
एजेन्सी । भारतको झारखण्ड राज्यको गिरिडीह जिल्लामा गोलगप्पा (पानीपुरी) र चाट खाँदा सात वर्षीय एक बालकको मृत्यु भएको छ भने १८ जना बिरामी परेर अस्पतालमा भर्ना भएका छन् । प्रहरीका अनुसार आइतबार भएको उक्त घटनाले स्थानीय क्षेत्रमा त्रास फैलाएको छ।
यो घटना मुफस्सिल प्रहरी चौकीअन्तर्गत पर्ने लेडा बाजटो गाउँमा भएको हो। प्रहरीका अनुसार शनिबार साँझ एक स्थानीय गोलगप्पा तथा चाट सहित व्यापारी गाउँमा गएका थिए, जहाँ ठूलो संख्यामा गाउँलेहरूले ती गोलगप्पा र चाट खाएका थिए।
त्यसको केही घण्टापछि शनिबार रातिदेखि नै महिलाहरू र बालबालिकासहित धेरै व्यक्तिहरूमा पेट दुख्ने, बान्ता हुने र असहज महसुस हुने समस्या देखिएको थियो। त्यसपछि २० भन्दा बढी बिरामीलाई आइतबार बिहान उपचारका लागि सदर अस्पताल पुर्याइएको भारतीय सञ्चारमाध्यममा उल्लेख छ।
सदर उप–प्रहरी अधिकारी जीतवाहन उराँवका अनुसार प्रारम्भिक जाँचमा बिरामीहरूमा फुड पोइजनिङ देखिएको छ। अस्पताल स्रोतका अनुसार उपचाररत अन्य बिरामीहरूको अवस्था अहिले स्थिर रहेको बताइएको छ।
घटनापछि प्रहरीले गोलगप्पा बेच्ने ठेला व्यवसायीको खोजी सुरू गर्नुका साथै घटनाको विस्तृत अनुसन्धान थालेको जनाएको छ । स्थानीय प्रशासनले सर्वसाधारणलाई सडक किनारमा बेचिने खुला खानेकुरा सेवन गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।









प्रतिक्रिया