दीपक-सुलभमाथि बैंकिङ, बिमा र धितोपत्र सम्बन्धी कसुर अनुसन्धान गर्न ३ वटै निकायले पठाए विज्ञ

2.3k
Shares

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले व्यवसायीहरू दीपक भट्ट र सुलभ अग्रवालमाथि विभिन्न ३ वटा कसुरमा अनुसन्धान थालेको छ । यसअघि नै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेकोमा सीआईबीले थप ३ कसुरमा अनुसन्धान सुरु गरेको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले धितोपत्र ऐन सम्बद्ध कसुर र बीमा ऐन सम्बद्ध कसुरमा अनुसन्धान गर्नुपर्ने भन्दै पछिल्लो पटक म्याद थप गरेको थियो । सीआईबीले नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डले गरेको अध्ययन प्रतिवेदनका आधारमा रायसहित थप अनुसन्धानका लागि सिफारिस गरेको प्रतिवेदनलाई आधार बनाएर अनुसन्धान गरिरहेको सीआईबी स्रोतले बताएको छ।

यस्तै राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले पठाएको शंकास्पद कारोबारसम्बन्धी प्रतिवेदन र राष्ट्र बैंकले नै पठाएको कर्जा दुरुपयोगसम्बन्धी प्रतिवेदनका आधारमा सीआईबीले बैंकिङ कसुरसम्बन्धी मुद्दामा समेत अनुसन्धान सुरु गरेको हो ।

‘कर्जा दुरुपयोगमा बैंकिङ कसुरसँगै धितोपत्रसम्बन्धी ऐन अन्तर्गतको कसुर र बीमा ऐन अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ,’ स्रोतले भन्यो, ‘राष्ट्र बैंक, बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डबाट विज्ञ जनशक्ति समेत बोलाएर अनुसन्धान भइरहेको छ ।’ कतिपय प्राविधिक विषयमा आवश्यक सहयोगका लागि तीनवटै निकायबाट प्राविधिक जनशक्ति अनुसन्धान टोलीसँगै रहेको सीआईबीका एक उच्च अधिकारीले बताए ।

धितोपत्रसम्बन्धी ऐन अन्तर्गतको कसुर र बीमा ऐन अन्तर्गतको कसुरमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा नै धेरै प्रमाणहरू खुलिसकेको ती अधिकारीले बताए । विशेष गरी शंकर समूहका विभिन्न कम्पनीमार्फत कर्जा दुरुपयोग गरी विभिन्न व्यक्तिको खातामा भुक्तानी गरेको विषयमा अनुसन्धान भइरहेको स्रोतले बतायो । सीआईबीले शंकर समूहका सबै कम्पनीको बैंक खाताको कारोबार विवरण, ऋणको विवरण र ऋण स्वीकृत गर्दा भएको मूल्यांकन प्रतिवेदन समेत माग गरेर अनुसन्धान गरिरहेको छ ।

यस्तै शंकर समूह र शंकर समूहसँग कारोबार रहेका व्यक्तिको बैंक खाताको समेत विश्लेषण गरिरहेको स्रोतको दाबी छ । दीपक भट्ट र सुलभ अग्रवालको समूहले हिमालयन रि-इन्स्योरेन्स र ७ लघुबीमा कम्पनीको लाइसेन्स लिँदा शंकर समूहको जगदम्बा स्टिल लगायत कम्पनीका लागि लिएको कर्जा व्यक्तिगत खातामार्फत दीपक भट्टलाई ट्रान्सफर गरेको पाइएको थियो । साथै दीपक भट्टले सोही रकम हिमालयन रि-इन्स्योरेन्सको लाइसेन्स लिएको इन्फिनिटी होल्डिङमार्फत हिमालयन रि-इन्स्योरेन्सको संस्थापक सेयरमा लगानी गरेको खुलेको थियो ।

‘अनुसन्धान भइरहेको छ । कर्जा दुरुपयोगमा विभिन्न तथ्यहरू फेला परेपछि राष्ट्र बैंकको सहयोग खोजिएको हो,’ सीआईबी स्रोतले भन्यो, ‘विभिन्न कम्पनीमा विभिन्न प्रयोजनका लागि लिएको कर्जाको विश्लेषण भइरहेको छ । कर्जाको प्रयोजन विपरीत व्यक्तिगत खातामा ठूलो रकमको कारोबार समेत भएको देखिएपछि प्राविधिक सहयोग आवश्यक देखिएको हो ।’

सुलभ अग्रवाल र दीपक भट्टले विभिन्न कम्पनीको फन्ड दुरुपयोग गरी भृकुटी स्टक ब्रोकिङ (ब्रोकर नं. ५५) कम्पनीमार्फत सेयर खरिद गरेको विषयमा पनि अनुसन्धान भइरहेको छ । सम्पत्ति शुद्धीकरण विभागमार्फत भएको अनुसन्धानमा सुलभ अग्रवालले श्रीमती सुभी अग्रवालको नाममा अर्बौं रकमको सेयर कारोबार गर्ने गरेको र त्यसमा विभिन्न कम्पनीका लागि लिएको ऋणको समेत दुरुपयोग भएको पाइएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानका क्रममा कर्जा दुरुपयोगका समेत विभिन्न प्रमाणहरू फेला परेपछि थप अनुसन्धानका लागि सीआईबीलाई पत्राचार गरेको थियो ।

यस्तै धितोपत्र बोर्ड र बीमा प्राधिकरणले पनि विभागको पत्रपछि गरेको अनुसन्धानका आधारमा थप कारबाहीका लागि सीआईबीमा पठाएका थिए । सोही आधारमा सीआईबीले तीनवटै निकायको प्राविधिक सहयोग समेत माग गरी अनुसन्धान गरिरहेको सीआईबी स्रोतले बतायो ।