अध्यादेश फिर्ता लिन विपक्षी दलहरूको माग

98
Shares

काठमाडौं । विपक्षी दलहरूले सरकारले संसद छल्ने उद्देश्यले अध्यादेश ल्याएको आरोप लगाउँदै अध्यादेशहरु तत्काल फिर्ता लिन माग गरेका छन् ।

बुधबार सिंहदरबारमा बसेको विपक्षी दलको बैठकले यस्तो माग गरेको विपक्षी दलका नेता एवं नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले बताए ।

उनले संसदको अधिवेशन आह्वान गरेलगत्तै स्थगन गरेर अध्यादेश ल्याउनु असंसदीय र अलोकतान्त्रिक कदम भएको बताए ।

सरकारले वैशाख १४ गते संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी ऐन, २०६६ र सहकारी ऐन, २०७४ लाई संशोधन गर्न दुई अध्यादेश तथा वैशाख १५ गते स्वास्थ्य विज्ञान प्रतिष्ठान, केही नेपाल कानून संशोधन र विश्वविद्यालयसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको भन्दै आङदाम्बेले अध्यादेश संसद छल्ने उद्देश्यले सिफारिस गरिएको बताए । विपक्षी दलहरूले अध्यादेश स्वीकृत नगर्न राष्ट्रपतिसमक्ष आग्रह समेत गरेको आङ्देम्बेको भनाइ छ ।

‘अध्यादेशहरू अबिलम्व फिर्ता गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछौँ,’ उनले भने ।

संघीय संसदको अधिवेशन अविलम्ब आह्वान गर्न पनि विपक्षी दलहरूको माग रहेको उनले बताए । बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता एवं प्रतिनिधि सहभागी थिए ।

Skip This