फुटबल विश्वकप हेर्न जाने भाडा भयो महँगो


एजेन्सी । अमेरिकामा आयोजना हुने फिफा विश्वकपका खेलहरू हेर्न जाने प्रशंसकहरूले यातायातको उच्च शुल्क बेहोर्नुपर्ने हुन सक्छ ।

त्यसमा न्यु जर्सीको मेटलाइफ स्टेडियमसम्मको रेल भाडा आउन–जान (राउन्ड ट्रिप) का लागि १५० डलर पुगेको छ ।

अधिकारीहरूका अनुसार प्रतियोगिता आयोजना गर्दा लाग्ने सञ्चालन खर्च उठाउने उद्देश्यले यो भाडा वृद्धि गरिएको हो ।

यातायात अधिकारीहरूले पुष्टि गरेअनुसार, म्यानह्याटनको पेन स्टेशनदेखि ईस्ट रदरफोर्डस्थित मेटलाइफ स्टेडियमसम्मको १५ मिनेटको यात्राको भाडा सामान्य अवस्थाको १२.९० डलरभन्दा झण्डै १२ गुणा बढी हुनेछ । पार्किङको सीमित उपलब्धताका कारण प्रत्येक खेलका लागि करिब ४० हजार प्रशंसकहरू सार्वजनिक यातायातमा निर्भर हुने अपेक्षा गरिएको छ ।

एनएफएलका न्युयोर्क जायन्ट्स र न्युयोर्क जेट्सको घरेलु मैदान रहेको मेटलाइफ स्टेडियमले जुलाई १९ मा हुने फाइनलसहित आठवटा खेलहरूको आयोजना गर्नेछ । ब्राजिल, फ्रान्स, जर्मनी र इंग्ल्यान्ड जस्ता टोलीहरू सम्मिलित समूह चरणका खेलहरू जुन १३ देखि सुरु हुने तालिका छ ।

न्यु जर्सीले प्रतियोगिता आयोजना गर्दा पर्ने आर्थिक भार व्यवस्थापन गर्न खोजिरहेका बेला यो भाडा वृद्धि सार्वजनिक भएको हो ।

न्यु जर्सीका गभर्नर मिकी शेरिलले स्थानीय यात्रुहरूमा दीर्घकालीन खर्चको बोझ नथपियोस् भन्नका लागि मूल्य निर्धारणको यो निर्णय आवश्यक रहेको बताए । एनजे ट्रान्जिटको अनुमान अनुसार, प्रशंसकहरूको ओसारपसारमा ६ करोड २० लाख डलर खर्च हुनेछ जसमा बाह्य स्रोतबाट १ करोड ४० लाख डलर मात्र उपलब्ध हुनेछ ।

‘यो अनुचित मूल्यवृद्धि होइन,’ एनजे ट्रान्जिटका अध्यक्ष तथा सीईओ क्रिस कोल्लुरीले पत्रकारहरूलाई भने, ‘हामी वास्तवमै हाम्रो खर्च उठाउने प्रयास गरिरहेका छौं ।’

शेरिलले के पनि बताए भने राज्यले यस्तो सम्झौता विरासतमा पाएको छ जसमा फिफाले यातायात खर्चमा कुनै योगदान गरेको छैन । ‘यातायातको खर्च फिफाले तिर्नुपर्छ । तर, उनीहरूले तिर्दैनन् भने म न्यु जर्सीलाई नोक्सानीमा पर्न दिने छैन,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।

फिफाले जवाफ दिँदै आयोजक शहरहरूसँगका अघिल्ला सम्झौतामा प्रशंसकहरूका लागि निःशुल्क यातायातको व्यवस्था समावेश गरिएको उल्लेख गरेको छ । ‘प्रशंसकहरूको यातायातका विषयमा न्यु जर्सीका गभर्नरको आजको दृष्टिकोणबाट हामी निकै अचम्मित छौं,’ संस्थाले भन्यो ।

अन्य आयोजक स्थलहरूमा पनि यातायात खर्च बढिरहेको छ यद्यपि यो न्यु जर्सीको जस्तो उच्च स्तरमा भने छैन । बोस्टन क्षेत्रमा जिलेट स्टेडियम जाने एक्सप्रेस बसहरूको शुल्क ९५ डलर पर्नेछ जबकि रेल भाडा सामान्य दरको चार गुणा बढेर फिर्ती यात्राका लागि ८० डलर पुगेको छ ।

लस एन्जलस, फिलाडेल्फिया, ह्युस्टन र कान्सास सिटी लगायतका धेरै शहरहरूले सामान्य भाडा नै कायम राख्ने निर्णय गरेका छन् । कान्सास सिटीले १५ डलरमा शटल सेवा उपलब्ध गराइरहेको छ भने ह्युस्टनले बस र रेलको भाडा १.२५ डलरदेखि ४.५० डलरको बीचमा राखेको छ ।

न्यु जर्सीको भाडा वृद्धिको न्यूयोर्ककी गभर्नर क्याथी होचुलले पनि आलोचना गरेकी छन् । उनले भनिन्, ‘छोटो रेल यात्राका लागि १०० डलरभन्दा बढी शुल्क लिनु मलाई धेरै नै महँगो लाग्छ ।’

मेटलाइफ स्टेडियम नजिकै यात्राका अन्य विकल्पहरू पनि सीमित छन् । अमेरिकन ड्रीम मल जस्ता नजिकैका केन्द्रहरूमा पार्किङको शुल्क २२५ डलर तोकिएको छ जसले खेल हेर्न जाने प्रशंसकहरूको कुल खर्च अझ बढाएको छ ।

Skip This