अर्थतन्त्रमा निजी क्षेत्रको योगदानलाई नजरअन्दाज गर्न मिल्दैन: ढकाल

98
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको योगदानलाई नजरअन्दाज गर्न नमिल्ने बताएका छन् ।

महासंघको ६० औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै ढकालले निजी क्षेत्र नै मुलुकको वास्तविक आर्थिक इन्जिन भएको बताए ।

उनले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा ८१ प्रतिशत र रोजगारी सिर्जनामा ८६ प्रतिशतभन्दा बढी योगदान पुर्‍याउने निजी क्षेत्र नै मुलुकको वास्तविक आर्थिक इन्जिन भएको उल्लेख गरे ।

अध्यक्ष ढकालले पूर्वाधार निर्माणदेखि हरेक सेवा प्रवाहमा निजी क्षेत्रको संलग्नता रहेको चर्चा गर्दै निजी क्षेत्रको अनुपस्थितिमा मुलुकको समृद्धिको कल्पना समेत गर्न नसकिने बताए ।

आफ्नो कार्यकालमा महासंघले नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघसँग मिलेर निजी क्षेत्रका एजेण्डाहरूलाई सामूहिक रूपमा अगाडि बढाएको ढकालको भनाइ छ ।

उनले कालोबजारी ऐन लगायतका पुराना कानूनहरूमा सुधार ल्याउन गरिएको प्रयास र निजी क्षेत्रको साख अभिवृद्धि गर्न ‘निजी क्षेत्र संरक्षण र प्रवद्र्धन योजना’ (पीएसपीपी) पारित हुनुलाई ठूलो उपलब्धि मानेका छन् ।

‘यो योजनाको प्रभावकारी कार्यान्वयन भएमा निजी क्षेत्रले अझ सशक्त रूपमा आर्थिक गतिविधि सञ्चालन गर्न सक्नेछ,’ उनले भने ।

महासंघको आगामी नेतृत्व चयनका सन्दर्भमा बोल्दै अध्यक्ष ढकालले आफूले सर्वसम्मत नेतृत्व चयनका लागि अधिकतम प्रयास गरेको तर त्यो सम्भव हुन नसकेको जानकारी दिए । उनले नयाँ आउने नेतृत्व र टिमले निजी क्षेत्रका अधुरा कामहरूलाई पूर्णता दिनेमा विश्वास व्यक्त गरे ।

उनले भने,’निर्वाचनको प्रतिष्पर्धा भोट हाल्ने दिनसम्म मात्र सीमित हुनुपर्छ । मतदान सकिएपछि सबै पक्ष निजी क्षेत्रका साझा एजेन्डामा एक ठाउँमा उभिनु जरुरी छ ।’