
एजेन्सी । इजरायली र लेबननी दूतहरूले मंगलबार वाशिङटनमा अमेरिकी मध्यस्थतामा हुने वार्ताका लागि भेट गर्नेछन् ।
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इरान समर्थित हिजबुल्लाहसँग हप्तौंदेखि भइरहेको इजरायली लडाइँलाई शान्त पार्न खोजिरहेका छन् । यसले अमेरिका र इरानबीचको कमजोर युद्धविरामलाई भंग गर्ने खतरा उत्पन्न गरेको छ ।
दुवै पक्षमाथि लडाइँ अन्त्य गर्न ट्रम्पको दबाब रहेको छ । पाकिस्तानले मध्यस्थता गरिरहेको इरानसँगको समानान्तर वार्तामा इरानले यो लडाइँ अन्त्य गर्न माग गरेको छ ।
इरानमाथि अमेरिका र इजरायलको युद्ध सुरु भएको तीन दिनपछि मार्च २ मा हिजबुल्लाहले इजरायलमाथि मिसाइल प्रहार गरेको थियो । त्यसपछि इजरायलले लेबननमा हवाई आक्रमण तीव्र पारेको थियो । त्यसयता इजरायलले दक्षिण लेबननमा स्थलगत आक्रमण विस्तार गरेको छ र हिजबुल्लाहको बलियो पकड रहेका गाउँहरू छोड्न लाखौं लेबननीहरूलाई आदेश दिएको छ ।
लेबननी स्वास्थ्य मन्त्रालयका अनुसार, लेबननमा इजरायली आक्रमणबाट २५२ महिला र १६६ बालबालिकासहित २ हजार ८० भन्दा बढी मानिसको मृत्यु भएको छ । हिजबुल्लाहले आफ्ना लडाकुहरूको मृत्युको संख्या सार्वजनिक गरेको छैन । तर, रोयटर्सलाई प्राप्त जानकारी अनुसार मार्च २ यता ४०० भन्दा बढी लडाकु मारिएका छन् ।
हिजबुल्लाहको मिसाइल प्रहारले मुख्यतया इजरायलको उत्तरी सीमा नजिकका शहरहरूलाई लक्षित गरेको छ । तर, हाइफा र तेल अभिभ जस्ता ठूला शहरहरूलाई पनि निशाना बनाइएको छ जसले गर्दा क्षति पुग्नुका साथै इजरायलीहरू बम शेल्टरहरूमा शरण लिन बाध्य भएका छन् ।
इजरायलका अनुसार, मार्च २ यता दुई इजरायली नागरिक र १३ सैनिकको मृत्यु भएको छ ।
लेबननी विद्रोही समूह हिजबुल्लाहले अमेरिकामा हुने लेबनन–इजरायल प्रत्यक्ष वार्ताबाट निस्कन सक्ने कुनै पनि सम्झौता पालना नगर्ने बताएको छ । हिजबुल्लाहले यस वार्ताको कडा विरोध गर्दै आएको छ ।
हिजबुल्लाहको राजनीतिक परिषद्का वरिष्ठ सदस्य वफिक सफाले वाशिङटनमा लेबननी र इजरायली राजदूतहरूबीच हुन लागेको वार्ताको पूर्वसन्ध्यामा सोमबार यस्तो बताएका हुन् । कूटनीतिक सम्बन्ध नभएका लेबनन र इजरायलका दूतहरू दशकौंपछि पहिलोपटक प्रत्यक्ष वार्तामा आमनेसामने हुँदैछन् ।
‘लेबनन र इजरायली शत्रुबीचको यस वार्ताको परिणामको हकमा हामीलाई यसप्रति कुनै चासो वा सरोकार छैन,’ सफाले एसोसिएटेड प्रेसलाई भने ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई दिएको एक दुर्लभ अन्तर्वार्तामा उनले थपे, ‘उनीहरूले जे कुरामा सहमति गरे पनि हामी त्यो मान्नका लागि बाध्य छैनौं ।’
उनले एक चिहान नजिकै बसेर यो कुरा गरिरहँदा आकाशमा इजरायली ड्रोन उडिरहेको आवाज सुनिन्थ्यो ।








प्रतिक्रिया