विराटनगरमा अन्तर्राष्ट्रिय ब्रान्डको पहिलो पाँचतारे होटल खुल्यो, २ अर्ब लगानी


विराटनगर । औद्योगिक नगर विराटनगरमा अन्तर्राष्ट्रिय ब्रान्डको पहिलो पाँचतारे ‘लेमन ट्री प्रिमियर’ होटल औपचारिक रूपमा सञ्चालनमा आएको छ ।

होटलको बिहीबार सफ्ट ओपनिङ भएको छ । यसले शुक्रबारदेखि व्यावसायिक कारोबार सुरु गर्ने बताइएको छ । यो होटलको सम्पूर्ण व्यवस्थापन भारतको दिल्लीमा रहेको मुख्यालय ‘लेमन ट्री प्रिमियर’ ले गर्नेछ।

विराटनगर–५ भृकुटी चोकमा करिब ७ कठ्ठा जमिनमा चार युवा उद्यमी मनोजविक्रम शाह, कविन श्रेष्ठ, विकास चौधरी र प्रशान्त तातेडको करिब दुई अर्ब लगानीमा अन्तर्राष्ट्रिय ब्रान्डको यो होटल सञ्चालनमा आएको हो ।

भारतको दिल्लीमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय ब्रान्डको ‘लेमन ट्री प्रिमियर’ होटल नेपालको हकमा दोस्रो हो । काठमाडौंको बुढानीलकण्ठमा यसको फ्रेन्चाइजी छ ।

नेपालसहित भारत, भुटान, युएई र दुबईमा गरेर यो ब्रान्डका २२६ वटा होटल सञ्चालनमा छन् ।

होटलमा ८० वटा शयनकक्ष छन् । त्यसमध्ये एक प्रेसिडेन्सियल सुइट रुम र ८ वटा सुइट रुम छन् । त्यस्तै ६६ वटा डिलक्स रुम र ५ वटा सुपर डिलक्स रुम छन् ।

होटलमा क्यासिनो सञ्चालन प्रक्रियामा रहेको सञ्चालक मनोजविक्रम शाहले बताए ।

बेसमेन्टसहित ८ वटा तला भएको होटलमा २ हजार जना अटाउने ५ हजार वर्गफिटको ब्याङ्क्वेट हल छ । गन्तव्य विवाह (डेस्टिनेसन म्यारिज)का लागि पनि विराटनगरको लेमन ट्री प्रिमियर उपयुक्त थलो बन्ने सञ्चालक शाहको अपेक्षा छ ।

त्यस्तै रुफटप स्विमिङ पुलसहित एउटा तला नै स्पा, सोना बाथ आदिका लागि छुट्याइएको छ । होटलमा तीन वटा छुट्टाछुट्टै रेस्टुरेन्ट सञ्चालनमा छन् । जसमा एक सिट्रस क्याफे हुनेछ भने अपराह्नपछि खुला गर्ने गरी लाउन्ज बार चलाइनेछ ।

त्यस्तै अर्को रेस्टुरेन्ट अल डे डाइनिङ (एडीडी)–का रूपमा २४सै घण्टा सञ्चालन गरिनेछ ।

यो होटलमा एकरात बस्दा ब्रेकफास्टसहित कम्तीमा ७ हजारदेखि बढीमा २२ हजार रुपैयाँसम्म लाग्ने होटलका प्रबन्ध निर्देशक सञ्जय झाले जानकारी दिए । उनी होटलको व्यवस्थापन हेर्न दिल्लीबाट यहाँ आएका हुन् । होटलमा झण्डै ८० जनाले रोजगारी पाएका छन् ।

कोशी प्रदेशको राजधानी समेत रहेको विराटनगरमा अहिलेसम्म पाँचतारे होटल सञ्चालनमा आएका थिएनन् । लेमन ट्री पाँचतारे होटल पहिलो हो । यहाँ भाटभटेनी समूहको सेन्चुरी, विजय चौधरी समूहको एक्सिस, प्रकाश गौतमको किङ्ग्सवेरी र शिवम समूहको पाँचतारे होटल सञ्चालनको पाइपलाइनमा छन् ।

केही समय पहिले सुनसरीको इटहरीमा करिब दुई अर्बको लगानीमा अन्तर्राष्ट्रियस्तरको होटल ‘रमडा बाई विन्डम इटहरी’ सञ्चालनमा आएको छ ।

विश्वको सबैभन्दा ठूलो होटल फ्रेन्चाइज समूहमध्येको अमेरिकी चेन होटल ब्रान्ड विन्डम होटल्स एन्ड रिसोर्टस् अन्तर्गतको लोकप्रिय मिड–स्केल ब्रान्ड ‘रमडा’ कोशी प्रदेशमा पहिलो पटक भित्रिएको हो ।

हाल कोशी प्रदेशमा झापा बिर्तामोडमा किङ्ग्सवेरी, काँकडभिट्टामा मेची क्राउन र सुनसरीको इटहरीमा सोल्टी क्राउन पाँचतारे होटल सञ्चालनमा छन् ।

प्रदेश होटल व्यवसायी संघका अध्यक्ष राजन श्रेष्ठका अनुसार विराटनगरमा प्रकाश गौतमको किङ्ग्सवेरी, विजयकुमार चौधरीको एक्सिस र उद्योगी तथा नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउत अध्यक्ष रहेको शिवम् अर्गनाइजेशन समूहको पाँचतारे होटल निर्माण हुने क्रममा छन् ।

त्यसैगरी झापामा मेडिकल व्यवसायी दुर्गा प्रसाईँको एजीएम र धनकुटाको भेडेटारमा विराटनगरको होटल एशियाटिकले पाँचतारे होटल निर्माण सुरु गरेको छ ।

झापाको बिर्तामोडमा प्रकाश गौतमको स्वामित्वमा रहेको किङ्ग्सवेरी होटल क्यासिनो व्यवसायी रवि धिताललाई करिब २ अर्बमा बिक्री गरेर गौतमले विराटनगरको बसपार्कमा किङ्ग्सवेरी होटल निर्माण गर्दैछन् ।