष चन्द्र प्रसाद ढकालको समर्थनमा वस्तुगत तर्फका उपाध्यक्ष हेमराज ढकाल बरिष्ठ उपाध्यक्षको उमेदवार हुनेगरी प्यानल नै बनाएर निर्वाचनमा होमिएका थिए । यस्तै बहालवाला बरिष्ठ उपाध्यक्ष तथा नयाँ कार्यसमितिमा स्वत: अध्यक्ष हुने अञ्जन श्रेष्ठको समर्थनमा जिल्लानगर तर्फका उपाध्यक्षलाई बरिष्ठ उपाध्यक्ष घोषणा गर्दै प्यानलै बनाएर चुनावमा होमिएका थिए ।

यसरी आउटगोइङ अध्यक्ष र वेटिङ अध्यक्षले गुट नै बनाएर चुनावमा होमिएको भन्दै महासंघलाई वास्तवमा मायाँ गर्नेहरु भने नेतृत्व तहबाटै गुटगत राजनीतिलाई संस्थागत गरेको भन्दै असन्तुष्ट थिए ।

नयाँ निर्वाचित कार्यासमितिले नै बरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष निर्वाचित गर्ने भएकाले ढकाल र श्रेष्ठले आफ्नो समूह (गुट) जिताउन जोडतोडका साथ लागि परेका थिए ।

महासंघको जिल्ला नगरतर्फ केन्द्रिय कार्यकारिणी सदस्यमा अञ्जन श्रेष्ठले समर्थन गरेको दिलसुन्दर श्रेष्ठ र कृष्ण प्रसाद शर्माको समुहले ७५ प्रतिशत जित निकालेका छन् । त्यस्तै उपाध्यक्ष हारेको वस्तुगत समुहमा अञ्जन समूहका उम्मेद्वार शिवप्रसाद घिमिरेले हार व्यहोरे पनि करिब ६० प्रतिशत केन्द्रिय कार्यकारिणी सदस्य जितेका छन् ।

त्यस्तै एसोसिएटतर्फ भने केन्द्रिय कार्यकारिणी सदस्यमा बटु लामिछानेबाहेक सबै अञ्जन श्रेष्ठको समर्थन रहेको प्रवलजंग पाण्डे समूहले जितेको छ । अध्यक्ष चन्द्र ढकालले अर्को समूहलाई समर्थन गरे पनि एसोसिएटतर्फको केन्द्रिय कार्यकारिणी सदस्यमा उनका छोरा सचिन ढकाल भने दुबै समुहमा थिए । सचिन सबैभन्दा बढी अर्थात् १३१८ मतसहित ‘म्यान अफ दि इलेक्सन’ भए । एसोसिएटमा अञ्जन श्रेष्ठको समर्थन रहेको समुहका करिब ९५ प्रतिशत बिजयी भएका छन् ।


जिल्लानगर, वस्तुगत र एसोसिएट तीनवटै क्षेत्रमा बहुमत कार्यकारिणी सदस्य जितेकोले बरिष्ठ उपाध्यक्ष पनि अञ्जन श्रेष्ठको समूहबाट नै निर्वाचित हुने निश्चित जस्तै देखिएको छ । उक्त समुहले बरिष्ठ उपाध्यक्षमा हालका जिल्ला नगर उपाध्यक्ष सुरकृष्ण वैद्यलाई अघि बढाएको छ ।

जिल्ला नगरमा को को को निर्वाचित भए ?

महासंघको जिल्ला नगर उपाध्यक्षमा सिद्धार्थ उद्योग वाणिज्य संघका कृष्ण प्रसाद शर्मा र धुलिखेल उद्योग वाणिज्य संघका दिल सुन्दर श्रेष्ठ विजयी निर्वाचित भएका छन् । कृष्ण प्रसाद शर्मा ८७ र दिल सुन्दर श्रेष्ठ ८० मत सहित निर्वाचित हुँदा उमेश डालमियाले ५७ मत कल्पना गैरले ३४ मत मात्रै प्राप्त गरिन् । बहालवाला बरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको समर्थन रहेको समूहबाट श्रेष्ठ र शर्मा निर्वाचिन हुँदा बहालवाला अध्यक्ष चन्द्र ढकालको समर्थन रहेको समूहका दाचुला उद्योग वाणिज्य संघकी प्रतिनिधि कल्पना गैरे र झापा उद्योग वाणिज्य संघका प्रतिनिधि उमेश डालमीया पराजित भएका हुन् ।

जिल्ला नगरतर्फको कार्यकारीणी सदस्यमामा पनि कृष्ण प्रसाद शर्मा र दिल सुन्दर श्रेष्ठ समुहकै बाहुल्यता रहेको छ ।
जिल्ला नगरतर्फको कार्यकारीणी सदस्यमा खुलातर्फ अर्जुन कुमार श्रेष्ठ, उज्ज्वल प्रसाद कसजु, केशव प्रसाद भण्डारी, कृष्ण कटुवाल, गोकुल श्रेष्ठ, छत्रधर आत्रेय, तारा बहादुर कार्की, दीपक नेपाल, प्रयास कार्की, मोहन प्रसाद श्रेष्ठ, लक्ष्मणराज पौडेल, शंकर गिरी, सन्तोष खड्का, सुदर्शन कार्की र हरिप्रसाद अर्याल निर्वाचित भएका छन् ।

यस्तै जिल्ला नगरतर्फ गीता अमात्य र हिरा भट्टराई निर्वाचित भएका छन् । प्रदेशगत सदस्यहरूबाट कोशीबाट जीवन पराजुली र रमेश विश्वकर्मा, मधेशबाट अमर नाथ शाह र विकास कुमार सारडा, बागमतीबाट प्रकाश मानन्धर र सविन श्रेष्ठ, गण्डकीबाट पविन्द्रा कुमार श्रेष्ठ र सुविन श्रेष्ठ, लुम्बिनीबाट यज्ञ प्रसाद भट्टराई र बाल कृष्ण सुवेदी निर्वाचित भएका हुन् ।

त्यस्तै कर्णालीबाट पदम बहादुर शाही र पुरीचन्द्र देवकोटा निर्बिरोध निर्वाचित हुँदा सुदूरपश्चिमबाट पिताम्बर जोशी निर्वाचित भएका छन्। यस्तै दानबहादुर सुर्मेली र पिताम्बर जोशीले समान ७ मत ल्याएका हुन् ।

वस्तुगतमा को को निर्वाचित भए ?

महासंघको वस्तुगत उपाध्यक्ष नेपाल एलपी ग्यास उद्योग संघका प्रतिनिधि शिवप्रसाद घिमिरेलाई पराजित गर्दै नेपाल निर्यात परिषद्का नरेशलाल श्रेष्ठ निर्वाचित भएका छन् । घिमिरेले ६० मत प्राप्त गर्दा विजयी भएका श्रेष्ठले ६३ मत प्राप्त गरेका हुन् । शिव प्रसाद घिमिरे अञ्जन श्रेष्ठले सर्मथन गरेको समुहको नेतृत्व गर्दै चुनावी प्रतिस्पर्धामा थिए भने श्रेष्ठ चन्द्र प्रसाद ढकालले समर्थन गरेको टिमको नेतृत्व सहित हालका उपाध्ष्क्ष हेमराज ढकाललाई बरिष्ठ उपाध्यक्ष बनाउन गरी नरेशलाल श्रेष्ठ चुनावी प्रतिस्पर्धामा थिए ।

वस्तुगत समूह केन्द्रिय कार्यकारिणी सदस्यमा खुलातर्फ अरनिको राजभण्डारी, नानीराज घिमिरे, पशुपति देव पाण्डे, विदुर धमला, भक्त बहादुर हमाल, रविन पुरी, राज कुमार कार्की (राजु), लिलेन्द्र प्रसाद प्रधान, संघर्ष विष्ट, सागर ढकाल र होम प्रसाद घिमिरे निर्वाचित भएका छन् । १३ जना निर्वाचित हुने यस समुहमा ११ जना स्पस्ट रुपमा निर्वाचित हुँदा ४ जनाको समान ५० मत आएको थियो । ५० मत प्राप्त गर्ने निराजन बहादुर चलाउने, रघुनन्दन मारु, विप्लव अधिकारी र सुरज बन्जाडेले समान डेढ डेढ वर्षको कार्यकाल केन्द्रिय कार्यकारीणी सदस्य रहेन गरी निर्वाचन परिणाम सार्वजनिक भएको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ ।

वस्तुगत तर्फ केन्द्रिय कार्यकारिणी सदस्यमा निर्वाचित भएकामध्ये अरनिको राजभण्डारी, नानीराज घिमिरे, रविन पुरी, राज कुमार कार्की (राजु), संघर्ष विष्ट र होम प्रसाद घिमिरे शिव प्रसाद घिमिरे समुहका हुन् ।

यस्तै पशुपतिदेव पाण्डे, विदुर धमला, भक्त बहादुर हमाल, लिलेन्द्र प्रसाद प्रधान र सागर ढकाल नरेशलाल श्रेष्ठ समुहका हुन् । ५० मत प्राप्त गर्नेमा रघुनन्दन मारु शिव प्रसाद घिमिरे समुहका हुन् भने अन्य ३ जना नरेशलाल श्रेष्ठ समुहका हुन् ।

वस्तुगत समूह केन्द्रिय कार्यकारिणी महिला सदस्यमा नेपाल कृषि मेशिनरी व्यवसायि संघको प्रतिनीधि सुनिता न्हेम्हाफुकीले कमला श्रेष्ठलाई पराजित गर्दै निर्वाचित भएकी छन् । बस्तुगत समूह केन्द्रिय कार्यकारिणी महिला सदस्यमा निर्वाचित सुनिता न्हेम्हाफुकी शिव प्रसाद घिमिरे समुहकी हुन् ।

कार्यकारीणी सदस्यतर्फ वस्तुगत महासंघ कोटामा ढुुवानी व्यवसायी महासंघ नेपालका विश्वनाथ खनाल र कम्प्युटर एशोसिएसन नेपाल महासंघबाट सुनैना घिमिरे निर्वाचित भएका छन् । नेपाल ईटा उद्योग महासंघका कृष्ण प्रसाद अवाल र नेपाल केवल टेलिभिजन महासंघका सुधिर पराजुलीलाई पराजित गर्दै खनाल र घिमिरे निर्वाचित भएका हुन् । बस्तुगत महासंघतर्फ निर्वाचित भएका विश्वनाथ खनाल घिमिरे समुहका हुन् भने सुनैना घिमिरे नरेशलाल श्रेष्ठ समुहका हुन् ।

एसोसिएटतर्फ को को भए निर्वाचित ?

महासंघको एसोसिएट उपाध्यक्षमा लोमस फर्मास्युटिकल्सका प्रवल जंग पाण्डे भारी मतका साथ निर्वाचित भएका छन् । वर्तमान कार्यसमितिको उपाध्यक्ष समेत रहेकी जोत्सना श्रेष्ठ सुब्बालाई पराजित गर्दै पाण्डे निर्वाचित भएका हुन् । पाण्डेले १ हजार ७९ मत प्राप्त गर्दा श्रेष्ठले ७५० मत प्राप्त गरेकी छन् । निर्वाचित भएका प्रवल जंग पाण्डे शिव घिमिरे समूहका हुन् भने जोत्सना श्रेष्ठ हेमराज ढकाल समुहकी हुन् ।

एसोसिएट समूहको केन्द्रीय कार्यकारिणी सदस्यहरूमा अम्बिका प्रसाद पौडेल, ईश्वर बहादुर जिसी, उज्ज्वल कुमार श्रेष्ठ, ऋषि अग्रवाल, कृष्ण लाल महर्जन, दिवश न्यौपाने, प्रियराज रेग्मी, बटु लामिछाने, बाबु काजी कार्की, राजेश कुमार अग्रवाल, रामशरण भण्डारी, शक्ति कुमार वेगानी, सचिन ढकाल, सुयस प्याकुरेल, सुरज उप्रेती, सुशील थापा र हेमन्त गोल्छा निर्वाचित भएका छन्। सचिन ढकाल भने प्रवल जंग पाण्डे र जोत्सना श्रेष्ठ दुबै समुहमा थिए ।

एसोसिएट महिला कार्यकारिणी सदस्यतर्फ अभिज्ञा मल्ल र जुना माथेमा निर्वाचित भएका छन् । उनिहरुले जमुना पौडेल र शोभा ज्ञवालीलाई पराजित गर्दै निर्वाचित भएका हुन् । एसोसिएट समूहको केन्द्रीय कार्यकारिणी सदस्यमा निर्वाचित भएकामध्ये बटु लामिछाने जोत्सना श्रेष्ठ समुहका हुन् भने अन्य १६ जना नै प्रवलजंग पाण्डे समुहका हुन् । एसोसिएट महिला कार्यकारिणी सदस्यतर्फ निर्वाचित भएका अभिज्ञा मल्ल र जुना माथेमा पनि पाण्डे समूहका हुन् ।

यस्तै महासंघको द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट मनोज पौडेल र संस्थापक सदस्य समूहबाट गोपाल श्रेष्ठ र सुमन कुमार श्रेष्ठ केन्द्रिय कार्यकारिणी सदस्यमा निर्वाचित भएका छन्। मनोज पौडेल सन्तोष चन्द्र कुँवरलाई पराजित गर्दै निर्वाचित हुँदा श्रेष्ठद्धय टिकाराज ढकाललाई पराजित गर्दै निर्वाचित भएका हुन् । मनोज पौडेल चन्द्र प्रसाद ढकालको समर्थन रहेको हेमराज ढकाल समूहका हुन् ।

Skip This