
वीरगञ्ज । लामो समयदेखि अवरुद्ध रहेको वीरगञ्जको मुख्य सडक विस्तार अन्ततः सुरु गरिएको छ ।
आइतबार बिहान ५ बजेदेखि त्रिभुवन राजपथअन्तर्गत गण्डक चोकदेखि मितेरी पुलसम्मको खण्डमा विस्तार कार्य अघि बढाइएको हो ।
सडक डिभिजन कार्यालय हेटौंडाका अनुसार सडकको केन्द्रबाट दायाँ–बायाँ २५–२५ मिटरभित्र पर्ने संरचना हटाएर विस्तार गरिनेछ । कामलाई तीव्रता दिन पाँच फरक स्थानबाट एकैसाथ निर्माण सुरु गरिएको छ । यसका लागि डोजर, एक्साभेटरलगायत ९ वटा उपकरण परिचालन गरिएका छन् भने सुरक्षाको व्यवस्था पनि कडा बनाइएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद दाहालले २५ मिटर क्षेत्रभित्र पर्ने घर, टहरा तथा अन्य संरचना हटाउने प्रक्रिया सुरु भइसकेको जानकारी दिए । यस कार्यका लागि वीरगञ्ज महानगरपालिका, प्रहरी र अन्य सम्बन्धित निकायसँग समन्वय गरिएको उनले बताए ।
यसअघि मुआब्जा र वैकल्पिक सडकको माग गर्दै करिब १ हजार २०० घरधनीले दायर गरेको रिटमा सर्वोच्च अदालतले २०८१ फागुन २८ गते सरकारकै पक्षमा फैसला गर्दै रिट खारेज गरेपछि सडक विस्तारको बाटो खुलेको हो ।
अदालतको निर्णयसँगै करिब १३ वर्षदेखि अन्योलमा रहेको यो योजना अब चरणबद्ध रूपमा कार्यान्वयनमा ल्याइएको छ ।












प्रतिक्रिया