उत्तर कोरियाले पुनः गर्याे ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार


एजेन्सी । दक्षिण कोरियाली सेनाका अनुसार, उत्तर कोरियाले आइतबार समुद्रतर्फ धेरै ब्यालिस्टिक मिसाइलहरू प्रहार गरेको छ जुन यो वर्ष उत्तरको पछिल्लो हतियार परीक्षण गतिविधि हो ।

दक्षिण कोरियाको जोइन्ट चिफ अफ स्टाफले यी मिसाइल प्रहारहरू आइतबार बिहान उत्तरको पूर्वी सिन्पो क्षेत्रबाट भएको बताएको छ ।

दक्षिण कोरियाले आफ्नो निगरानी व्यवस्थालाई सुदृढ पारेको र अमेरिका तथा जापानसँग नजिक रहेर सूचना आदानप्रदान गरिरहेको जनाएको छ ।

जापानको रक्षा मन्त्रालयले पनि उत्तर कोरियाले एउटा शंकास्पद ब्यालिस्टिक मिसाइल प्रहार गरेको बताएको छ ।

गत साता प्योङयाङले नेता किम जोङ उनले देशको युद्धपोतबाट मिसाइल परीक्षणको निरीक्षण गरेको जानकारी दिएको थियो ।

परीक्षणपछि किमले आफ्नो सरकार आणविक शक्तिको असीमित विस्तारमा केन्द्रित रहेको बताउँदै देशको आणविक आक्रमण र द्रुत–प्रतिक्रिया क्षमतालाई अझ सशक्त बनाउन केही नयाँ कार्यहरू जारी गरेको बताएका थिए ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आईएईए) का महानिर्देशक राफेल ग्रोसीले गत साता आफ्नो निकायले उत्तर कोरियाका आणविक केन्द्रहरूमा गतिविधिहरू तीव्र गतिमा बढेको पुष्टि गरेको बताएका थिए ।