चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात २.५ अर्ब डलरको कीर्तिमानी स्तरमा

70
Shares

एजेन्सी । एप्पलका भेन्डरहरूले आर्थिक वर्ष २०२६ मै चीनतर्फ २.५ अर्ब डलर बराबरको पाटपुर्जा सब–एसेम्बलीहरू निर्यात गरेर कीर्तिमान कायम गरेका छन् ।

अधिकारीहरू र उद्योगका कार्यकारीहरूका अनुसार, यसले गत वर्ष सूचना जारी गरिएको सरकारको इलेक्ट्रोनिक्स कम्पोनेन्ट म्यानुफ्याक्चरिङ स्किमको प्रारम्भिक सफलतालाई संकेत गर्छ । चिनियाँ भेन्डरहरूले मोबाइल फोन र अन्य इलेक्ट्रोनिक सामानका लागि भारतमा पाटपुर्जा निर्यात गर्ने परम्परागत प्रक्रिया उल्टिने क्रमको सुरुवातलाई पनि यसले जनाएको छ ।

जनवरीसम्म २.८ अर्ब डलरको निर्यात भइसकेकाले आर्थिक वर्ष २०२६ मा चीनतर्फको इलेक्ट्रोनिक्स निर्यात ३.५ अर्ब डलर पुग्ने सम्भावना रहेको उद्योगका कार्यकारीहरूले बताएका छन् । आर्थिक वर्ष २०२५ मा चीनतर्फको इलेक्ट्रोनिक्स निर्यात करिब ९२ करोड डलर थियो भने त्यसअघि यो रकम नगण्य थियो ।

अन्य क्षेत्रका आर्थिक वर्ष २०२६ का तथ्यांकहरू आउन थालेपछि चीनतर्फ भारतको कुल निर्यात १८ अर्ब डलर नाघ्ने अपेक्षा गरिएको छ ।

यो आर्थिक वर्ष २०२५ को १४.२५ अर्ब डलरको तुलनामा बढी हो । विवरणबारे जानकार एक व्यक्तिले भने, ‘यो वृद्धि पूर्ण रूपमा एप्पलको निर्यातका कारण भएको हो ।’

विज्ञहरूका अनुसार, चीनतर्फको इलेक्ट्रोनिक्स निर्यातमा भएको यो वृद्धि स्मार्टफोनको प्रोडक्सन लिंक्ड इन्सेन्टिभ (पीएलआई) योजना र ईसीएमएसबाट प्राप्त भएको एक अप्रत्याशित लाभ हो ।

यसले एप्पललाई स्थानीय इकोसिस्टम (पूर्वाधार) निर्माण गर्न प्रोत्साहित गर्याे जुन अहिले गुणस्तरको हिसाबले पर्याप्त रूपमा प्रतिस्पर्धी छ । यसैका कारण भारत चीनतर्फ पाटपुर्जा र सब–एसेम्बलीहरू निर्यात गर्न सक्षम भएको छ ।

‘सन् २०२१ मा एप्पलले पहिलोपटक चीनबाट भारतमा आईफोनको उत्पादन सार्न सुरु गर्यो तब पीएलआई योजनाबाट यस्तो लाभ मिल्ने कुरा सोच्न पनि सकिँदैनथ्यो,’ उद्योगका एक कार्यकारीले भने ।

पाँच वर्षको स्मार्टफोन पीएलआई योजना अन्तर्गत एप्पलले कुल ७० अर्ब डलर बराबरको आईफोन उत्पादन गर्यो जसमध्ये ५१ अर्ब डलर वा लगभग ७३ प्रतिशत निर्यात गरियो । यसको अधिकांश हिस्सा अमेरिकामा निर्यात भएको थियो । यसले आईफोनलाई गत आर्थिक वर्षको भारतको सबैभन्दा ठूलो निर्यातित वस्तु बनाएको छ ।

तथ्यांक पछ्याउने उद्योगका एक कार्यकारीका अनुसार, फक्सकन, टाटा इलेक्ट्रोनिक्स, टाटाको स्वामित्वमा रहेको पेगाट्रन, मदरसन, साल्कोम्प, टीआरआईएल बैंगलोर र युझान टेक्नोलोजी चीनतर्फको निर्यात बढाउने प्रमुख भारतीय एप्पल भेन्डरहरू हुन् ।

निर्यात गरिएका पाटपुर्जाहरूमा प्रिन्टेड सर्किट बोर्ड एसेम्बली, मेकानिक्स, हाउसिङ, फ्लेक्स पीसीबीए र भोल्युम तथा पावरका लागि प्रयोग हुने कन्डक्टिभ ग्रेफाइट बटनहरू पर्छन् । उनले थपे, ‘यी निर्यातहरूलाई तीनवटा एचएसएन (भन्सारको नामकरण पद्धति) कोड अन्तर्गत वर्गीकृत गरिएको छ र अप्रिल २०२५ पछि यसले गति लिएको छ ।’

एप्पलले भारतमा आईफोन उत्पादन गरेका कारण स्मार्टफोन पीएलआई योजना निकै सफल भएको छ । अब ईसीएमएसले पाटपुर्जाहरूको क्षेत्रमा पनि त्यस्तै सफलता दोहोर्याउने अपेक्षा गरिएको छ ।

स्मार्टफोन उत्पादनमा सफलता प्राप्त गरेपछि सरकारले अब ईसीएमएस अन्तर्गत आन्तरिक मूल्य अभिवृद्धि, पाटपुर्जाको उत्पादन र निर्यात बढाउनमा ध्यान केन्द्रित गरिरहेको छ । साथै, स्मार्टफोन योजना मार्चमा समाप्त भएकाले यसको गतिलाई कायम राख्न उद्योग जगतले पीएलआई २.० को माग गरेको छ ।

पीएलआई २.० र ईसीएमएससँगै भारतीय कम्पनीहरूले विश्वव्यापी मोबाइल फोन उत्पादनको ३०–३५ प्रतिशत हिस्सा ओगट्न सक्छन् र इलेक्ट्रोनिक्स आपूर्ति श्रृंखलामा एक शक्तिशाली शक्ति बन्न सक्छन् । भारतको अधिकांश इलेक्ट्रोनिक्स आयातको स्रोत रहेको चीन अब पाटपुर्जा निर्माताहरूका लागि सम्भावित निर्यात गन्तव्य बन्न सक्छ ।

चीनको व्यापारिक तथ्यांक पछ्याउने उद्योगका एक कार्यकारीले भने, ‘चीनको कुल इलेक्ट्रोनिक्स आयात सन् २०२५ मा ६०० अर्ब डलर नाघेको छ त्यसैले भारत अन्ततः चीनका लागि ठूलो निर्यातकर्ता बन्न सक्छ ।’