भृकुटीमण्डप भाडाकाण्ड

ऋषि धमलादेखि खाजा पसलसम्मले वर्षौंदेखि तिरेनन् भाडा, पौने ८ करोड उठाउने सरकारको तयारी

एमाले अखिलको कब्जा, कसले कति तिर्न बाँकी ?

357
Shares

काठमाडौं । समाज कल्याण परिषद्को स्वामित्वमा रहेको भृकुटीमण्डप परिसरमा स्टल, बुथ र भवन कब्जा गरेर भाडा नतिर्नेमाथि सरकारले कारबाहीको तयारी गरेको छ ।

समाज कल्याण परिषद्की अध्यक्षसमेत रहेकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीले भृकुटीमण्डपमा विभिन्न संघ संस्था र व्यक्तिहरूले प्रयोग गरिएको स्थानको भाडा नबुझाइएको विषयमा चासो लिएकी हुन् ।

विभिन्न २० संघसंस्थाले प्रयोग गरिरहेको स्थानको भाडा नबुझाउँदा कुल ७ करोड ७९ लाख ८१ हजार ३४ रुपैयाँ बक्यौता पुगेको छ।

नाम चलेका सामाजिक संस्था र रिपोर्टर्स क्लब नै ‘डिफल्टर’ सूचीको अग्रपंक्तिमा देखिएका छन् भने नेकपा एमाले निकट विद्यार्थी संगठनले लामो समयदेखि स्टल कब्जा गरेर भाडासमेत नतिरेको पाइएको छ ।

सबैभन्दा धेरै भाडा काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाजले नतिरेको पाइएको छ । यस संस्थाको दुईवटा स्टलको गरी कुल २ करोड ९० लाख ८३ हजार ३०६ रुपैयाँ बक्यौता छ । परिषद्का अनुसार स्टल नं. ६८ को बक्यौता १ करोड ७६ लाख ७० हजार २८१ रुपैयाँ र स्टल नं. ३४ को १ करोड १३ लाख ५३ हजार २५ रुपैयाँ रहेको छ ।

विभिन्न मितिमा पटक–पटक पत्राचार र सार्वजनिक सूचना प्रकाशन गर्दा पनि रकम प्राप्त नभएको परिषद्ले जनाएको छ।

त्यसैगरी दोस्रो नम्बरमा राष्ट्रिय अपाङ्ग महासंघ रहेको छ, जसले १ करोड १६ लाख ३२ हजार २७ रुपैयाँ भाडा तिरेको छैन। पाँच पटक सार्वजनिक सूचना प्रकाशन गरी पटक–पटक पत्राचार गरिए पनि महासंघले भाडा वापतको रकम नतिरेको हो ।

त्यस्तै, बालबालिकाका निम्ति गैरसरकारी संस्थाहरूको महासंघ नेपालले पनि ८९ लाख ९० हजार ७४६ रुपैयाँ भाडा तिर्न बाँकी रहेको छ ।

त्यस्तै ऋषि धमला अध्यक्ष रहेको रिपोर्टर्स क्लबले पनि भाडा नतिरेको पाइएको छ। परिषद्ले विभिन्न मितिमा पटक–पटक पत्राचार गरेको र दुई पटक सार्वजनिक सूचना जारी गरेको भए पनि क्लबले ७३ लाख ४० हजार ९०१ रुपैयाँ तिरेको छैन।

त्यस्तै, सेन्थेसिस एक्जिविसन एन्ड इभेन्ट्स नामक कम्पनीले पनि भाडा तिरेको छैन ।

स्टल नं. १२ मा जस्ता पसल सञ्चालन गर्दै आएकी मनकला श्रेष्ठले ७ लाख ४६ हजार २३ रुपैयाँ, स्टल नं. १३ मा जुत्ता पसल सञ्चालन गर्ने टिकाराम सिटौलाले ११ लाख ८० हजार ६२५ रुपैयाँ, र स्टल नं. १४ मा जुत्ता पसल सञ्चालन गर्ने कृष्णप्रसाद लामिछानेले ८ लाख ९८ हजार १६३ रुपैयाँ भाडा तिरेका छैनन् ।

त्यस्तै खाजा पसल सञ्चालन गर्दै आएकाहरूले पनि भाडा तिरेका छैनन् । यशोदा कुमारी सेठीले १० लाख ५९ हजार १५६ रुपैयाँ, हरि अमात्यले ५ लाख १५ हजार ६६४ रुपैयाँ, नारायणकुमारी निरौलाले २ लाख ७३ हजार रुपैयाँ, बुद्धिराम भुसालले ६ लाख ८६ हजार रुपैयाँ, मञ्जु तिमिल्सिनाले ८ लाख ७ हजार रुपैयाँ, चित्रबहादुर पण्डित क्षेत्रीले २ लाख १९ हजार रुपैयाँ तिर्न बाँकी छ।

नेपाल फोटो पत्रकार महासंघले २० लाख ६८ हजार ६७२ रुपैयाँ, नेपाल राष्ट्रिय मानव अधिकार संरक्षण मञ्चले २१ लाख ८५ हजार रुपैयाँ पनि पटक–पटक पत्राचार र सार्वजनिक सूचना जारी गर्दासमेत भाडा तिरेका छैनन् ।

त्यस्तै उपभोक्ता मञ्च नेपाल नामक सामाजिक संस्थाले ४५ लाख ५७ हजार रुपैयाँ भाडा तिर्न बाँकी छ। उक्त संस्थाले स्टल नं. १ परिषद्को स्वीकृति बिना अर्कै व्यक्तिलाई खाजा पसल सञ्चालन गर्न दिएको थियो। भाडा लिएको खाजा पसलले भने नियमित भाडा बुझाइरहेको छ ।

त्यस्तै नेपाल पत्रकार महासंघले ३३ लाख ७ हजार रुपैयाँ भाडा तिरेको छैन ।

एमाले विद्यार्थी संगठनको कब्जा

भृकुटीमण्डपमा राजनीतिक दल निकट विद्यार्थी संगठनले समेत कब्जा जमाएको छ। एमाले निकट अनेरास्ववियुले २०७७ चैतमा जबरजस्ती स्टल कब्जा गरेको थियो। परिषद्ले लगाएको ताला फोडी स्टल कब्जा गरेको उक्त संगठनले २०७७ वैशाखदेखि हालसम्मको भाडा बुझाएको छैन ।

परिषद्ले २०६९ सालदेखि नै पटक–पटक पत्राचार, सार्वजनिक सूचना प्रकाशन र असुली समिति गठन गरे पनि यी संस्थाहरूले भाडा तिर्न अटेरी गर्दै आएका छन्। कतिपयले सम्झौताविना र कतिपयले वर्षौँ पुरानो सम्झौतामा रहेर परिसर ओगटेका छन्।

२१४ रोपनीमा फैलिएको भृकुटीमण्डपलाई व्यवस्थित बनाउन परिषद्ले नयाँ गुरुयोजना तयार पारिरहेको छ। राजनीतिक आडमा भएका अतिक्रमण र बक्यौतालाई कडाइका साथ सम्बोधन गरी यस क्षेत्रलाई व्यवस्थित गर्ने मन्त्रीको तयारी छ।

तोकिएको भाडा नतिर्नेको स्टल बन्द गर्ने तयारी सरकारले गरेको छ ।

कसले कति तिरेनन् भाडा ?