
काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले आज (बिहीबार) देखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्दैछ ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ ०.५ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
यस अनुसार कम्पनीले ५३ करोड २७ लाख ८ हजार ५०० रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ ।
हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले चैत १० गते बुकक्लोज गरेको थियो । यस अनुसार चैत ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरूले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा जेठ ६ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै ग्लोबल आइएमई बैंकको बेशीशहर, दोर्दी, भोटेओडार र उदिपुर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सी-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि आस्बा प्रणालीमार्फत तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन् ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ६ करोड ५४ लाख १७ हजार रुपैयाँ रहेको छ । हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ५९ करोड ८१ लाख २५ हजार ५०० रुपैयाँ पुग्नेछ ।
हकप्रद सेयर निष्काशन गरी संकलन भएको रकम कम्पनीले प्राइम कमर्सियल बैंकको अगुवाईमा नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीबाट लिएको सहवित्तीयकरण ऋण रकम भुक्तानी गर्न प्रयोग गर्ने जनाएको छ ।
हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।





प्रतिक्रिया