गृहमन्त्रीबाट राजीनामा दिन सुधन गुरुङलाई हर्क साम्पाङको सुझाव

0
Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्री सुधन गुरुङलाई पदबाट राजीनामा दिन सुझाव दिएका छन्।

मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले पछिल्लो समय गृहमन्त्रीसँग सम्बन्धित विवादहरू पटक–पटक सार्वजनिक भइरहेकाले मार्गप्रशस्त गर्नु उपयुक्त हुने बताए।

‘उहाँको विषयमा बारम्बार नयाँ–नयाँ कुरा सार्वजनिक भइरहेका छन्। यस्तो अवस्था आउनु राम्रो होइन। हप्तामा दुई–तीन पटकसम्म फरक–फरक विषय सुनिनु उचित देखिँदैन, त्यसैले उहाँले मार्गप्रशस्त गरिदिँदा राम्रो हुन्छ भन्ने मेरो सुझाव हो,’ उनले भने ।

सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेका व्यवसायी दीपक भट्ट सँग साझेदारी रहेको विषय बाहिरिएपछि गृहमन्त्री गुरुङ विवादमा तानिएका छन्।

साम्पाङले सरकारप्रति आफू आलोचनात्मक भए पनि सहयोगी भूमिका निर्वाह गर्न चाहेको स्पष्ट पारे । उनले भने, ‘हामी सरकारको नजिकबाट प्रश्न उठाउने र आवश्यक पर्दा सहयोग गर्ने दुवै भूमिका निभाउन चाहन्छौं।’

Skip This