प्रभु बैंकको नाफा ८५ करोडमा खुम्चियो, निष्क्रिय कर्जा ८.८४ प्रतिशत पुग्यो

525
Shares

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा ८५ करोड १५ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ८७ करोड ६० लाख रुपैयाँ नाफा गरेको बैंकको नाफामा ५४.६१ प्रतिशतको गिरावट देखिएको छ ।

नाफामा संकुचन आए पनि बैंकले खुद ब्याज आम्दानी र फि तथा कमिसन आम्दानीमा भने सामान्य सुधार गरेको छ ।

यद्यपि, निष्क्रिय कर्जामा भएको भारी वृद्धि र त्यसका लागि गरिएको प्रोभिजनिङका कारण बैंकको खुद नाफा र वितरणयोग्य नाफामा ठूलो चाप परेको देखिन्छ ।

तेस्रो त्रैमाससम्म बैंकको खुद ब्याज आम्दानी ७ अर्ब १८ करोड १९ लाख रुपैयाँ पुगेको छ । गत आवको तेस्रो त्रैमाससम्म बैंकको खुद ब्याज आम्दानी ७ अर्ब ८ करोड रुपैयाँ थियो । यस्तै, खुद फि तथा कमिसन आम्दानी १ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । बैंकको सञ्चालन मुनाफा २ अर्ब २६ करोड ४३ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको तुलनामा १ अर्ब १७ करोडले कम हो ।

बैंकको व्यवसाय विस्तारमा यस अवधिमा केही संकुचन देखिएको छ । गत असार मसान्तसम्म २ खर्ब २५ अर्ब ४५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले चैत मसान्तमा घटाएर २ खर्ब २१ अर्ब ८७ करोड रुपैयाँमा झारेको छ । त्यस्तै, निक्षेप संकलन ३ खर्ब ४२ अर्ब १८ करोडबाट घटेर ३ खर्ब ३५ अर्ब ५३ करोड रुपैयाँ कायम भएको छ ।

बजारको न्यून ब्याजदरको प्रभाव प्रभु बैंकमा पनि देखिएको छ । बैंकको औसत आधार दर ६.७३ प्रतिशतबाट घटेर ५.१४ प्रतिशतमा झरेको छ । त्यस्तै, कोषको लागत ४.६२ प्रतिशतबाट घटेर ३.३७ प्रतिशत कायम भएको छ । बैंकको ब्याजदर स्प्रेड ३.४४ प्रतिशतमा झरेको छ ।

वित्तीय विवरणको सबैभन्दा चुनौतीपूर्ण पक्ष निष्क्रिय कर्जामा भएको वृद्धि हो । बैंकको निष्क्रिय कर्जा ५.०९ प्रतिशतबाट बढेर ८.८४ प्रतिशत पुगेको छ ।

यद्यपि, बैंकले सम्भावित जोखिमका लागि गरेको प्रोभिजनिङका कारण खुद निष्क्रिय कर्जा भने २.१६ प्रतिशतबाट घटेर १.७१ प्रतिशतमा झरेको छ । बैंकको ‘टोटल लोन लस प्रोभिजन टु टोटल एनपीएल’ १०९.०८ प्रतिशत रहेको छ, जसले खराब कर्जाको तुलनामा प्रोभिजनिङ रकम पर्याप्त रहेको देखाउँछ ।

बैंकको प्रतिसेयर आम्दानी ४.८२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४६.२६ रुपैयाँ र लगानी प्रतिफल ३.३० प्रतिशत रहेको छ । बैंकको पुँजी पर्याप्तता अनुपात १२.२५ प्रतिशत र सीडी रेसियो ७०.६१ प्रतिशत रहेको छ, जसले बैंकसँग थप कर्जा विस्तारका लागि पर्याप्त तरलता रहेको संकेत गर्छ । तर, प्राथमिक पुँजीकोष अनुपात ८.५७ प्रतिशत मात्रै रहेकोले व्यवसाय विस्तारमा पुँजीको समस्या देखिएको छ ।

वितरणयोग्य नाफातर्फ बैंक अहिले ठूलो दबाबमा देखिएको छ । नियामक समायोजन र खराब कर्जाका लागि गरिएको प्रोभिजनिङका कारण बैंकको वितरणयोग्य नाफा ४ अर्ब २८ करोड ८१ लाख रुपैयाँ ऋणात्मक रहेको छ । चैत मसान्तमा बैंकको चुक्तापुँजी २३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ छ ।