एकैदिन १ खर्ब २० अर्ब तरलता प्रशोचन गर्दै राष्ट्र बैंक

133
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार एकैदिन १ खर्ब २० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ ।

निक्षेप संकलन उपकरणमार्फत बोलकबोल गरी १९ दिनका लागि उक्त रकम प्रशोचन गर्न लागिएको हो ।

निक्षेप संकलन उपकरणमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरू सहभागी हुन सक्नेछन् । वैशाख ११ गते बोलकबोल हुने यो उपकरण शुक्रबार नै निष्कासन गरिने बैंकले जनाएको छ ।

बैंकहरूले ‘अनलाइन बिडिङ सिस्टम’ सफ्टवेयरमार्फत बोलकबोलमा सहभागिता जनाउन सक्नेछन् । निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलकै माध्यमबाट तय हुनेछ । यसको सावाँ तथा ब्याज भुक्तानी २०८३ वैशाख ३० गते हुने सूचनामा उल्लेख छ ।

बैंकहरूले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्नेछन् । यो उपकरणलाई राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा समेत प्रयोग गर्न सकिनेछ ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ ।

निक्षेप संकलन गरिएको रकम सम्बन्धित बोलवालाको लगानी हुने भएकाले सो रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न पाइने छैन । तर, राष्ट्र बैंकको निर्देशनबमोजिम कायम राख्नुपर्ने वैधानिक तरलता अनुपात तथा तरलता अनुपातमा भने गणना गर्न पाइने बैंकले जनाएको छ ।

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले निरन्तर प्रशोचन गरिरहेको छ । केन्द्रीय बैंकले सञ्चालक समितिको निर्णयअनुसार चालु आर्थिक वर्षमा २ खर्ब रुपैयाँ बराबरको राष्ट्र बैंक ऋणपत्रमार्फत पनि तरलता प्रशोचन गरिरहेको छ ।

त्यस्तै, स्थायी निक्षेप सुविधा र निक्षेप संकलन बोलकबोलमार्फत नियमित रूपमा तरलता प्रशोचन गरिँदै आएको छ ।

२०८३ वैशाख १० गतेसम्मको तथ्यांकअनुसार बैंकिङ प्रणालीमा अधिक तरलता रहेपछि केन्द्रीय बैंकले प्रशोचन गरेको कुल रकम ९ खर्ब ३३ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । शुक्रबार थप १ खर्ब २० अर्ब रुपैयाँ प्रशोचन गरिनेछ ।