सीमावर्ती बजारभन्दा डिजेल ८८ रुपैयाँ महँगो : अवैध कारोबार बढ्ने भन्दै उज्यालो नेपाल पार्टीको चेतावनी


काठमाडौं । उज्यालो नेपाल पार्टीले पेट्रोलियम पदार्थको पछिल्लो मूल्यवृद्धिले सीमावर्ती क्षेत्रमा गम्भीर आर्थिक जोखिम निम्त्याउने चेतावनी दिएको छ ।

भारतको रक्सौल बजारको तुलनामा नेपालमा इन्धनको मूल्य अत्यधिक महँगो भएको भन्दै पार्टीले यसले तस्करी र राजस्व चुहावट बढाउने दाबी गरेको छ ।

पार्टीद्वारा जारी विज्ञप्ति अनुसार, हाल काठमाडौँमा पेट्रोल प्रतिलिटर २१९ र डिजेल २३७ रुपैयाँ पुगेको छ ।

यो मूल्य भारतीय बजारको तुलनामा पेट्रोलमा ४८ रुपैयाँ र डिजेलमा ८८ रुपैयाँले बढी हो ।

‘यस्तो अस्वाभाविक मूल्य अन्तरले सीमावर्ती क्षेत्रमा चोरीपैठारी, अनौपचारिक आपूर्ति र अवैध कारोबारलाई प्रोत्साहन गर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसले राज्यको राजस्वमा नकारात्मक असर पार्नुका साथै वैध व्यापारलाई धराशायी बनाउनेछ ।’

यस्तो अवस्था रोक्न पार्टीले नेपाल र भारतका सीमावर्ती बजारबिचको मूल्य अन्तर घटाउन विशेष ‘मूल्य समानीकरण संयन्त्र’ बनाउन सरकारसँग माग गरेको छ ।

साथै, सीमा क्षेत्रमा हुने कालोबजारी र चोरीपैठारी नियन्त्रणका लागि संयुक्त अनुगमन अभियान सञ्चालन गर्न समेत सरकारको ध्यानाकर्षण गराइएको छ ।