नर्भिक अस्पतालले गर्‍यो सेयर निष्काशन सम्बन्धी छलफल

0
Shares

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलको सेयर निष्कासन सम्बन्धी बुक–बिल्डिङ प्रक्रिया अन्तर्गत छलफल ‘रोड शो’ कार्यक्रम सम्पन्न भएको छ ।

निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनर्राइज क्यापिटलले आयोजना गरेको ‘रोड शो’ मा योग्य संस्थागत लगानीकर्ताहरूको उल्लेखनीय र उत्साहजनक सहभागिता रहेको थियो ।

‘रोड शो’ कार्यक्रममा संस्थागत लगानीकर्ताहरूले मूल्य निर्धारण, माग तथा मूल्याङ्कन सम्बन्धी आफ्ना धारणा तथा सुझाव प्रस्तुत गरेका थिए ।

प्रस्तुति तथा छलफल मार्फत नर्भिक इन्टरनेशनल हस्पिटलका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अजयकुमार मिश्रले वर्तमान सञ्चालन अवस्था, वित्तीय कार्य सम्पादन, रणनीतिक दिशा तथा भविष्य विस्तार योजनाबारे विस्तृत जानकारी दिएका थिए ।

छलफलले संस्थागत लगानीकर्ताहरूमा अस्पतालको दिगो विकास र सेवा सम्बन्धी सम्भावनाबारे बुझ्‌न सहयोग मिलेको अस्पतालले जनाएको छ ।

क्यापिटलले ‘रोड शो’ कार्यक्रममा मूल्याङ्कन पद्धति, मूल्य निर्धारणका आधारहरू, मागको विश्लेषण, बुक–बिल्डिङ संरचना तथा नियामक प्रावधान सम्बन्धी विस्तृत जानकारी प्रस्तुत गरेको थियो ।

सहभागी लगानीकर्ताहरूले प्रस्तुत गरिएको मूल्य खोजी प्रक्रिया पारदर्शी, व्यावसायिक तथा विश्वास योग्य रहेको धारणा व्यक्त गरेका थिए ।

बुक–बिल्डिङ प्रक्रियाको आगामी चरण ‘रोड शो’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भइसकेको सन्दर्भमा, योग्य संस्थागत लगानीकर्ताहरूले आफूले खरिद गर्न चाहेको सेयर संख्या तथा प्रस्तावित अभिप्रेत मूल्य शिलबन्दी गरी आगामी वैशाख २१ गते ५ बजे भित्र आवश्यक कागजात सहित आशय पत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा बुझाउनुपर्ने ब्यवस्था रहेको छ ।