
एजेन्सी । अमेरिका र इरान अर्को साता समाप्त हुने युद्धविरामलाई लम्ब्याउन वा युद्ध अन्त्यका लागि छिट्टै कुनै सम्झौतामा पुग्न सकेनन् भने ट्रम्प प्रशासनले बमवर्षामा मात्र भर पर्नुको सट्टा तेहरानलाई गलाउन र आत्मसमर्पण गराउन अर्थ केन्द्रित रणनीति अपनाउने तयारी गरिरहेको छ ।
अर्थमन्त्री स्कट बेसेन्टले बुधबार ह्वाइट हाउसमा पत्रकारहरूलाई जानकारी दिँदै अमेरिकाले इरानमाथि आर्थिक दबाब बढाउने योजना बनाएको र यो कदम सैन्य बमवर्षाको आर्थिक विकल्प हुने बताए ।
इरानी नियन्त्रणमा रहेका व्यक्ति, कम्पनी र जहाजहरूसँग व्यापार गर्ने देशहरू, जसमा सहयोगी राष्ट्र संयुक्त अरब अमिरात (यूएई) र प्रतिस्पर्धी चीन समेत पर्छन्, माथि सेकेन्डरी आर्थिक प्रतिबन्ध लगाउने चेतावनीले अमेरिकाले पहिलेदेखि नै लगाउँदै आएका प्रतिबन्धहरूलाई अझ तीव्र बनाउने संकेत गर्छ ।
बेसेन्टले भने, ‘हामीले कम्पनी र देशहरूलाई भनेका छौं, तपाईंहरू इरानी तेल किनिरहनुभएको छ वा इरानी पैसा तपाईंको बैंकमा छ भने हामी अब सेकेन्डरी प्रतिबन्धहरू लगाउन तयार छौं जुन निकै कडा कदम हो । इरानीहरूले बुझ्नुपर्छ, यो हाम्रो सैन्य गतिविधिको आर्थिक रूप हुनेछ ।’
अर्थ मन्त्रालयले चीन, हङकङ, यूएई र ओमानका वित्तीय संस्थाहरूलाई पत्र पठाउँदै इरानसँग व्यापार गरेकोमा सेकेन्डरी प्रतिबन्ध लगाउने धम्की दिएको भोलिपल्ट यो चेतावनी आएको हो । पत्रमा ती देशहरूले आफ्ना वित्तीय संस्थाहरूबाट इरानी अवैध गतिविधिहरू सञ्चालन हुन दिएको आरोप लगाइएको छ ।
प्रशासनको सोचसँग परिचित एक व्यक्तिका अनुसार, यो राष्ट्रपति डोनल्ड ट्रम्पको आर्थिक रणनीतिको एक हिस्सा हो जसको प्रयोग उनले इरानलाई आफ्नो आणविक महत्त्वाकांक्षा सीमित गर्ने अमेरिकी प्रस्ताव स्वीकार गर्न दबाब दिन गरिरहेका छन् ।
निजी रूपमा ट्रम्पलाई के तर्क दिइएको छ भने इरानीहरूले आफू यो संकट झेल्न सक्छन् भन्ने सोच्छन् । तर, उनीहरूले आफ्ना वफादारहरूलाई पैसा तिर्न सकेनन् भने त्यसले इरानलाई वार्ताको टेबलमा आउन बाध्य पार्न सक्छ ।
प्रशासनका केही व्यक्तिहरू अझै पनि इरानको अर्थतन्त्रको ठूलो हिस्सा ओगट्ने बोन्याड्स ( परोपकारी गुठीहरू) जस्ता अन्य आर्थिक लक्ष्यहरूमा प्रहार गरेर इरानलाई थप मर्कामा पार्न सकिने विश्वास गर्छन् ।
बेसेन्टले पत्रकारहरूलाई दुईवटा चिनियाँ बैंकहरूले इरानी पैसा कारोबार गरेकोमा चेतावनी प्राप्त गरिसकेको बताए । ट्रम्प अर्को महिना चीनका राष्ट्रपति सी चिनपिङसँग वार्ताका लागि बेइजिङ जाने तयारीमा छन् ।
बेसेन्टले युद्धका बेला इरानको आक्रामक व्यवहारका कारण खाडीका छिमेकी राष्ट्रहरू अब आफ्ना बैंकहरूमा रहेको इरानी पैसा रोक्का गर्न तयार रहेको पनि जानकारी दिए ।
यद्यपि, बैंकिङ समितिकी वरिष्ठ डेमोक्रेट सिनेटर एलिजाबेथ वारेनले कुनै पनि नयाँ आर्थिक प्रतिबन्धहरू इरानले युद्धपछि प्राप्त गरिरहेको आर्थिक लाभका कारण प्रभावहीन हुने तर्क गरिन् ।
वारेनले भनिन्, ‘हामीले इरानको अर्थतन्त्रलाई संकुचित बनाउनुपर्ने अवस्थामा हर्मुज जलयोजकको नाकाबन्दी र तेलको बढ्दो मूल्यले इरानको अर्थतन्त्रलाई उल्टै मद्दत पुर्याएको छ । डोनल्ड ट्रम्पले यो युद्ध सुरु गरेर सिर्जना गरेको भद्रगोललाई बेसेन्टले सफा गर्ने प्रयास मात्र गरिरहेका छन् ।’
प्रतिबन्ध सम्बन्धी वकिल डेनियल पिकार्डले सेकेन्डरी प्रतिबन्ध लगाउँदा सहयोगी राष्ट्रहरूबाट कूटनीतिक र आर्थिक प्रतिक्रिया आउन सक्ने र यसले तेहरान विरुद्ध गठबन्धन बनाउने प्रयासमा बाधा पुर्याउन सक्ने बताए ।
बुधबार अमेरिकाले मृत इरानी सुरक्षा अधिकारी अली शामखानीसँग जोडिएको तेल तस्करी सञ्जालमाथि प्रतिबन्ध लगायो । यी प्रतिबन्धहरूमा दर्जनौं व्यक्ति, कम्पनी र जहाजहरू समावेश छन् जो छद्म कम्पनीहरू मार्फत इरानी र रुसी तेल ओसारपसार र बिक्रीमा संलग्न थिए जसमध्ये धेरै यूएईमा छन् ।
ट्रम्प प्रशासनका अधिकारीहरूले युद्धविराम र हर्मुज जलयोजकको नाकाबन्दीले गर्दा वातावरण ट्रम्पको पक्षमा मोडिएको विश्वास व्यक्त गरेका छन् । इरानले बमवर्षाका क्रममा आफ्नो पूर्वाधारमा अर्बौं डलरको क्षति बेहोरेको छ जसलाई पुनर्निर्माण गर्न वर्षौं लाग्न सक्छ ।
उपराष्ट्रपति जेडी भ्यान्सले मंगलबार ट्रम्प कुनै सानो सम्झौता नभई ग्रान्ड बार्गेन (ठूलो सम्झौता) गर्न चाहेको बताए । उनले भने, ‘तपाईंहरू आणविक हतियार नबनाउने प्रतिबद्धता जनाउनुहुन्छ भने हामी इरानलाई समृद्ध बनाउनेछौं ।’
राष्ट्रपति कार्यालयका उपप्रमुख स्टेफन मिलरले ट्रम्पले नाकाबन्दी लगाएर इरानमाथि चेकमेटको चाल चलेको टिप्पणी गरे । उनले भने, ‘इरानले सम्झौताको बाटो रोज्यो भने त्यो विश्वका लागि राम्रो हुनेछ । तर, उसले नाकाबन्दीको बाटो रोज्यो भने विश्व अघि बढ्नेछ र इरान इतिहासको एउटा सानो पानामा मात्र सीमित हुनेछ ।’
केही रिपब्लिकनहरू तेहरानमाथि दबाब बढाउने कुनै पनि उपाय अपनाउनुपर्ने पक्षमा छन् । तर, सिनेटर माइक राउन्ड्स जस्ता केही नेताहरू भने प्रतिबन्धले मात्र काम गर्नेमा शंका व्यक्त गर्छन् । उनी भन्छन्, ‘मलाई लाग्दैन, सत्ता परिवर्तन बिना यो समस्या समाधान हुनेछ ।’
क्विन्सी इन्स्टिच्युटका कार्यकारी उपाध्यक्ष ट्रिटा पारसीको विश्लेषण अनुसार, ट्रम्पले अहिलेको कठिन परिस्थितिलाई यसरी मोडेका छन् कि अब अमेरिकालाई भन्दा इरानलाई सम्झौताको बढी आवश्यकता देखिएको छ ।
उनले लेखेका छन्, ‘अहिले खुलेको यस अवसरले तेहरानलाई युद्धको दबाबलाई दीर्घकालीन रणनीतिक लाभमा बदल्ने मौका दिएको छ ।’








प्रतिक्रिया