इरान र अमेरिका अर्को चरणको वार्ताका लागि बस्लान् ?

91
Shares

एजेन्सी । वाशिङटन र तेहरानबीचको युद्धविराम समाप्त हुनुअघि अमेरिकी अधिकारीहरू इरानी अधिकारीहरूसँग अर्को प्रत्यक्ष बैठक गर्ने सम्भावनाबारे छलफल गरिरहेका छन् । तर, यसको अन्तिम निर्णय भइनसकेको सीएनएनले रिपोर्ट गरेको छ ।

अधिकारीहरूले आगामी दिनहरूमा इरान र क्षेत्रीय मध्यस्थकर्ताहरूसँग भइरहेको वार्ताको प्रगतिलाई ध्यानमा राख्दै सम्भावित मिति र स्थानहरूको समीक्षा गरिरहेका छन् ।

एक स्रोतले यी छलफलहरूलाई प्रारम्भिक चरणको रूपमा वर्णन गरेको छ ।

‘कुराहरू सकारात्मक दिशामा अघि बढेमा हामीले छिट्टै बैठकको व्यवस्था गर्न तयार हुनुपर्छ,’ सीएनएनले उद्धृत गरेको स्रोतले बताएको छ ।

अप्रिल ११ मा इस्लामाबादमा भएको म्याराथन बैठक अमेरिकी वरिष्ठ अधिकारीहरू र पाकिस्तान, टर्की, इजिप्ट, ओमान र अन्य देशका मध्यस्थकर्ताहरू संलग्न हप्तौं लामो वार्ताको निष्कर्ष थियो ।

एक क्षेत्रीय स्रोतले सीएनएनलाई बताएअनुसार, अर्को चरणको वार्ता अझै सम्भव छ जसमा टर्कीले दुवै पक्षबीचको मतभेद हटाउन काम गरिरहेको बताइएको छ ।

वार्ताका लागि इस्लामाबाद तय हुनुअघि जेनेभा, भियना र इस्तानबुलसहित धेरै स्थानहरू विचाराधीन थिए ।

अहिले अर्को चरणको वार्ताका लागि फेरि जेनेभा र इस्लामाबादलाई सम्भावित स्थलका रूपमा छलफल गरिएको सीएनएनको रिपोर्टमा एक स्रोतले भनेको छ ।

वार्तासँग परिचित व्यक्तिहरूले अमेरिकी प्रशासन अझै पनि कूटनीतिक सफलता प्राप्त गर्न सकिन्छ भन्नेमा सतर्कतापूर्वक आशावादी रहेको संकेत गरेका छन् । प्रगतिको आधारमा वार्ताका लागि थप समय दिन दुवै पक्षले युद्धविरामको समयसीमा बढाउन विचार गर्न सक्छन् ।

यसैबीच एक अमेरिकी अधिकारीले वाशिङटन र तेहरानबीच छलफल जारी रहेको पुष्टि गरेका छन् ।

‘अमेरिका र इरानबीच निरन्तर संवाद भइरहेको छ र सम्झौताका लागि प्रयासहरू अगाडि बढिरहेका छन्,’ सीएनएनले उद्धृत गरेका ती अधिकारीले भनेका छन् ।

छुट्टै रूपमा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले सोमबार सबेरै इरानले आफ्नो प्रशासनसँग सम्पर्क गरेको बताउँदै तेहरान ‘कुनै पनि हालतमा सम्झौता गर्न चाहन्छ’ भनी दाबी गरेका छन् ।