
काठमाडौं । सिंहदरबार वैद्यखानाबाट उत्पादन हुने आयुर्वेदिक औषधिलाई विश्व स्वास्थ्य सङ्गठनको कुशल उत्पादन अभ्यास (जिएमपी) मापदण्डमा लैजाने तयारी गरिएको छ ।
समितिका कार्यकारी निर्देशक डा प्रदीप केसीले चाँडै वैद्यखानाबाट उत्पादन हुने औषधि जिएमपी मापदण्डमा उत्पादन गरिने बताए । उनका अनुसार यसै वर्ष शिलाजित, मिमियालगायत औषधिलाई जिएमपी मापदण्डअनुसार उत्पादन गरिनेछ । आगामी आर्थिक वर्षदेखि चुर्ण र ट्याब्लेटलाई जिएमपी मापदण्डमा उत्पादन गरिने उनको भनाइ छ ।
कार्यकारी निर्देशक केसीले आफू समितिको अध्यक्ष भएर आएदेखि औषधि उत्पादन बढेको बताए ।
उनकाअनुसार १०३ प्रकारका औषधि उत्पादन गरिरहेको बताए । “हामीले लक्ष्यभन्दा बढी औषधि उत्पादन गरिरहेका छौँ । चालु आवमा ८४ औषधि उत्पादन गर्ने लक्ष्य भए पनि हामीले १०३ प्रकारका औषधि उत्पादन गरिरहेका छौँ”, उनले भने, “सबैको सहयोगबाट वैद्यखानामा औषधि उत्पादन बढाइएको छ ।”
आव २०८१/८२ मा ७७ औषधि उत्पादन गर्ने भने तापनि ४० प्रकारका औषधि उत्पादन गरिएको थियो । यस्तै, आव २०८०/८१ मा १४ प्रकारका, आव २०७९/२०८० र आव २०७८/२०७९ मा १५ प्रकार, आव २०७७/०७८ मा २५ प्रकारका औषधि उत्पादन भइरहेको थियो ।
कार्यकारी निर्देशक केसीले विगत पाँच वर्षदेखि घाटामा रहेको वैद्यखानालाई औषधि उत्पादन बढाएर नाफामा पु-याइएको बताए । वैद्यखानाले चालु आवमा वार्षिक ५५ हजार किलो बराबरको कच्चापदार्थबाट औषधि उत्पादन गर्दै आइरहेको छ । वैद्यखानाले हालसम्म १०१ खरिद आदेशमा सम्झौता भएर ८५ काम सम्पन्न गरिसकेको छ ।










प्रतिक्रिया