
काठमाडौं । छिमेकी भारतीय बजार रूपैडिहालगायतका क्षेत्रमा इन्धनको चर्को अभाव भएपछि नेपालगञ्जका पेट्रोल पम्पहरूमा भारतीय सवारी साधनको अत्यधिक भिड लाग्न थालेको छ ।
भारतीय बजारमा पेट्रोलियम पदार्थको चरम अभाव भएपछि उनीहरू नेपालको बजारमा इन्धन लिन धाउन थालेका हुन् । विगत केही दिनदेखि भारतीय मोटरसाइकल र कारहरू इन्धन भर्नका लागि नेपाली पम्पहरूमा लामो लाइन लाग्ने गरेका छन् ।
नेपालगञ्जसँगै जोडिएको भारतीय बजार रूपैडिहा, नानपारा, बहराइच क्षेत्रमा पेट्रोल र डिजेलको चर्को अभाव सिर्जना भएपछि उक्त बजारका भारतीय नागरिकहरू आफ्नो सवारी साधनसहित नेपालका पेट्रोल पम्पमा आउन थालेका हुन् ।
भारतीयहरू नेपाली पम्पमा इन्धन लिन घुइँचो लाग्न थालेको भिडियोसमेत यतिबेला भाइरल भएको छ ।
नेपालगञ्जको आदर्शनगर सुर्खेत रोडस्थित नेपाल आयल निगमको पूर्ण स्वामित्वमा रहेको इन्धन डिपोमा इन्धन लिन भारतीय नागरिकहरूको आइतबारदेखि घुइँचो लाग्न थालेको हो । भारतीय सवारी साधनको चाप बढेपछि इन्धन बिक्रीमा कोटा निर्धारण गरिएको छ ।
डिपो प्रमुख अजित पोखरेलका अनुसार भारतीय बजारमा इन्धनको अभाव सिर्जना भएपछि नेपालमा पेट्रोल र डिजेल लिन भारतीय नागरिक सवारी साधनसहित आइरहेका छन् ।
भारतीय रूपैडिहालगायतका बजारमा पेट्रोल प्रतिलिटर ९५.८३ र डिजेलको मूल्य ८८.९७ भारतीय रुपैयाँ छ । नेपालगन्जमा भने प्रतिलिटर पेट्रोललाई २१९ र डिजेललाई २३७ नेपाली रुपैयाँ मूल्य तोकिएको छ ।

‘तुलनात्मक रूपमा भारतभन्दा नेपालमा पेट्रोल र डिजेलको मूल्य महँगो भए पनि उनीहरू नेपालगञ्जमा आइरहेका छन्, उनीहरूलाई हामीले कोटा तोकेर पेट्रोल मात्रै बिक्री गरेका छौँ,’ पोखरेलले भने, ‘डिजेलमा हामीलाई निकै बढी घाटा भएकाले हामीले उनीहरूलाई डिजेल बिक्री गरेका छैनौँ ।’
पोखरेलका अनुसार भारतीय सवारी चालकलाई प्रति मोटरसाइकल ५ सय र कारलाई १ हजार रुपैयाँ बराबरको पेट्रोल उपलब्ध गराइँदै आएको छ । दिनभरमा करिब २ सयदेखि २ सय ५० को सङ्ख्यामा भारतीय नागरिकहरू उक्त पम्पमा पेट्रोल लिन आइरहेको पोखरेलको भनाइ छ ।
भारतीय नागरिकलाई कोटा निर्धारण गरी इन्धन उपलब्ध गराइए पनि नेपाली उपभोक्तालाई भने मागअनुसारको इन्धन सहजै उपलब्ध गराइरहेको पोखरेलले जानकारी दिए ।
पोखरेलका अनुसार नेपालगन्ज अहिले ‘क्यासिनो हब’ का रूपमा विकसित भइरहेकाले पनि भारतीय पर्यटकहरूको आवतजावत बढेको र फर्कने क्रममा उनीहरूले यहाँबाट इन्धन भर्ने गरेको पाइएको छ ।
विशेष गरी होटल स्नेहा, बाटिका, सोल्टी र सिद्धार्थजस्ता होटलहरूमा रहेका क्यासिनोमा आउने भारतीयहरूले नेपाली पम्पबाट तेल लैजाने गरेका छन् ।
निगमको उक्त पम्प २०७९ साल पुस २६ गतेदेखि सञ्चालनमा आएको थियो ।











प्रतिक्रिया