
काठमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा १४ करोड ३ लाख रुपैयाँमात्र खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १५ करोड ६७ लाख रुपैयाँ नाफा गरेको बैंकको नाफामा १०.५ प्रतिशतको गिरावट देखिएको छ ।
बैंकले यस अवधिमा आफ्नो सम्पत्तिको गुणस्तर सुधार र जोखिम व्यवस्थापनमा आक्रामक रणनीति अपनाएको देखिन्छ । अधिक प्रोभिजनिङका कारण खुद नाफामा केही चाप परे पनि बैंकको खुद निष्क्रिय कर्जामा भने उल्लेख्य सुधार आएको छ ।
चालु आवको चैत मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ६ अर्ब ३० करोड ८२ लाख रुपैयाँ रहेको छ, जुन गत वर्षको ७ अर्ब ९६ करोड २५ लाख रुपैयाँ थियो । यस्तै, खुद फि एन्ड कमिसन आम्दानी १ अर्ब ५ करोड ७ लाख रुपैयाँ पुगेको छ । बैंकको सञ्चालन मुनाफा ६७ करोड २९ लाख रुपैयाँ रहेको छ ।
व्यवसाय विस्तारतर्फ बैंकले चैत मसान्तसम्ममा २ खर्ब १ अर्ब ३४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने ३ खर्ब ३४ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । निक्षेपको तुलनामा कर्जा परिचालन कम रहेकाले बैंकसँग लगानीका लागि प्रचुर तरलता रहेको देखिन्छ ।
बजारको घट्दो ब्याजदरको प्रभाव एनआईसी एशियाको वित्तीय सूचकमा पनि प्रस्ट देखिएको छ । बैंकको औसत आधार दर ७.२ प्रतिशतबाट घटेर ६.२ प्रतिशतमा झरेको छ । त्यस्तै, कोषको लागत ५.१२ प्रतिशतबाट घटेर ४.२४ प्रतिशत कायम भएको छ । बैंकको स्प्रेड दर ३.४ प्रतिशत र सीडी रेसियो ६५.३९ प्रतिशत रहेको छ ।
बैंकको वित्तीय विवरणको सबैभन्दा उल्लेख्य पक्ष कर्जाको गुणस्तर व्यवस्थापन हो । बैंकको निष्क्रिय कर्जा ५.७५ प्रतिशतबाट बढेर ८.८५ प्रतिशत पुगे पनि खुद निष्क्रिय कर्जा भने १.९२ प्रतिशतबाट घटेर ०.४९ प्रतिशतमा झरेको छ । बैंकले निष्क्रिय कर्जाको जोखिम न्यूनीकरणका लागि शतप्रतिशतभन्दा बढी (११४.५९%) प्रोभिजनिङ गरेको छ, जसले बैंकको आन्तरिक वित्तीय अवस्था मजबुत रहेको संकेत गर्छ ।
बैंकको प्रतिसेयर आम्दानी १.२७ रुपैयाँ कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १८०.२९ रुपैयाँ र आरओई ०.७३ प्रतिशत रहेको छ । पुँजी पर्याप्तता अनुपात ११.४५ प्रतिशत र प्राथमिक पुँजी अनुपात ६.४८ प्रतिशत रहेको छ ।
वितरणयोग्य नाफातर्फ भने बैंक अहिले दबाबमा देखिएको छ । भारी प्रोभिजनिङ र नियामकीय समायोजनका कारण बैंकको रिटेन्ड अर्निङ १३ अर्ब ६५ करोड ८२ लाख रुपैयाँ ऋणात्मक (सञ्चित नोक्सानीमा) रहेको छ ।









प्रतिक्रिया