
काठमाडौं । प्रोफेसनल होल्डिङ्सको २०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
बानेश्वरस्थित ग्लोबल कलेजमा चैत्र २८ गते सम्पन्न साधारणसभाले सेयरधनीहरूका लागि आकर्षक लाभांश पारित गर्नुका साथै सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।
सभाले सेयरधनीहरूका लागि हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै, सो बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि २.६३१६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित भएको छ ।
कम्पनीका ८२.३४ प्रतिशत सेयरधनीहरूको उपस्थितिमा भएको उक्त सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको वार्षिक वित्तीय विवरणहरू सर्वसम्मतिले पारित गरेको छ।
सभाले आगामी आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षणका लागि ‘एनबीएसएम एण्ड एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्स’ फर्मलाई नियुक्त गर्दै उनको पारिश्रमिक समेत निर्धारण गरेको छ।
बोनस सेयर जारी भएपश्चात् वृद्धि हुने जारी तथा चुक्ता पुँजीलाई समेट्न कम्पनीको प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने प्रस्ताव समेत सभाले स्वीकृत गरेको छ।
यस पटकको साधारण सभाको मुख्य आकर्षणको रूपमा कम्पनीले सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने विशेष प्रस्तावलाई लिएको छ ।
सभाले कम्पनीको जारी पुँजीको निश्चित प्रतिशत सेयर सर्वसाधारणमा निष्कासन गर्न र त्यससँग सम्बन्धित सम्पूर्ण कानुनी तथा प्रशासनिक प्रक्रियाहरू पूरा गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने निर्णय गरेको छ । यस निर्णयसँगै संस्थाले सार्वजनिक कम्पनीको रूपमा आफूलाई अगाडि बढाउँदै भविष्यका लागि नयाँ मार्ग प्रशस्त गरेको छ ।
सभामा सहायक कम्पनीको प्रगतिका बारेमा पनि जानकारी दिइएको थियो। प्रोफेसनल होल्डिङ्सको सहायक कम्पनी युनिग्लोब हाइअर सेकेन्डरी स्कुल लिमिटेडले पनि आर्थिक वर्ष २०८१/८२ का लागि ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।





प्रतिक्रिया