सल्यान प्रहरी परिसरमै ८६ बम फेला, निष्क्रिय पारिदैं

217
Shares

सल्यान । जिल्ला प्रहरी कार्यालय सल्यानको परिसरभित्र ठूलो संख्यामा बम बरामद भएको छ ।

उक्त कार्यालयको भवन निर्माणका लागि जग खन्ने क्रममा जमिनमुनि ८६ वटा बम फेला परेको हो ।

शारदा नगरपालिका–३ स्थित प्रहरी कार्यालय क्षेत्रमा प्रारम्भमा शंकास्पद वस्तु देखिएपछि बुधबारदेखि उत्खनन सुरु गरिएको थियो।

सो क्रममा शनिबार बिहानसम्म कूल ८६ वटा बम बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार फेला परेकामध्ये ८२ वटा सकेट बम, ३ वटा सुतली बम र १ वटा बोतल बम रहेका छन्।

साथै उत्खननकै क्रममा रेडियो वेभ उपकरण ७ थान, करिब ५०० ग्राम विस्फोटक पदार्थ, झण्डै २ केजी बम बनाउन प्रयोग हुने सामग्री तथा १० मिटर फायरिङ केबल समेत बरामद भएको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक डा हेमबहादुर केसीले घटनापछि सुरक्षाकर्मीलाई उच्च सतर्कतामा राखिएको जानकारी दिएका छन्।

प्रारम्भिक अनुसन्धानपछि नेपाली सेनासँग समन्वय गरी थप जनशक्ति परिचालन गरिएको थियो।

उपसेनानी कृष्ण क्षेत्रीको नेतृत्वमा सेनाको टोली घटनास्थलमा पुगेको थियो भने दाङस्थित नं १९ बाहिनीबाट बम डिस्पोजल टोली समेत बोलाइएको छ।

विभिन्न गणका इन्जिनियर टोलीले पनि स्थलमै खटिएर थप उत्खनन तथा व्यवस्थापन कार्य गरिरहेका छन्।

हालसम्म फेला परेका सबै विस्फोटक सामग्रीलाई सुरक्षित रूपमा निष्क्रिय पार्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान जारी रहेको छ।

Skip This