विश्व व्यवस्था भताभुंग हुँदैछ, चीनका राष्ट्रपतिले किन यसो भने ?

1k
Shares

एजेन्सी । चीनका राष्ट्रपति सी चिनपिङले मंगलबार बेइजिङमा स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजसँगको भेटका क्रममा द्वन्द्वहरू तीव्र हुँदै जाँदा विश्वव्यापी प्रणाली कमजोर भइरहेको बताए । इरान युद्धले अन्तर्राष्ट्रिय स्थिरतामा थप दबाब परेको उनको भनाइ छ ।

बढ्दो भूराजनीतिक तनावलाई सम्बोधन गर्न चीन र स्पेनबीच थप निकट समन्वयका लागि आह्वान गर्दै सीले विश्व व्यवस्था भताभुंग हुँदैछ भने ।

चीन–स्पेन सम्बन्धले स्थिर रूपमा विकास गर्दै चीन–युरोपेली संघ सम्बन्धमा स्थिरता ल्याएको बताउँदै सीले दुवै पक्षले संवाद कायम राख्नुपर्ने, आपसी विश्वास सुदृढ गर्नुपर्ने र निकटताका साथ सहयोग गर्नुपर्ने बताए । दुवै देशले वास्तविक बहुपक्षीयताको रक्षा गर्नुपर्ने पनि उनले बताए ।

ग्रेट हल अफ द पिपलमा भएको यो भेटवार्ता सान्चेजको भ्रमणको दोस्रो दिन भएको हो । यो भ्रमण आर्थिक सम्बन्ध सुदृढ बनाउनमा केन्द्रित छ । दुवै देशले इरानविरुद्धको अमेरिकी–इजरायली सैन्य कारबाहीको आलोचना गर्दै शान्तिका लागि आह्वान गरिरहेको समयमा यो भेट भएको हो ।

इरान द्वन्द्वमा स्पेनले कडा अडान लिएको छ जसमा सान्चेजले यसअघि नै अमेरिकी–इजरायली कारबाहीलाई अवैध भनी वर्णन गरिसकेका छन् । स्पेनले द्वन्द्वमा संलग्न अमेरिकी युद्धक विमानहरूका लागि आफ्नो हवाई क्षेत्र बन्द गरेको छ र यस्ता सैन्य अपरेसनका लागि आफ्ना अड्डाहरू प्रयोग गर्न अनुमति दिएको छैन ।

साथै, स्पेनले इरानको प्रतिक्रियाको पनि आलोचना गर्दै क्षेत्रीय स्थिरतामा जोखिम रहेको चेतावनी दिएको छ ।

चीनले पनि इरानमाथिको आक्रमणको विरोध गरेको छ र यसले पश्चिम एसियामा अस्थिरता अझ गहिरिन सक्ने चेतावनी दिएको छ । चीनका विदेशमन्त्री वाङ यीले वर्तमान युद्धविराम कमजोर रहेको र यसलाई कायम राख्नुपर्ने भन्दै शान्ति वार्तालाई बढावा दिन प्रयास गर्न आग्रह गरेका छन् ।

तीन वर्षभन्दा केही बढी समयको अवधिमा सी र सान्चेजबीचको यो चौथो भेट हो । युरोपेली संघ र अमेरिकाबीचको सम्बन्ध तनावपूर्ण रहेको समयमा स्पेनले आफूलाई बेइजिङ र युरोपेली संघबीचको कडीका रूपमा स्थापित गर्न खोजिरहेको छ ।

भेटका क्रममा सान्चेजले विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न चीनसँग मिलेर काम गर्ने आफ्नो लक्ष्य रहेको बताए । दुवै देशले विभिन्न व्यापारिक तनाव, आजको विश्वका कठिनाइ र भूराजनीतिक जटिलता, युद्ध र विश्वलाई प्रभाव पार्ने वातावरणीय तथा सामाजिक चुनौतीहरूको समाधान खोज्न योगदान दिनुपर्ने उनको भनाइ छ ।

वार्ताअघि सान्चेजले द्वन्द्व समाधानमा चीनलाई ठूलो भूमिका खेल्न पनि आह्वान गरे । उनले भने, ‘चीनले अझ धेरै गर्न सक्छ । उदाहरणका लागि, उसले पहिलेदेखि नै गरिरहेझैं अन्तर्राष्ट्रिय कानुनको पालना गर्न माग गरेर र लेबनान, इरान, गाजा, वेस्ट बैंक र युक्रेनका द्वन्द्वहरू अन्त्य गर्न पहल गर्न सक्छ ।’

सान्चेजले चीनसँग थप बलियो आर्थिक संलग्नता खोजिरहेका छन् । तर, उनले व्यापारका विषयमा केही चिन्ताहरू पनि उठाएका छन् । आफ्नो भ्रमणका क्रममा उनले युरोपेली संघसितको चीनको व्यापार असन्तुलनलाई अस्थिर भनी वर्णन गरे ।

अमेरिकी भन्सार (ट्यारिफ) नीति र परराष्ट्र नीतिमा आएको परिवर्तनले परम्परागत सहयोगीहरूका बीचमा अनिश्चितता पैदा गरेको र इरान युद्धले अन्तर्राष्ट्रिय सम्बन्धको परीक्षण गरिरहेको समयमा पछिल्ला महिनाहरूमा पश्चिमा नेताहरूको बेइजिङ भ्रमणको लहर चलिरहेकै बेला यो भ्रमण भएको हो ।