
काठमाडौँ । होटल संघ नेपाल (हान) ले मंगलबारदेखि भारतको नयाँ दिल्लीमा नेपाल पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गर्ने भएको छ ।
नेपाल र भारतका प्रमुख पर्यटन व्यवसायीहरूलाई एउटै मञ्चमा ल्याउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले विशेषगरी गर्मीयाममा भारतीय पर्यटकहरूको आगमन वृद्धि गर्ने लक्ष्य राखिएको संघले जनाएको छ ।
दिल्लीस्थित नेपाली दूतावास र नेपाल पर्यटन बोर्डको सहयोगमा हुन लागेको यो कार्यक्रममा संघका अध्यक्ष विनायक शाहको नेतृत्वमा ६५ सदस्यीय नेपाली होटल प्रतिनिधिमण्डल सहभागी हुनेछन् ।
प्रतिनिधिमण्डलले अप्रिल २८ मा ‘नेपाल –वैवाहिक गन्तव्य’ तथा अप्रिल २९ मा ‘नेपाल – तपाईंको नजिक, कल्पनाभन्दा उत्कृष्ट बिदा गन्तव्य’ शीर्षकका कार्यक्रमहरूमा भाग लिनेछ।
यस प्रतिनिधिमण्डलमा हानका पदाधिकारी, बोर्ड सदस्य तथा देशभरका सदस्य होटलहरूको सहभागिता रहने छ ।
तीन दिने कार्यक्रम अवधिभर नेपाली टोलीले भारतीय समकक्षीसँग बी–टु–बी भेटघाट गर्नुका साथै ‘नेपाल पर्यटन साँझ’ मा पनि सहभागिता जनाउनेछन् ।
उक्त कार्यक्रममा होटल एसोसिएसन इन्डिया, फेडरेसन अफ होटल एण्ड रेस्टुरेन्ट एसोसियसन्स अफ इन्डिया, ट्राभल एजेन्ट्स एसोसियसन अफ इन्डियाका वरिष्ठ प्रतिनिधिहरूको उपस्थिति रहनेछ ।
कार्यक्रममार्फत हानका सदस्य होटलहरूले भारतीय परिवार, समूह पर्यटक, तीर्थयात्री, नवविवाहित जोडी, हनिमुन यात्रु, कर्पोरेट ग्राहक तथा प्रकृति, संस्कृति र साहसिक पर्यटनमा रुचि राख्ने पर्यटकहरूलाई लक्षित विशेष प्याकेजहरू सार्वजनिक गर्नेछन् ।
यसैबीच, मध्यपूर्व संकटका कारण उडान अवरुद्ध हुनु र हवाई भाडा वृद्धि भएको सन्दर्भमा छिमेकी नेपालमा भारतीय पर्यटकको आगमन उल्लेखनीय रूपमा बढ्ने अपेक्षा गरिएको संघले जनाएको छ ।





प्रतिक्रिया