
काठमाडौं । चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायताका लागि नेपाल र चीनबीच सम्झौता भएको छ । सम्झौताअनुसार, चीन सरकारको सहयोगमा कलंकीदेखि बसुन्धारासम्मको ८.२ किलोमिटर सडक तथा पुल निर्माण गरिनेछ ।
भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झांग माओमिंगबीच सम्झौतापत्रमा बुधबार हस्ताक्षर भएको हो ।
यस परियोजनाका लागि चीन सरकारले करिब ११ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउनेछ ।
यसअघि सन् २०१९ देखि सुरू गरिएको पहिलो चरणमा कोटेश्वरदेखि कलंकीसम्मको सडक विस्तार सम्पन्न भइसकेको छ ।
सम्झौतापछि मन्त्री लम्सालले परियोजना कार्यान्वयनका क्रममा समस्या उत्पन्न भए एक दिनमै समाधान गर्दै आवश्यक सहजीकरण गरिने प्रतिबद्धता व्यक्त गरे ।
उनले उत्तर–दक्षिण जोड्ने सडक निर्माण सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै नेपालको पूर्वाधार विकासमा चीन सरकारबाट थप लगानीको अपेक्षा व्यक्त गरे ।
त्यसैगरी, चिनियाँ राजदूत माओमिंगले उपयुक्त लगानी वातावरण बनेमा धेरै चिनियाँ लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको बताए ।





प्रतिक्रिया