
काठमाडौं । सालपा विकास बैंक चालू आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म ३१ लाख ८९ हजार रुपैयाँले नोक्सानीमा रहेको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको विवरण अनुसार बैंक नोक्सानीमा भएपनि खराब कर्जा घटाउन सकेको छ भने पूँजीकोष पनि थप बलियो भएको छ ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा बैंक ३१ लाख ८९ हजार ३६४ रुपैयाँ खुद नोक्सानीमा रहेको छ। गत आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको तुलनामा केही सुधार हो। गत आवको चैत मसान्तसम्म बैंक ३५ लाख ८४ हजार ६९५ रुपैयाँ नोक्सानीमा थियो ।
बैंकको वितरणयोग्य मुनाफा भने १ करोड ६५ लाख ९० हजार रुपैयाँ ऋणात्मक रहेको छ। कुल सञ्चित नोक्सानी ९ करोड १३ लाख ३९ हजार रुपैयाँ छ । बैंकको खुद ब्याज आम्दानीसँगै सबै आम्दानीमा सामान्य सुधार हुँदा नोक्सानीमा कमी देखिएको छ । बैंकको खुद ब्याज आम्दानी ५ करोड २२ लाख १५ हजार रुपैयाँबाट बढेर ५ करोड ५७ लाख ५० हजार रुपैयाँ पुगेको छ ।
त्यस्तै कर्जा नोक्सानी व्यवस्थामा छुट्याएको रकम १ करोड ६६ लाख २८ हजार रुपैयाँबाट घटेर ९७ लाख ९९ हजार रुपैयाँमात्रै बैंकले छुट्याएको छ। आम्दानीमा वृद्धि र नोक्सानी व्यवस्थामा छुट्याएको रकम घटेपनि सञ्चालन खर्च बढ्दा बैंकको नोक्सानीमा भने अपेक्षित सुधार हुन सकेन ।
बैंकका तेस्रो त्रैमासको सबैभन्दा सकारात्मक पक्ष खराब कर्जाको व्यवस्थापन देखिएको छ। गत आवको तेस्रो त्रैमासमा ६.९२ प्रतिशत रहेको निष्क्रीय कर्जा चालु आवको तेस्रो त्रैमासमा आउँदा उल्लेख्य घटेर ३.३५ प्रतिशतमा झरेको छ ।
चालु आवको तेस्रो त्रैमासमा आईपीओ जारी गरी थप पूँजी संकलन गरेको बैंकको पूँजी पर्याप्तता अनुपात ३९.८० प्रतिशत पुगेको छ, जुन अत्यन्तै मजबुत मानिन्छ। यसले बैंकसँग थप व्यवसाय विस्तार गर्ने ठूलो क्षमता रहेको देखाउँछ। बैंकको चुक्ता पूँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँ रहेको छ।
चैत मसान्तसम्म बैंकले १ अर्ब ४९ करोड रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब १९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको प्रतिशेयर आम्दानी वार्षिक ०.६१ रुपैयाँ ऋणात्मक रहेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १०३.७५ रुपैयाँ रहेको छ ।









प्रतिक्रिया