
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा पहिलो अन्तर्राष्ट्रिय ब्रान्डको पाँचतारे होटल सञ्चालन हुँदै छ।
औद्योगिक राजधानीको नामले समेत चिनिने विराटनगरमा यहाँका चार युवा उद्यमीले करिब दुई अर्ब रुपैयाँको लगानीमा भारतको नयाँ दिल्लीमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय ब्रान्डको ‘लेमन ट्री प्रिमियर’ होटल सञ्चालनमा ल्याउन लागेका हुन् ।
विराटनगरमा सञ्चालन हुने लेमन ट्री ब्रान्डको यो होटल नेपालमा दोस्रो हो । नेपाल, भारत, भुटान, युएई र दुबईमा गरेर यो ब्रान्डका २२६ वटा होटल सञ्चालनमा छन् ।
विराटनगर-५, भृकुटी चोकमा ७ कठ्ठा जमिनमा निर्माण गरिएको यो होटलमा युवा उद्यमीहरू मनोजविक्रम शाह, कविन श्रेष्ठ, विकास चौधरी र प्रशान्त तातेडको करिब दुई अर्ब लगानी रहेको सञ्चालक मध्येका मनोजविक्रमले बताए ।
उनका अनुसार यो होटल चैत दोस्रो सातासम्ममा सञ्चालनमा आउने छ।
होटलको ‘सफ्ट ओपेनिङ’ आगामी चैत दोस्रो सातासम्ममा गरेर नयाँ वर्षमा ‘ग्रान्ड ओपेनिङ’ गर्ने लक्ष्य छ । यो होटलको व्यवस्थापन लेमन ट्रीकै कम्पनीले सम्हाल्ने बताइएको छ ।
भारतमा मुख्यालय भएको लेमन ट्री हस्पिटालिटी क्षेत्रको बहुराष्ट्रिय कम्पनी हो । यसको व्यवस्थापनमा नेपाल, भारत, भुटान, दुबई र युएईमा गरी २२६ वटा होटल सञ्चालनमा छन् ।
होटलको सफ्ट ओपेनिङपछि पाँचतारे स्तरको स्वीकृतिका लागि प्रक्रिया सुरु हुनेछ । पाँचतारेको स्वीकृति नलिई लाइभ क्यासिनो सञ्चालन गर्न मिल्दैन । त्यसैले होटलमा तत्काल क्यासिनो सञ्चालन नहुने सञ्चालकको भनाइ छ।
होटलमा ८० वटा शयनकक्ष छन् । त्यसमध्ये एक प्रेसिडेन्सियल सुइट रुम र ८ वटा सुइट रुम छन् । त्यस्तै ६६ वटा डिलक्स रुम र ५ वटा सुपर डिलक्स रुम छन् ।
बेसमेन्टसहित ८ तला भएको होटलमा २ हजार जना अटाउने ५ हजार वर्गफिटको ब्यांकेट हल छ । गन्तव्य विवाह (डेस्टिनेसन म्यारिज) का लागि पनि विराटनगरको लेमन ट्री प्रिमियर उपयुक्त थलो बन्ने सञ्चालक शाहको अपेक्षा छ ।
त्यस्तै, रुफटप स्विमिङ पुलसहित एउटा तला नै स्पा, साउना बाथ आदिका लागि छुट्याइएको छ । होटलमा तीनवटा छुट्टाछुट्टै रेस्टुरेन्ट सञ्चालनमा आउनेछन् । जसमा एक ‘सिट्रस क्याफे’ हुनेछ भने अपराह्नपछि खुला गर्ने गरी ‘लाउन्ज बार’ चलाइनेछ । त्यस्तै अर्को रेस्टुरेन्ट ‘अल डे डाइनिङ’ (एडिडी) का रूपमा २४ सै घण्टा सञ्चालन गरिनेछ ।
यो होटल कोशी प्रदेशको नमुना होटल हुने शाहले बताए । ‘यस्तो गुणस्तरमा कोशीमा अरू कुनै होटल छैनन् । यो होटलका लागि नेपाल र भारत दुवै मुलुकका पाहुना आउने अपेक्षा गरिएको छ,’ उनले भने, ‘भारतको बिहार, पश्चिम बंगाल र आसामसम्मका पाहुना आउने विश्वास छ।’
कोशी प्रदेशको राजधानी विराटनगरमा अहिलेसम्म पाँचतारे होटल सञ्चालनमा आएका छैनन् । लेमन ट्री पहिलो पाँचतारे होटल हुनेछ । यहाँ भाटभटेनी समूहको सेन्चुरी, विजय चौधरी समूहको एक्सिस, प्रकाश गौतमको किङ्सबेरी र शिवम् समूहका पाँचतारे होटलहरू निर्माणको क्रममा छन् ।
भर्खरै सुनसरीको इटहरीमा करिब दुई अर्बको लगानीमा अन्तर्राष्ट्रिय स्तरको होटल ‘रमडा बाइ विन्डम इटहरी’ सञ्चालनमा आएको छ । विश्वको सबैभन्दा ठूलो होटल फ्रेन्चाइज समूहमध्येको अमेरिकी चेन होटल ब्रान्ड विन्डम होटल्स एन्ड रिसोर्टस् अन्तर्गतको लोकप्रिय मिड-स्केल ब्रान्ड ‘रमडा’ कोशी प्रदेशमा पहिलो पटक भित्रिएको हो।
यसबाहेक हाल कोशी प्रदेशमा झापाको बिर्तामोडमा किङ्सबेरी, काँकडभिट्टामा मेची क्राउन र सुनसरीको इटहरीमा सोल्टी वेस्टेन्ड प्रिमियर जस्ता होटल सञ्चालनमा छन् ।
प्रदेश होटल व्यवसायी संघका अध्यक्ष राजन श्रेष्ठका अनुसार विराटनगरमा प्रकाश गौतमको किङ्सबेरी, विजयकुमार चौधरीको एक्सिस र नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतको लगानी रहेको शिवम् समूहको पाँचतारे होटल निर्माणको क्रममा छन् ।
त्यसैगरी झापामा मेडिकल व्यवसायी दुर्गा प्रसाईंको एजीएम र धनकुटाको भेडेटारमा विराटनगरको होटल एशियाटिकले पाँचतारे होटल निर्माण सुरु गरेका छन् ।
झापाको बिर्तामोडमा प्रकाश गौतमको स्वामित्वमा रहेको किङ्सबेरी होटल क्यासिनो व्यवसायी रवि धिताललाई करिब २ अर्बमा बिक्री गरेर गौतमले विराटनगरमा अर्को किङ्सबेरी होटल निर्माण सुरु गरेका हुन् ।
उनले विराटनगर बसपार्क नजिक पाँचतारे होटल निर्माणका लागि होटल रत्नासँग जोडिएको व्यवसायी दीपक मल्होत्राको ४१ कठ्ठा र साझेदारको नाममा रहेको ७ कठ्ठा गरी कुल ४८ कठ्ठा जमिन गत पुसमा १ अर्ब २५ करोडमा खरिद गरेका थिए ।








प्रतिक्रिया