
काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा ७६ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ५० करोड रुपैयाँ नाफा गरेको बैंकले आफ्नो नाफा ५२.४९ प्रतिशतले बढाएको देखिन्छ ।
बैंकले आफ्नो सञ्चालन मुनाफा र खुद ब्याज आम्दानीमा सामान्य गिरावट बेहोरे पनि खुद नाफामा भने सुधार देखिएको छ । यद्यपि बैंकको निष्क्रिय कर्जाको उच्च दर र ऋणात्मक वितरणयोग्य नाफाले बैंकको वित्तीय अवस्थामा केही गम्भीर चुनौती संकेत गरेको छ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६ अर्ब ८३ करोड २१ लाख रुपैयाँ रहेको छ, जुन गत वर्ष ७ अर्ब ७५ करोड २४ लाख रुपैयाँ थियो । यस्तै खुद फि तथा कमिसन आम्दानी ६६ करोड ३४ लाख रुपैयाँ छ ।
बैंकको सञ्चालन मुनाफा १ अर्ब १५ करोड ६१ लाख रुपैयाँ रहेको छ, जुन गत वर्ष ३ अर्ब ८१ करोड १५ लाख रुपैयाँ थियो । निष्क्रिय कर्जाका लागि गरिएको भारी इम्पेयरमेन्ट चार्जका कारण सञ्चालन नाफामा ठूलो संकुचन आएको हो । बैंकले चालु आवको चैत मसान्तसम्ममा ३ अर्ब १२ करोड ५३ लाख रुपैयाँ प्रोभिजनिङ गरेको छ । जुन गत आवको सोही अवधिमा १ अर्ब ३१ करोड ९५ लाख रुपैयाँ थियो ।
बैंकको व्यवसाय विस्तारको आकार ठूलो देखिएको छ । चैत मसान्तसम्ममा बैंकले ३ खर्ब ३८ अर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३१ अर्ब ४१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
बजारको न्यून ब्याजदरको प्रभाव हिमालयन बैंकमा पनि देखिएको छ । बैंकको औसत आधार दर ६.८० प्रतिशतबाट घटेर ५.४६ प्रतिशतमा झरेको छ । त्यस्तै, कोषको लागत ५.०३ प्रतिशतबाट घटेर ३.९२ प्रतिशत कायम भएको छ । ब्याजदर स्प्रेड पनि खुम्चिएर २.८४ प्रतिशतमा सीमित भएको छ ।
वित्तीय विवरणको सबैभन्दा चुनौतीपूर्ण पक्ष निष्क्रिय कर्जाको उच्च दर हो । बैंकको निष्क्रिय कर्जा ७.६८ प्रतिशतबाट बढेर ७.९८ प्रतिशत पुगेको छ । बैंकको ‘टोटल लोन लस प्रोभिजन टु टोटल एनपीएल’ सूचक १२१.६१ प्रतिशत पुगेको छ, जसको अर्थ बैंकसँग खराब कर्जाको तुलनामा २१ प्रतिशत बढी सुरक्षा कोष सुरक्षित छ ।
बैंकको प्रतिसेयर आम्दानी ४.५० रुपैयाँ कायम हुँदा प्रतिसेयर नेटवर्थ १७१.९६ रुपैयाँ र रिटर्न अन ईक्विटी २.६९ प्रतिशत रहेको छ । बैंकको पुँजी पर्याप्तता अनुपात ११.२६ प्रतिशत र सीडी रेसियो ७५.०१ प्रतिशत रहेको छ, जसले बैंकसँग थप कर्जा लगानीका लागि पर्याप्त तरलता रहेको देखाउँछ ।
यस अवधिमा गरेको ७४ करोड नाफाबाट नियामकीय समायोजनपछि वितरणयोग्य नाफा १ अर्ब ६१ करोड रूपैयाँ छ । यसैगरी हालसम्म बैंकको सञ्चित नोक्सानी १० अर्ब ४६ करोड ७९ लाख रुपैयाँ पुगेको छ ।









प्रतिक्रिया