
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले बुक बिल्डिङ विधिमार्फत साधारण सेयर निष्कासन गर्न योग्य संस्थागत लगानीकर्तासँग गोप्य शिलबन्दी आशयपत्र माग गरेको छ ।
कम्पनीले योग्य संस्थागत लगानीकर्ताहरूलाई गोप्य शिलबन्दी आशयपत्र बुझाउन आह्वान गरेको हो । इच्छुक योग्य संस्थागत लगानीकर्ताहरूले आगामी वैशाख २१ गते बेलुका ५ बजेभित्र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आफ्नो शिलबन्दी आशयपत्र बुझाउनुपर्ने छ ।
प्राप्त भएका गोप्य शिलबन्दी आशयपत्रहरू वैशाख २२ गते बेलुका ५:०० बजे नेप्सेकै कार्यालयमा खोलिने सूचनामा उल्लेख छ ।
कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत अर्थात् २० लाख ४१ हजार २०० कित्ता सेयर निष्कासन गर्ने लक्ष्य राखेको छ। जसमध्ये पहिलो चरणमा ४० प्रतिशत अर्थात् ८ लाख १६ हजार ४८० कित्ता साधारण सेयर संस्थागत लगानीकर्ताहरूका लागि छुट्याइएको छ ।
बुक बिल्डिङ निर्देशिका, २०७७ बमोजिम कम्पनीले गत वैशाख ११ गते काठमाडौंको म्यारियट होटलमा रोड-शो कार्यक्रम सम्पन्न गरिसकेको जनाएको छ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड हो । यो प्रक्रिया सकिएपछि प्राप्त आशयपत्रका आधारमा सेयरको ‘कट अफ’ मूल्य निर्धारण गरिने र त्यसपछि सर्वसाधारणका लागि सेयर निष्कासनको बाटो खुल्नेछ।
यससँगै बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्काशन गर्ने यो तेस्रो कम्पनी बनेको छ । यसअघि सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले यस विधिमार्फत आईपीओ निष्काशन गरिसकेका छन् ।





प्रतिक्रिया