
एजेन्सी । इरान र अमेरिका–इजरायल युद्ध चाँडै समाप्त हुनेमा लगानीकर्ताहरूबीच बढेको आशाका बीच बुधबार वाल स्ट्रिटले नयाँ ऐतिहासिक उचाइ कायम गरेको छ ।
बेन्चमार्क एस एण्ड पी ५०० इतिहासमै पहिलोपटक ७ हजार विन्दु पार गर्दै दिनभरमा ०.८ प्रतिशतले बढेर ७ हजार २२.९५ मा बन्द भयो ।
प्रविधि क्षेत्रको वर्चस्व रहेको नास्डाक पनि १.६ प्रतिशतले बढेर २४ हजार १६.०२ को रेकर्ड विन्दुमा पुग्यो जबकि डाउ जोन्स इन्डस्ट्रियल एभरेज लगभग स्थिर रह्यो ।
तीन मुख्य अमेरिकी सूचकांकहरूमध्ये एस एन्ड पीले तीव्र सुधारको नेतृत्व गरेको छ जसले द्वन्द्वको सुरुवाती दिनहरूमा बेहोर्नुपरेको भारी नोक्सानीलाई मेटाएको छ । गत साता अमेरिका र इरानले दुई हप्ते युद्धविरामको घोषणा गरेदेखि यो उल्लेख्य रूपमा बढेको छ ।
बुधबारको एक अन्तर्वार्तामा डोनल्ड ट्रम्पले युद्ध अन्त्यको धेरै नजिक रहेको दाबी गरेका छन् । त्यसले यो द्वन्द्व र यसले तेल बजारमा ल्याएको उतारचढाव चाँडै समाप्त हुनेमा व्यापारीहरूमा आशा जगायो ।
‘हामीले उनीहरूलाई सैन्य रूपमा पूर्ण रूपमा हराएका छौं,’ ट्रम्पले फक्स बिजनेसलाई भने, ‘हेरौं के हुन्छ ? मलाई लाग्छ, उनीहरू सम्झौता गर्न धेरै आतुर छन् ।’
यद्यपि, बुधबार दिउँसो ह्वाइट हाउसले २२ अप्रिलमा सकिन लागेको युद्धविराम लम्ब्याउन अनुरोध गरेको कुरालाई अस्वीकार गरेको छ । तर, वार्ताहरू रचनात्मक र जारी रहेको बताएको छ ।
बैंक अफ अमेरिका र मोर्गन स्टेनलीको त्रैमासिक कमाइ प्रतिवेदनहरूले पनि त्यस दिनको उत्साहलाई थप बढावा दियो । दुवै बैंकको नतिजा अनुमानभन्दा राम्रो रह्यो । त्यसले युद्धका बीच पनि अर्थतन्त्रको मजबुतीको संकेत गरेको छ ।
‘उपभोक्ताहरूले खर्च गरिरहेका छन्, कर्जाको गुणस्तर धेरै राम्रो र सुधारोन्मुख छ र कर्पोरेट ग्राहकहरूले वास्तवमै आफ्नो क्रेडिट सुविधाहरू अलि बढी प्रयोग गरिरहेका छन्,’ बैंक अफ अमेरिकाका सीईओ ब्रायन मोयनिहानले सीएनबीसीलाई भने, ‘हामी सबैले उस्तै अनिश्चितताको सामना गरिरहेका छौं तर अहिले अमेरिकी कम्पनी र उपभोक्ताहरूको अवस्था राम्रो छ र वास्तवमा भन्नुपर्दा हाम्रा विश्वव्यापी कम्पनीहरूले पनि राम्रो गरिरहेका छन् ।’
गत साताको अन्त्यमा तेहरानसँगको शान्ति वार्ता असफल भएपछि अमेरिकाले हर्मुज जलयोजकमा आफ्नै नाकाबन्दी गर्ने रिपोर्टहरूबाट वाल स्ट्रिट कत्ति पनि विचलित देखिएन । विश्वको २० प्रतिशत तेल र ग्यास उत्पादनहरू सामान्यतया यही जलयोजक भएर जाने गर्छन् ।
वाल स्ट्रिट जर्नलका अनुसार, नाकाबन्दी गर्न अमेरिकाले १५ वटा युद्धपोत र सम्भवतः हजारौँ अमेरिकी सैनिकहरूलाई जहाजहरूको आवागमन रोक्न पठाएको छ ।
विश्वव्यापी मानक मानिने ब्रेन्ट क्रुड तेलको मूल्य युद्धविराम घोषणा भएपछि १० प्रतिशतले घटेर प्रति ब्यारल करिब ९५ डलरमा कारोबार भइरहेको छ जुन अझै पनि द्वन्द्व सुरु हुनुअघिको तुलनामा ३५ प्रतिशत बढी हो ।








प्रतिक्रिया